मुगुमा आगलागी- १९ घर जलेर नष्ट


गमगढी । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिका(४ किम्री गाउँमा आगलागी हुँदा १९ घर जलेर नष्ट भएका छन् । बिहीबार बिहान ९ बजे वडाध्यक्ष छिरिङ्ग टासी लामाको घरबाट सुरु भएको आगो गाउँभरि फैलिदा १९ घर जलेर ध्वस्त भएका हुन् ।

स्थानीय पेमा ठिल्ने लामाका अनुसार बिहान ९ बजे सुरु भएको आगलागी अपरान्ह मात्रै नियन्त्रणमा आएको छ । घट्नास्थलदेखि ३ घण्टा टाढा पुलु प्रहरी चौकीबाट ११ बजेमात्रै प्रहरी घटना स्थल पुगेको थियो । प्रहरी, स्थानीय मिलेर आगो नियन्त्रण गरेका छन् ।

आगलागीमा छिरिङ्ग टासी लामा , फोन्जोक लामा, आङ्गडाक लामा, हिस्से लामा, पेमा लामा, पेम्बा लामा, अङ्गजु लामा, जिग्मे लामा, तोर्चे लामा, पासाङ्ग लामा, फुर्वा लामा, धावा लुण्डुप लामा, कार्मा छेवाङ्ग लामा, सोनाम आङ्गडु लामा, ग्याल्बो लामा, अङ्गजक लामा,जिक्टोल लामा,गारा छिरिङ्ग लामा र एक जनाको नाम खुल्न नसकेको गरी १९ घर जलेर ध्वस्त भएका छन् ।

घरमा रहेका सम्पूर्ण समान नष्ट भएपछि १ सयभन्दा बढी परिवारको बिचल्ली हुने भएको छ । उनीहरुलाई के खाने के लगाउने समस्या भएको छ । यार्सा संकलन गर्न जानका लागि जम्मा गरिएका खाद्यन्न लत्ताकपडा लगायतका सामग्री र नगदसमेत नष्ट भएको छ ।

जेठ ५ गतेबाट यार्सागुम्बा संकलन खुला गरिएको छ । आगलागीबाट अन्न लत्ताकपडा गरगहना र नगद गरी दुई करोड भन्दा बढी क्षति भएको अनुमान गरिएको छ ।

अन्नपुर्ण पोष्टबाट

तपाईको प्रतिक्रिया