बलात्कारविरुद्ध प्रहरी अभियान


जनकपुर । प्रदेश २ का आठै जिल्लामा बलात्कारका घटना बढ्न थालेपछि प्रहरीले त्यसविरुद्ध सतर्कता अपनाएको छ। प्रहरी प्रधान कार्यालयले आठै जिल्ला प्रहरी कार्यालयलाई बलात्कारका घटना न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएबमोजित अभियानसमेत सुरु भएको छ। प्रहरी प्रधान कार्यालयले जबर्जस्ती करणी अपराध अनुसन्धान नियन्त्रण अभियान २०७४ निर्दे्शिका जारी गरी तीनमहिने कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको जनाइएको छ।

संघीय इकाइ प्रहरी कार्यालय जनकपुरले चालू आर्थिक वर्षको आठ महिनामा ९३ वटा बलात्कार घटना भएको जनाएको छ। फागुनमा मात्र २५ वटा बलात्कार घटना भएको प्रहरी तथ्यांक छ। प्रदेश प्रहरीका अनुसार माघमा ७, पुस ५, मंसिर ६, कात्तिक १२, असोज १४, भदौ ११ र साउनमा १३ वटा बलात्कारका घटना भएको थियो। अघिल्लो आर्थिक वर्षको १२ महिनामा यी जिल्लामा एक सय ३२ वटा घटना भएको तथ्यांक छ। आठ महिनामै एक सयको हाराहारीमा बलात्कारका घटना हुनुले अपराध बढ्दो देखाएको प्रदेश प्रहरीको आकलन छ।

मुस्लिम र दलित बढी बलात्कृत

अघिल्लो बुधबार १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पर्साको बहुदरामाई नगरपालिका वडा नम्बर ५ गम्हरियाका २३ वर्षीय मणिभूषण पाण्डेलाई नियन्त्रणमा लिएको थियो। स्कुलबाट फर्किएर बाख्रा लिन जाँदा ती बालिका बलात्कारको सिकार बनेकी थिइन्। पाण्डेले ती बालिकाको बाख्रा आफ्नो घरमा बाँधेर राखेका थिए। बालिका दलित समुदायकी हुन्। फागुन अन्तिम साता पटेर्वा सुगौली गाउँपालिका(५, निचुटाकी १० वर्षीया बालिका बलात्कृत भइन्। उनलाई पोखरिया नगरपालिकाका २० वर्षीय सुनील तुराहाले माछा दिने प्रलोभन देखाएर बलात्कार गरे।

चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा अधिकांश बालिका र किशोरी बलात्कारको शिकार भएको प्रदेश प्रहरीले जनाएको छ। प्रदेश २ मा बलात्कारजस्तो जघन्य अपराधमा वञ्चितीकरणमा परेको समुदायका महिला र बालबालिका बढी पीडित हुने गरेको तथ्यांकले देखाएको छ।

वञ्चितीकरणमा परेको समुदायका रूपमा दलितलाई चिनिन्छ भने धार्मिक अल्पसंख्यकका रूपमा मुस्लिमलाई लिइन्छ। ४७ प्रतिशित नागरिक गरिबीको रेखामुनि रहेको प्रदेश २ मा दलित समुदायकै संख्या बढी छ।

आठ जिल्लामा सन् २०१७ मा ५६ दलित र मुस्लिम समुदायका महिला तथा बालबालिका बलात्कारजन्य घटनाबाट पीडित बने। त्यसमध्ये मुस्लिम समुदायका पाँच बालिका बलात्कृत भए भने एक जनामाथि बलात्कार प्रयास भयो। १२ दलित बालिका बलात्कृत भए भने ९ जनामाथि बलात्कार प्रयास भएको तथ्यांक इन्सेकको प्रतिवेदनमा उल्लेख छ।

बलात्कारका अधिकांश घटनामा नातागोता, आफन्त र छिमेकीको संलग्नता देखिएको छ। बलात्कारका घटनामा नजिकका मान्छेको संलग्नता रहने गरेको पर्साका प्रहरी प्रवक्ता डीएसपी राजन लिम्बूले बताए।

दलित अगुवाले आर्थिक रूपमा कमजोर र राजनीतिक रूपमा पछि परेकाले दलित महिला तथा बालिका बलात्कारको शिकार हुनुपरेको बताएका छन्। ‘सत्तामा गैरदलितको वर्चस्व छ’, पर्साको महुवन गाउँका मनोज रामले भने, ‘आर्थिक रूपमा कमजोर दलितको न्यायमा पहुँच छैन। त्यसैले बलात्कारीहरूले उन्मुक्ति पाउँदा दलित महिला बलात्कारको शिकार भएका हुन्।’

ग्रामीण तहमा बलात्कारका घटनामा मिलापत्र गराउने चलन कायमै छ। गाउँमा कुरा नमिलेपछि मात्र प्रहरीमा यस्ता घटना जाने गरेका छन्। रेडक्रस सोसाइटी पर्साका अध्यक्ष फूल महम्मद मियाले मुस्लिम समुदायमा पनि यस्ता घटनालाई प्रहरी कार्यालयमा पुग्न नदिने प्रयास हुने गरेको बताए।

अभाव, दबाब र प्रभावले महोत्तरीमा बलात्कारका घटना बढेको प्रहरीले जनाएको छ। गत आर्थिक वर्ष ६ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएको रेकर्ड छ। तर, चालु आर्थिक वर्षको ८ महिनामा जबर्जस्ती करणी तथा जबर्जस्ती करणी उद्योगमा १२ वटा उजुरी दर्ता भएको एसपी कुवेर कडायतले बताए। आर्थिक वर्ष ०७२÷७३ मा १५ वटा गम्भीर प्रकृतिका यौनजन्य हिंसाको मुद्दा प्रहरीमा दर्ता भएको तथ्यांक छ।

जलेश्वरमा मंगलबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीले बलात्कारका घटना न्यूनीकरणका लागि तीनमहिने कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ।

सिरहा र सप्तरीमा बढी

प्रदेश २ मा सबैभन्दा बढी सिरहा र सप्तरीमा बलात्कार घटना भएको छ। चालू आर्थिक वर्षको आठ महिनामा सिरहामा २२ र सप्तरीमा २० वटा घटना भएको प्रहरीले जनाएको छ। आठ जिल्लामा ९३ वटा घटना भएको तथ्यांक छ।

अभियान गाउँमा लैजान सुझाव

बलात्कारका घटनामा वृद्धि भएपछि त्यसविरुद्ध पर्सा प्रहरीले अभियान थालेको छ। बलात्कारका घटना हुन नदिन प्रहरीले जबर्जस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान मंगलबार सुरु गरेको हो। पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले मंगलबार घण्टाघर चोकमा अभियान उद्घाटन गरे। ‘जबर्जस्ती करणी गम्भीर अपराध हो, म यो अपराध हुन दिन्नँ। यसको दोषीलाई कानुनी कारबाहीका लागि प्रतिबद्धता व्यक्त गर्दछु’ भन्ने व्यहोराको प्रतिबद्धतापत्रमा उनले हस्ताक्षरसमेत गरे।

कार्यक्रममा सहभागीले अधिकांश बलात्कार घटना ग्रामीण भेगमा हँुदै आएकाले प्रहरीको अभियान ग्रामीण भेगमै केन्द्रित हुनुपर्ने सुझाव दिए। उनीहरूले जुन(जुन गाउँमा बलात्कारका घटना भएका छन् तिनै क्षेत्रमा पुगेर अभियान सञ्चालन गरिए प्रभावकारी हुने बताए। बलात्कार मनोरोग पनि भएकाले विद्यालयस्तरको शिक्षामै बालिका र किशोरीलाई सबल र सक्षम बनाउने पाठ्य सामग्रीको व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ थियो।

पर्साका प्रमुख जिल्ला अधिकारी सिंहले बलात्कार जघन्यका साथै मानवताविरुद्धको अपराधसमेत भएको बताए। समाजलाई सुसूचित गराउन नसकेका कारण पनि बलात्कारका घटनामा वृद्धि हँुदै गएको उनको भनाइ थियो। ‘बलात्कारीलाई अहिले सजाय कम भएका कारण पनि बलात्कारका घटनामा वृद्धि भएको भन्ने कुरा आइरहेको छ, जुन बहसको विषय बन्न पुगेको छ’, उनले भने, ‘बलात्कारीलाई हुने सजाय अझ थप कडा बनाउन चौतर्फी दबाबको आवश्यकता छ।’ हरेक अभिभावकले छोराछोरीले के गरिरहेका छन्, कहाँ गइरहेका छन्, कस्तो संगतमा परेका छन् भन्ने निगरानी राख्न सके बलात्कारका घटनामा केही हदसम्म कमी आउन सक्ने उनको भनाइ थियो।

पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले नारीलाई सम्मान गर्ने संस्कार विकसित गर्न सकियो भने पनि बलात्कारका घटनामा कमी आउने धारणा व्यक्त गरे। प्रहरीले थालेको अभियान प्रत्येक गाउँ र टोलमा सञ्चालन गरिने जानकारी पनि उनले दिए।

प्रहरीका अनुसार यो वर्ष साउनदेखि चैत दोस्रो सातासम्म बलात्कारका १८ वटा घटना भएका छन्। साउनदेखि चैत १५ गतेसम्म पर्सामा जबर्जस्ती करणीका ११ र जबर्जस्ती करणी उद्योगका सातवटा जाहेरी परेको जनाइएको छ। गत आर्थिक वर्षमा भने जबर्जस्ती करणीका १० र जबर्जस्ती करणी उद्योगका ११ वटा जाहेरी परेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया