कर्णाली प्रदेशमा यस्तो छ पर्यटन वर्षको तयारी


सुर्खेत ः कर्णाली प्रदेश सरकार आगामी १ वैशाखदेखि सुरु हुने ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को तयारीमा जुटेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेर तयारी तीव्र पारिएको जनाइएको छ । नयाँ पत्रिकामा खबर छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रारा तालमै आयोजना गरिने विशेष कार्यक्रममा पर्यटन वर्षको उद्घाटन गर्ने तय गरिएको छ । प्रधानमन्त्रीले राराबाटै राष्ट्रका नाममा सम्बोधन गर्ने छन् भने मन्त्रिपरिषद्को बैठक पनि त्यहीँ बस्नेछ । मुख्यमन्त्री शाहीले निम्तोपत्र दिइसकेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले रारा आउने प्रतिबद्धता जनाएको सामाजिक विकासमन्त्री एवं प्रचार समितिका संयोजक दल रावलले बताए ।

पर्यटन वर्षको प्रचारका लागि सञ्चार माध्यमलाई प्रयोग गर्ने, प्रदेशका सबै जिल्लामा डिजिटल होर्डिङ बोर्ड राखिने भएको छ । त्यस्तै, पर्यटन वर्ष सफल पार्न मन्त्री तथा सांसदहरू खटाइएको मन्त्री रावलले बताए । त्यस्तै, वैशाखदेखि रारामा सञ्चार सेवा विस्तार गरी फ्रि वाइफाइको व्यवस्था गरिने भएको छ ।

तयारीका लागि विभिन्न समिति
कर्णाली–रारा पर्यटन वर्षका लागि प्रदेश सरकारले मुख्यमन्त्री शाहीको नेतृत्वमा मूल आयोजक समिति र अन्य मन्त्रीको नेतृत्वमा विभिन्न उपसमिति गठन गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा आर्थिक व्यवस्थापन, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा आवास तथा सुरक्षा व्यवस्थापन, सामाजिक विकासमन्त्री दलबहादुर रावलको संयोजकत्वमा स्वास्थ्य तथा प्रचार–प्रसार उपसमिति गठन गरेको छ ।

त्यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीको संयोजकत्वमा खाद्य तथा कोसेली व्यवस्थापन, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको संयोजकत्वमा पर्यटन वर्ष व्यवस्थापन र भौतिक पूर्वाधार विकासमन्त्री खडक खत्रीको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति गठन गरेको छ ।

दुवै मार्ग प्रयोग
आन्तरिक तथा वाह्य पर्यटकलाई रारा पुग्न सजिलाका लागि हवाई तथा स्थलमार्ग प्रयोग गरिने भएको छ । सुर्खेत र मुगुको ताल्चा विमानस्थलबाट रारासम्म पुग्ने सडकलाई प्रभावकारी बनाउन डिभिजन सडक कार्यालय, सुर्खेत र जुम्लालाई खटाइएको छ । त्यसको मर्मतसम्भारमा जुट्न निर्देशन दिइसकेको मन्त्री रावलले बताए ।

पर्यटन लोकमार्ग बनाउने
सुर्खेतदेखि हिल्सा नाकासम्म प्रधानमन्त्री पर्यटन लोकमार्ग नामकरण गरी राष्ट्रिय गौरवको आयोजना बनाउने तयारी गरेको छ । १ वैशाखमा बस्ने मन्त्रिपरिषद् बैठकले त्यससम्बन्धी निर्णय गर्ने आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए । ‘दक्षिणतर्फका नाकासँग नजोडिएकाले हिल्सा सडकलाई प्राथमिकतामा राख्छौँ,’ मन्त्री ज्वालाले बताए ।

तपाईको प्रतिक्रिया