भारतबाट तस्करीको लाइन मिलाउन प्रहरीलाई घुस दिन खोज्दा


धरान । भारतसँग सिमाना जोडिएका सुनसरीका बिभिन्न नाकाबाट कपडा तस्करी गरी नेपाल भित्राउन सहयोग गर्नु भन्दै प्रहरीलाई घुस दिने एक भारतीय नागरिकविरुद्ध सार्वजानिक मुद्दा दर्ता गरिएको छ ।

आइतवार सुनसरीका निमित्त प्रहरी प्रमुख नारायणप्रसाद चिमौरियालाई २५ हजार घुस दिने भारतको अररियास्थित बसमतियाका ४९ वर्षीय विद्यानन्द साहविरुद्ध प्रहरीले सार्वजानिक मुद्दा दर्ता गरेको छ ।

पक्राउ परेका साहले कपडा तस्करीको लाइन मिलाइदिन भन्दै डिएसपी चिमोरियालाई २५ हजार नगद दिएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका साहलाई सोमबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय परिसरमा सार्वजानिक गरेको छ । प्रहरीलाई आर्थिक प्रलोभनमा पारी शान्ति सुरक्षा र तस्करीलाई प्रोत्साहित गर्न साहले गैरकानुनी क्रियाकलपा गरेकाले उनलाई पक्राउ गरी कारवाही थालिएको डिएसपी चिमौरियाले बताएका छन् ।

भाण्टाबारी, लौकही, श्रीपुर, बसन्तपुर, नरसिंह, घुस्की, कप्तानगन्ज, देवानगन्ज, अमडुवा, लगायतका नाकाबाट भारतीय तस्करहरुले नेपाली तस्करसँग मिलेर अवैध समान भित्राउने गरेका छन् ।

जसका कारण दैनिक लाखौं रुपैँया राजश्व संकलनमा असर पुगेको छ । भारतीय नागरिकहरु तस्करीमा सक्रिय रहेको पाइएपछि सुनसरीका सबै नाकामा प्रहरी परिचालन गरी राजश्व चुहावटलाई नियन्त्रण गर्न लागिएको चिमौरियाले बताए ।

तपाईको प्रतिक्रिया