ऊ जोत्दै जान्छे, हलोको प्रत्येक सिया सियामा उस्का आँशु खस्दै जान्छन्…


महेश नेपाली ।
रातभरी जिउ दुख्यो । अ‍ैठन परिरह्यो । आक्कल(झुक्कल निद्रा लागेकै हो । उस्तो निद्रा परेन । कतिवेला आँखा झिमिक्क हुने । निदाए जस्तो हुने । अनि शरिर दुखेर बिउझने भैरहयो । झिसमिसे उज्यालो हुनै आँटेको हुँदो हो । ठिक त्यति नै वेला ऊ निदाई । ऊ अर्थात साँइली ।

साँइली बिहान अवेर निद्राबाट बिउझी । उस्को निद्रा पुरै हराइसकेको थियो । ओछ्यान छोड्न भने जाँगर चलेको थिएन । जिऊ दुखिरहेको थियो । यता उता पल्टिन खोज्छ शरिर दुख्छ । जहाँ छोइयो त्यहि दुख्छ । जहाँ दबाब पर्यो त्यहि झन् बडि दुख्छ । खुट्टा खुम्च्याउन खोज्छ घुँडा दुख्छन् । यस्सो हात तान्छ, नशा झट्कारिए जस्तो हुन्छ । शरिर तन्काउन खोज्छ झन् बढि सकस हुन्छ । हिजो कामको चाप बढि भयो । सकाउनु पर्ने हतारो थियो । किनभने गोरु आफ्ना थिएनन् । हलो(जुवा आफ्नै थिएनन् । दुई खेतमा गहुँ छरेर तेस्रोको तयारी गर्दै(गर्दा ऊ थाकेर लखतरान परिसकेकी थिई । अझै दुई खेत बाँकी नै थिए । बिहान सबेरैबाट साँझ अबेरसम्म जोतेपछि जसोतसो सकियो गहुँ छरेर ।

राति खाना खाने वित्तिकै पल्टिएकी हो । बिहान अबेर बिउझदापनि शरिर दुखिरहँदा उठ्ने जाँगर चलेन । त्यसैले उठ्न नसकेकी हो । अलि शरिरलाई सजिलो पारेर फेरी पल्टिन्छे । सोच्छे, यति गाह्रो हुनेगरी काम भएछ हिजो । यति सारो काम गर्न नहुने थियो । नगरौं भने पनि नहुने । बल्ल(तल्ल जुटाएको गोरु कामको वेला फेरी गाउँलेले आफ्नो बाली लगाउन छोडेर हामीलाई गोरु नदिने । आ ! जे भयो भै त हाल्यो नि । आखिर काम सकिगो केरे ।

बरु एकछिन निदाउन पाए हुन्थ्यो । यो सोचेर ऊ आफ्नो शरिर फेरी व्यवस्थित पार्न लाग्छे । ओडिरहेको ब्लांकेट मिलाउछे । निद्रा लागिदिए अलि आराम पो हुन्थ्यो कि ? यस्तै सोच्दै मुख छोप्छे । आखाँ चिम्लन्छे । एकछिन केहि नसोचेर निदाउन खोज्छे । शरिर स्थिर बनाउछे । तरपनि निन्द्रा लाग्दैन । निदाउन खुब प्रयास गर्दा पनि निद्रा लाग्दैन । फेरी निदाउन सकिएला र थोरै भएपनि आराम होला भन्ने आश मानेकि साँइलीको आशा एक निमेसमै फुटिजाने पानीको फोका जस्तै हुन्छ ।

उठेर घर बाहिर आउने जाँगर चलेको हुन्न । त्यसैले ओछ्यान मै पल्टिरहेकी हुन्छे । त्यसैवेला उस्को दिमागमा चल्न थाल्छ सम्झनाको पुरानो रिल । सम्झन्छ आफ्नो विगत । घरपरिवार, दिदि बहिनि, आमा, बाबु । बढ्ता बाबुलाई नै सम्झिन्छे । बाबुको व्यवहार सम्झिन्छे । आफ्नो बाध्यता सम्झिन्छे । आमाको मुहार सम्झिन्छे ।

एकदिन साँइली प्लस टु पढेर घर फर्किदै गर्दा उस्की आमा पिडीमा बसेर रोइरहेकी हुन्छिन् । यो देखेर उ हतार(हतार घर आउछे र आमालाई सोध्छे के भयो ? किन रोइरहनु भाछ ? आमा केही बोल्दिनन् । ऊ फेरी सोध्छे झन् बढि रुन्छिन् । बोल्नुस् न के भयो ? रुन छोड्दिनन् । के भयो होला आमालाई यस्सो सोच्छे, दोधारमा पर्छ । पिडी नजिक रहेको पर्खालतिर टाउको घोप्टो पारेर रोइरहेकी हुनाले उस्ले शंका गर्छे कतै पेट पो दुख्यो कि ? उस्ले आमालाई समाएर आफूतिर फर्काउदा आमा उस्लाई अंगालो हाल्दै भक्कानिएर रुन्छिन । बर्बर आँखाबाट आँसु झार्छिन । उसले सम्झाउदै भन्छे( “भयो रुन छोड्नुस, भन्नुस न बरु के भयो ? अब म आइहाले त ।” “एक्लै भएं सोच्नुभयो र ? एकछिन् त हो नी, अरु वेला त हामी छँदैछौं नि ।” जाबो यत्ति कुरामा पनि रुने हो त ?

घरमा कोहि नभएको वेला एक्लो महसुस गरी दुइतिन पल्ट आफ्नि आमालाई रोएको देखेकिछ उस्ले । ऊ जान्ने भएदेखि आफ्नि आमालाई खुलेर हाँसेको खास देखेकि छैन । उनि सँधै मलिन देखिन्छिन् । हेर्दै गहिरो शोकमा परेजस्ति । गोरी छन्, झट्ट हेर्दा अनुहार उज्यालो पनि देखिन्छ तर चमक कत्ति देखिन्न । बोल्दा स्वर पनि धर्मराएजस्तो हुन्छ । आवाज मलिन निस्कन्छ । यी सबै कुराले पनि साँइलीले यस्तो सोचेकी हो । तर कुरो त अर्कै रहेछ । आमा विस्तारै बोल्न थालेपछि पो थाहा भयो त ।

दिउसो बाबु यसो घुम्न निस्केका रहेछन् । घर आएछन् । खास आवत(जावत थिएन । धेरैपछि आएका रहेछन् । साँइलीकी आमासँग पानी मागेर खाएछन् । एकछिन बसेछन् । ’छेरीहरु कहाँ छन्’ भनि सोधेछन् । उनलाई लोग्नेसँग उति बोल्न मन लागेनछ । सोधेको प्रश्नको जवाफ मात्र दिइछन् । पछि लोग्ने जान लागेको वेलामा भनिछन् “छेरीहरु ठूली भैसकेकी छन् । पढाउन पैसा चाहिन्छ । अलिकति भएको खान(लाउनमै ठिक्क हुन्छ । म त सक्दिन अब । म के एक्लै गरिसकु ? केही जग्गा मलाई पनि कमाई खान देऊ, अलिकति भएपनि सुविस्ता हुन्छ की ।” यति सुन्ने वित्तिकै उनि रिसले आगो भएछन् । बाघ गर्जेझैं गर्जिन लागेछन् । भनेछन् जे सुकै गर न मलाई के सुनाउछेस् ? छोरी तैंले जन्माएको हो केरे । खान(लाउन धौ भए के खान छोरीहरु पढाएकी छस् ? काम गर्न लगा न त । नसुनाएस मलाई यस्ता कुरा । बेस्सरी हप्काएर गएछन् । सुँकुसुँक गर्दै आँशु पुछ्दै, आफ्ना कुरा सकिन् । यहि भएर आमा रोएकी रहिछन् । साँइली रिसले चुर भई ।

दिदिबहिनीहरु सबै घर आइसकेका थिए । सहन नसकेर उनिहरुले बाबुसँग झगडा गरे । उनिहरु सबैले अंश चाहियो भने । कि हामीलाई पढाउनुपर्छ नभए हाम्रो भागको जग्गा हाम्रो नाममा गरिदिनुस । उनिहरु मतलव साँइलीका दिदिबहिनिहरु । बाबुले मरेकाटे दिन्न । जाऊ उजुर गर, अड्डा गराऊ । तिमीहरु कुर्लंदैमा केहि लछारपाटो लाग्दैन । उनि आवेशमा थिए । के बोलें भन्ने कुरा थाहा नै पाइरहेका थिएनन् । तिमीहरुको यो फतफतिले मेरा रौं हल्लिन्नन् । बड्ता हुन्छेउ राँडिहरु । बाबुसँग कान्छि आमा पनि थिइन् । उनले पनि सकेजति गाली गरिरहेकी थिइन् । साँइलीकी आमा अलि सोझि थिइन उस्तैगरी गाली फर्काउन सक्दिन थिइन् । बाबुले छोरीहरुसँग जिते । कान्छि आमाले आमासँग गालीमा जितिन् । एकछिन बढिको बोलाबोलपछि झगडा सकियो ।

साँइलीका दिदिबहिनिहरु सबै रिसले मुर्मुरीएका थिए । सबैले आवेश पोखिरहेका थिए । त्यतिवेला उनिहरुले बाबुलाई बाबु मानिरहेका थिएनन् । कान्छि आमासँग कुनै साइनो छ भन्ने नै बिर्सीएका थिए । केवल रिस पोखिरहेका थिए । सम्यमता कत्ति थिएन । मुखमा जे आयो त्यहि शब्द पोखिन्थ्यो । अनि त्यहि गाली बनेर बाहिर फ्याकिन्थ्यो । हामीलाई राँडि भन्ने । राँडि त त्यसकि जोइ होली । इज्जत, लाज केहि नभएको । यस्ता पनि बाबु हुँदा हुन् । बाबु होइन, त्यो शत्रु हो शत्रु । यस्तै(यस्तै,,,,,,,,,,।

उनिहरु आफू(आफूमा पनि केही बोलिरहेका थिएनन् । खाना बनाउने वेला हुन्जेल सम्म पनि खाना बनाउने सुरसार गरेनन् । मुड अफ भयो । सबै उराठलाग्दा अनुहार लगाएर बसेका थिए । त्यहि वेला साँइली आमा आफ्ना बारेमा बोलिन । लोग्नेका बारेमा बोलिन् । “सानैमा बिहे भएको हो । धेरै थाहा पाउने भैसकेकी थिइन । बाबु आमाले बिहे गराइदिए । त्यतिवेला बाबु आमाको इच्छा नै सर्वथोग ठानिन्थ्यो । बिहेको निर्णय गर्दा म केही बोलिन । भनौ न मौन स्वीकृति नै भयो । बिहे गरेर यहाँ आँउदा घरको खुब याद आँउथ्यो । बा, आमा सम्झिन्थें । दाजु भाउजु सम्झिन्थें । दिदिहरुको माया लाग्थ्यो । गाउँका साथि संगि सबैको याद खुब आउथ्यो । एकमनले सोच्थ्यो यहाँ नबसौं । भागेर आफ्ना घर गैजाऊ । घरबाट बिदा गर्ने वेला आमाले माइतिको इज्जत राखेस, भनेको मान्नु, गरेको खानु भनेकी थिइन । त्यसैले भागि जान सकिन । काम पनि सिकेकी थिइन । विस्तारै शासुसँग काममा सँगै जाँदा सिकें । शासु ससुरा राम्रै थिए । पछि आफ्नै कालले वितेका हुन । तिमीहरुको बाबुसँग खुलेर कुरा गर्न सकिदैन थियो । घरकाले लोग्ने भनेको भगवान हुन्छ भनेका थिए । त्यसैले पनि झन् बढि डर लाग्थ्यो । सोझो आँखाले हेर्न सकिदैन थियो । पछि(पछि उस्ले नै कुरा गर्न थालेपछि खुलेर कुरा गर्ने भएं । डर हराउदै गयो । माया बड्न थाल्यो । नजिक हुन मन लाग्थ्यो । कँहि काममा गएको वेलापनि उसैकै याद आउन थाल्यो । विस्तारै मायाँ झन बड्यो । मेरो महिनावरी रोकियो । त्यसको दुई महिनापछि घरकाले थाहा पाए । सबै खुसि भए । नौ महिना लाग्दै गर्दा म सुत्केरी भएँ । ठूली जन्मि । त्यसवेला अहिलेको जस्तो घरमै बसाउदैन थिए । नचोखिउन्जेल म र ठूली गोठमै बस्यौं । सबैको चाहाना थियो छोरो भैदिएको भए भन्ने । छोरी भएपनि केहि छैन । पछि छोरो भैहाल्ला नि । त्यसको एक वर्षमै म फेरी दुई जिउकी भएं । माहिली जन्मि । साँइली तिर संकेत गर्दै भनिन् त्यसपछि तँ जन्मिएकी होस । तँ जन्मिदा छोरा हुन्छ कि भन्ने खुब आशा थियो, भएन । आश मरेको थिएन । छोराको आशले गर्दा नै तिमीहरु सबै जन्मेकी हौ । जन्माउन हतार परेको हो । त्यसैले तिमीहरुको उमेरमा खासै अन्तर छैन ।”

साँइलीका छ वटी दिदीबहिनीहरु छन् । “त्यसपछि उस्ले आश मारिसकेको थियो । अब मबाट छोरा जन्मिदैन भनेर ।” रिसैले हुनुपर्छ कुसुमकि आमाले आफ्नो लोग्नेलाई खास राम्रो सम्बोधन गरेकी थिइनन् । बोल्दै जान्छिन् । “कान्छि जन्मेपछि मसँग कुरा गर्न पनि छोड्यो । सुत्केरी हुँदापनि वास्ता भएन । दुई जीउकी हुँदा भने मायाँ गरेजस्तो गथ्र्यो । सायद छोरो जन्मिन्छ की भन्ने आश हुँदो हो । पछि रक्सि खान थाल्यो । निउ खोज्न थाल्यो । झगडा गर्न लाग्यो । भन्ने(नभन्ने भन्थ्यो । त्यतिवेला मेरो मुटुमा वाँण रोपिए झैं हुन्थ्यो । तिमीहरु आफै सोच त्यसवेला मेरो मन कस्तो हुन्थ्यो होला ? कति रात म आँसु बगाएर सुतें । कति रात त आँसु पिएर सुते । छरछ छोरीहरु जन्मिदा नभएको पिडा मैले त्यतिवेला सहनुपर्यो । प्रसव पिडा बरु बिर्सिसकेकी भुलिसकेकी थिएं । तर त्यस्ले दिएको दुःख भुलिन । जीन्दगीका सारा दुःख एक ठाउँ र यो एकातिर राख्दा पनि यहि बढि हुन्छ । कहिले नविर्सने विन लगाएको छ मलाई ।”

लामो स्वास तान्छिन् र फेरी बोल्छिन् “छोरीमात्र जन्माइ भनेर खेपेका पिडाहरुको कुनै लेखाजोखा नै भएन । यस्तो भैसकेको थियो पछि जस्तोसुकै विन, वचन र अपशब्द सबै सामान्य झैं लाग्थ्यो । पिडा त त्यतिवेला भयो जतिवेला छोरा नजन्माएको आरोपमा म माथि सौता हालियो । अर्कि ल्याएर बस्यो । ’अर्कि त्यतिकै ल्याएको होइन ।’ ठाउँठाउँमा हाम्रोबारे कुरा चल्थ्यो । छोरा नभएको भन्थे । छोरा नभएपछि मरे बाटो पाइदैन भन्थे । किरिया बस्ने छोरो चाहिन्छ, भन्थे । चारधाम घुमाउने, तिर्थ लगेर अस्तु सेलाउने र वैतरणि नदि तराउन त छोरो हुनुपर्छ । छोरो नभए अरुले दिएको पिण्ड चल्दैन । गाउँलेहरु कुरा लगाएर थाकेनन् छोरीहरु त के हुन र ? अरुको घर जाने जात त भैहालयो नि । जन्मायो, पाल्यो, हुर्कायो, बढायो अर्काको घर जान्छन् । छोरो नभई हुँदैन । बरु अर्कि ल्याउनु पर्छ । उक्साउथे, छोरा हुनैपर्छ । अहिलेकि यसबाट छोरो जन्मिदैन । अब अर्कि ल्याउनु पर्छ । छोरो जन्माउनै पर्छ । ऊ झन् बढि रक्सि खान्थ्यो । साँझ राता रिसालु आँखा लगाएर आँउथ्यो । गालि गथ्र्यो, तथानाम भन्थ्यो । मलाई पिडा दिने एक मेरो लोग्नेमात्र होइन । म माथि सौता हाल्ने मेरो लोग्नेको एकल प्रयासमात्र पनि होइन । यो समाज हो । यहि समाजका मान्छेहरु हुन । अझ बढि पुरुष प्रदान समाज हो, सोंच हो, मानसिकता हो ।”

सबैखाले दिन काटियो । आज तिमीहरु छौ । तिमीहरुकै आशमा दिन कटाइरहेकी छु । मान्छेको जीन्दगी हो जसो तसो दिन त कटिजाँदा रहेछन् । बुढापाकाले भन्थे ‘मान्छेको चोला हो दुःख, सुख सबै भोगिन्छ ।’ तर खोई मेरो भागमा सुख कहिले परेन त ???”

उनि गहिरो निन्द्राबाट बिउझि झैं हाँई निकाल्छिन् ।

दिनहरु बित्दै गए । साँइलीका दिदि बहिनीहरु हुर्के । जेठि दिदिको बिहे भयो । पछि माहिलीको पनि बिहे भयो । बिहे गर्दा बाबु पनि आए । तर बाबुसँगको सम्बन्ध गतिलो थिएन । घोचपेच भैरहन्थ्यो । बाबुसँग भन्दापनि कान्छि आमासँगको झगडा बडि खतरनाक हुन्थ्यो । कहिलेकाँहि बाबु नभएको वेला कान्छि आमासँग भनाभन भएमा त्यो झगडा त्यसै सकिदैन थियो । कान्छि आमाले तथानाम कुरा लगाउथिन पछि बाबुले बेस्सरी भन्थे, भन्नु भन्थे ।

बाबुबाट उनिहरुले अंश पाएका थिएनन् । त्यसैका लागि कति पटक झगडा भैसकेको थियो । सके आफ्नो नाममा गर्ने नसके आफ्नो भाग आफैले कमाएर खाने भन्ने हो । प्रयास सफल भएको थिएन । त्यसैले वेलावेलामा बाबुसँग ठासठूस परिरहन्थ्यो । लामो समयको संघर्ष पछि बाबुले जग्गा उनिहरुको नाममा त गरिदिएनन् तर राम्रो(राम्रो जग्गा आफूले जोतिसकेपछि केहि जग्गा उनिहरुलाई छोडिदिए । उनिहरु पूर्ण रुपमा सफल नभएपनि आंशिक रुपमा प्राप्त उपलव्धि प्रति खास असन्तुष्ट पनि थिएनन् । मरेकाटे जग्गा दिन्न भन्ने बाबुलाई भने घुँडा टेकाएरै छोडेका थिए । यस मानेमा उनिहरु सफल भए । जे होस एक खालको संघर्षमा उनिहरुको जित भयो भन्दापनि हुन्छ । त्यो जग्गा छोड्नेवेला उनले यसो भने र अन्तिम रिस पोखे “जग्गा त पायौ । हेरौंला म पनि कसरी कमाई खादा रहेछौं ?” उनले यसरी बोल्नुको अभिप्राय एउटै थियो । जोतिदीन्छ कस्ले ? गोरु कस्का चलाउदा रहेछन् ? उनले अर्को कुरा पनि थपे “यो जग्गामा कस्ले पाइलो टेक्दो रहेछ त्यो पनि हेरौंला ? खुट्टा काटिदिन्छु ।”

यो सब उनले गाँउलेलाई सुन्नेगरी भनेका थिए । नसुनेकाले सुनेकाहरु मार्फत चलेको हल्लाबाट थाहा पाए । उनीहरुले आफूले खनजोत गर्ने र त्यसबाट प्राप्त हुने बाली आफ्नो हुनेगरी मात्र जग्गा पाएका थिए । उनिहरुको नाममा भैसकेको थिएन । तैपनि छाक टर्ने थियो । गुजारा चल्ने थियो । आशा पलाएको थियो । मन फुलेको थियो । भित्रि हर्शले सगरमाथा चुमेको थियो । तर त्यसबाट अन्न उत्पादनको लागि त जोत्नुपर्छ । हलो(जुवा चाहिन्छ । गोरु चाहिन्छ । जोत्ने मान्छे लोग्ने हुनुपर्छ । यो सब कुसुमको शत प्रतिशत महिला परिवारले काहाँबाट जुटाउने ?

हिक्मत बटुलेर जग्गा कमाइ खाने तयारी गर्छन् । काम गरिदिने शर्तमा गोरु खोज्छन् (पैंचोमा) । हलोजुवा मिलाउछन् । तर जोतिदिने पुरुष पाउदैनन् । जोत्नलाई कोही पुरुष तयार भइदिदैनन् । साँइलीका बाबुको धम्किबाट डराए सबै । उनका अगाडी कसैको सिप चलेन, उनको नाममा भएको जग्गामा पाइलो टेक्न । निकै आग्रह गर्दा, अनुरोध गर्दा, रोई कराई गर्दा, हात जोड्दा पनि कोहि आँटिलो हिक्मतवाला पुरुष भेटिएन । सबै डराए, सबका सब डरपोख देखिए, काएर भेटिए ।

साँइलीलाई कायरहरुसँगको रोइ(कराइ, अनुनय विनय, हात जोडाई सब बेकार लाग्न थालिसकेको थियो । ऊ पल(पल कठोर बन्दै गैरहेकी हुन्छ । उस्को मनमा आक्रोसको ज्वाला दन्किरहेको हुन्छ । कायर पुरुषहरुका लागि उस्को हृदयमा घृणा बाहेक केही बाँकी रहँदैन । त्यसकारण उस्ले निर्णय गरी । एउटा काठोर निर्णय । समाजको विपरित निर्णय । ऊ बगिरहेको नदिको धारलाई छिचोल्दै उल्टो वहन थाली । पुरुषप्रधान समाजलाई चुनौति दिदै । मनमनै निष्कर्ष निकाली अब म जोत्छु, हलो र प्रश्न गरी के हलो जोत्ने काम पुरुषहरुको वृर्ता हो ?

उस्ले हलोजुवा काँधमा राखि । गोरु अगाडि लागाई । बहिनीहरुले बिउ बोके । खेतमा पुगी र सुरु गरी हलो जोत्न । त्यहि दिनबाट उस्ले हलो जोत्न सुरु गरी । पहिलो पटक हलो जोत्दै गर्दा उस्का आँखाबाट आँसु खस्छन् । ती आँसु हर्षका थिए या दुःखका उस्लाई थाहा भएन । केवल आँसु बगिरहयो । ऊ जोत्दै जान्छे, हलोको प्रत्येक सिया(सियामा उस्का आँसु खस्छन् । उस्तो लाग्थ्यो पुरै भूमी साँइलीको आँसुले सिंचित भैरहेको छ । त्यसदिन साँइलीकी आमाले पनि बगाइन्( आँशुका बलिन्द्र धारा ।

पछि ऊ अलि फरक स्वभावकि भई । पहिला भन्दा आफू अझ बडि सक्रिय भई । ऊ हरेक कुरामा पुरुष र महिला भनेर भेद छुट्याउनेहरुको विरोध गर्थि । हरेक ठाउँमा आलोचनात्मक ढंगबाट प्रस्तुत हुन्थि । कारण खोज्थि, प्रमाण माग्थि । उस्ले आफू महिनावरी हुँदा गोठमा बस्न छोडी र आफ्ना बहिनीहरुलाई पनि गोठमा बस्न छुटाई दिई । उस्को समाजसँग सबैभन्दा ठूलो प्रश्न थियो ’के छोरा वा छोरी हुनुमा महिलाहरुमात्र दोषि हुन्छन् ?’ यसैबिच गाउँकी हजुरआमा वित्दा ऊ मलाम गई । पुरुषहरु सरहको काममा सहभागिता जनाई । यसरी बदलिएकी हो ऊ । त्यसपछि फेरीएको हो साँइलीको दैनिकी ।

साँइली ? ए…. साँइली ?? उठेकी छैनस ??? उठ अबेर भो । ढोकामा ढकढकसँगै उस्कि आमाको आवाज आँउछ ।

मितिः २०७३ मंसिर ३ ।

तपाईको प्रतिक्रिया