ओलीले आजै साँझ मोदीलाई भेट्ने


नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आजै साँझ समकक्षी नरेन्द्र मोदीलाई उनको निवासमा पुगेर भेट्ने भएका छन् । ओलीले त्यसअघि भारतीय प्रतिपक्षी दल कांग्रेस आईका अध्यक्ष राहुल गान्धीसँग राष्ट्रपति भवनमा भेटने कार्यक्रम छ ।

त्यसपछि ओलीले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालसँग भेटवार्ता गर्नेछन् । ओलीले नेपाली दूतावासले आयोजना गर्ने रात्री भोजअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम तय भइसकेको स्रोतले जनाएको छ ।

ओलीले मोदीलाई शुक्रबार साँझ पौने सात बजे भेट्ने कार्यक्रम तय भएको हो । ओलीले मोदीलाई दिल्लीको लोककल्याण मार्ग्स्थित सरकारी निवासमा पुगेर भेट्ने भएका हुन् ।

यो भेट दुईजनाबीच एक्ला एक्लै हुने बताइएको छ । भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र भारतमा रहेका नेपाली समुदायबीच साँझ ५ बजेपछिको अन्तरक्रिया सकेपछि मोदीसँग भेटवार्ता हुने भएको हो ।

ओलीले शुक्रबारै सबैभन्दा पहिले भारतीय व्यापारीहरुसँग अन्तरक्रिया गरेर नेपालमा लगानीका लागि आश्वस्त बनाएका छन् । उनले नेपालमा नयाँ युग सुरु भएको बताउँदै लगानीका लागि कुनै समस्या नरहेको पनि व्यापारीहरुसँग बताएका थिए ।

तपाईको प्रतिक्रिया