लोप हुँदै ‘हुड्के नाच’ !


अच्युतराज भण्डारी
मुगुमा परम्परागत मागी बिबाहमा कमी आएसँगै ‘हुड्के नाच’ लोपोन्मुख अवस्थामा पुगेको हो ।
आजकल मागी भन्दा भागी बिबाह गर्नेको संख्यामा बृद्धि भएपछि ‘हुड्के नाच’ महत्व हराउँदै गएको हो ।
‘आजभन्दा १०–१५ वर्ष पहिले मंसिर र माघ महिनामा गाउँघरमा बिहेका पञ्चेबाजा खुब सुन्नपाइन्थे । हुड्केहरुलाई पनि भ्याइँ–नभ्याइँ हुन्थ्यो । आजभोलि त मंसिर र माघ गएको पत्तै हुँदैन,’ खत्याड गाउँपालिका–८ का ७० वर्षीय हुड्के हस्तमान नेपालीले बताए ।
‘मागी बिहे हुँदा पञ्चेबाजा (दमाया, सहनाइ, नरसिंहा, ढोल, ताल र हुड्कोलगायतका बाजा) बजाएर बेहुलाको घरदेखि बेहुलीको घरसम्म छमछमी नाँच्दै÷गाउँदै जान्थ्यौँ । बेहुलीको घरमा पुगेर बाजाहरु बजाउनु बेस्सरी बजाउथ्यौँ । हुड्के नाच्दै गाउँदा र चुट्किला भन्दा खुब मज्जा आउथ्यो,’ बृद्ध हस्तमानले विगतका अनुभव सुनाए ।
केही समययता गाउँघरमा हुने विहे मध्ये ‘कतिले मन्दिरमा गएर त कतिले पार्टी प्यालेसमा गएर विहे गर्ने चलन बढेपछि पुरानो संस्कृति र हुड्के बाजा’ लोप हँुदै गएको ९२ वर्षीय स्थानिय भुवासिंह थापाले बताए ।
विहेको पछिल्लो दिन स्थानीय कपडा (दौडा) लगाइन्छ । हातमा डमरु जस्तै देखीने हुड्को समातेर २ जना सहयोगीका साथ स्थानीय भाषामा(जोल्या) पुराना वीर (पैकेला)हरुका कथा (भात्ता) भन्दै दिनभर नाँच्दै÷गाउँदै र रमाइलो गर्ने गर्ने परम्परालाई ‘हुड्के नाच’भनिन्छ ।
हुड्के नाचमा पैसा माग्ने परम्परा पनि रहेको छ । पैसा जन्तीतर्फका महिला–पुरुषसँग मागिन्छ, जुन हुड्को नाचको मुख्य विशेषता हो । अहिले सो नाच एकादेशको कथा जस्तै हुन लागेको स्थानीय बताउछन् ।
‘पहिला लगनको बेला(मंसिर र माघ) खत्याड गाउँपालिकाको ११ वटा वडा, बाजुराको आधा भाग, सिंगो हुम्ला र जुम्लाको सिंजासम्म हुड्के बजाउने र नाच्नेको ताँती हुन्थ्यो । हामीलाई निम्तो पनि आउथ्यो ।’ हुड्के अमरसिंह नेपालीले भने,‘अहिले त कहिले काहीँ नेताहरुले पार्टीको कार्यक्रममा हुड्के बजाउन बोलाउछन् । विहेमा त बोलाउनै छाडे ।’
साहेक हुड्के(जोले) बुदे नेपाली भन्छन्,‘बिहेमा हुड्को बजाएर खुब नाचिन्थ्यो÷गाइन्थ्यो । अब त विहे गाउँघरमा हुनै छाडे । कुनै समयमा हुड्के नाच थियो भनेर इतिहासमै सिमित हुने भो !’

तपाईको प्रतिक्रिया