राजनीतिक तरङ्ग ल्याउने मार्सीको कथा


काठमाडौं । सामाजिक सञ्जालमा चर्चा हुनुभन्दा पहिला धेरै नेपालीलाई ‘मार्सी’ बारे थाहै थिएन । पछिल्लो समय ‘मार्सी’ को चर्चा राजनीतिसँग जोडेर पनि भएपछि यसको ‘ब्रान्डिङ’ समेत भएको छ ।

झापाको बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईको भक्तपुरस्थित घरमा नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्सी चामलको भात खुवाउँदै गरेको एर फेसबुकमा हालेसँगै मार्सीले देश तताएको हो ।

सरकारलाई ठोक्ने मार्सी

प्रसाईको घरमा मार्सीको भात खाएपछि ओली र प्रचण्डलाई कांग्रेस, विवेकशील डा. गोविन्द केसीका समर्थकले माफियासँग मिलेको भन्दै कटाक्ष गर्ने क्रम रोकिएको छैन ।

नेपाली राजनीतिमा तरङ्ग ल्याउन सफल मार्सीले त्यही एउटा फोटोका कारण करोडौँ लगानी गर्दा पनि नमिल्ने ‘ब्रान्डिङ’ पाइरहेको छ । एकातिर दुईतिहाइ बहुमतको सरकारलाई आलोचना गर्ने गतिलो हतियार भएको छ भने जुम्लाको सिञ्जादेखि राजधानीसम्म मार्सी भित्रने क्रम पनि बढेको छ ।

मार्सीको भात खाएकै कारण प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्ड तारो बनेका छन् । ‘दुर्गाजीको घरमा गएर प्रचण्डजी र मैले मार्सीको भात खाएकै हौँ’, केही दिनअघि नेकपा अध्यक्ष ओलीले धुम्बाराहीमा भनेका थिए, ‘खासै मिठो हुँदो रहेनछ, ठेट्नो, ठेट्नो, मार्सीको भात खानु गल्ती थिएन, खाएपछि फेसबुकमा फोटो हाल्नु चाहिँ गल्ती भयो ।’

नेपाली राजनीतिमा तरङ्ग ल्याउने मार्सीले समाजिक सञ्जाल रंगिएका छन् । ओली–दाहालले मार्सीको भात खाएसँगै सर्वसाधरणको ध्यानसमेत यसले खिचेको छ । अन्य धानको चामल भन्दा झण्डै तीन गुण महंगो यही मार्सीकै नाममा सडकदेखि संसदसम्म सरकारको आलोचना भइरहेको छ ।

मार्सीका पारखी बढे

यसअघि जुम्ला र त्यस आसपासमा सीमित यो मार्सी धानको चामलले सर्वसाधरणलाई तानिरहेको छ । अधिकांश नेपालीको कान नपरेको मार्सीको चर्चाले यसको भात चाख्ने पनि राजधानी सहरमा बढेका छन् ।

आचोलनात्मक टिप्पणीले नै मार्सीको विज्ञापन भएको छ । पत्रपत्रिका, रेडियो र टेलिभिजनमा मार्सीबारे दैनिक समाचार बनेका छन्, कार्टुनसमेत छापिएका छन । यसअघि थाहा नपाएकाले थाहा पाएका छन्, नखाएकाले खाएका छन्, मार्सीकोे माग ह्वात्तै बढेको छ । लोप हुन लागेको मार्सीले फेरि नयाँ जीवन पाएको छ । सस्तो र स्वादिलो जातको मन्सुली, मसिनो र बास्मती चामललाई मार्सीले चुनौती दिन थालेको छ ।

किराना पसल र डिर्पामेन्टलस्टोरमा मार्सीको माग ह्वात्तै बढेको छ । प्रधानमन्त्री ओलीले मार्सीको मसिनो चामल र बासमती जति मिठो नहुने अहिले बासमती र मसिनो चामलको भन्दा मार्सीको माग बजारमा छ ।

जुम्लाबाट मगाइँदै

माग बढेसँगै जुम्लाबाटै मार्सी मगाउन थालिएको छ । एग्री सेन्टर नयाँ बानेश्वरका विक्रेता श्याम थापाले मार्सीको माग अत्यधिक बढेको बताए । उनले मार्सीको ‘अभाव’ रहेको बताए । खत्रीले मार्सी २५० रुपैयाँ प्रतिकिललो विक्री भइरहेको बताए । एग्री सेन्टरले १ सय किलो विक्री गरेर पुनः ५ सय किलो थप मार्सी चामल ल्याएको छ ।

‘एक सय किलो बेचिसकियो फेरि ५ सय किलो आएको छ, अब प्याकिङ गरेर बजारमा ल्याउँछौ’, विक्रेता थापाले भने । व्यवसायीले २ किलोको पोको बनाएर मार्सी विक्रिवितरण गरिरहेका छन् । अत्याधिक मागका कारण मार्सीको भाउ बढ्ने अवस्था रहेको व्यवसायीहरु बताउँछन् । सुपरमार्केटहरुले पनि ठूलोमात्रामा मार्सी मगाइरहेका छन् । सीमित उत्पादन हुने भएकाले माग गरेजति मार्सी नपाइने गरेको व्यवसायीहरु बताउँछन् ।

के हो मार्सी ?

बाली विज्ञान महाशाखाका वैज्ञानिक राजेन्द्रकुमार भट्टराईले उच्च पहाडी भागमा हुने रैथाने जातको धान नै जुम्ली मार्सी भएको बताउँछन् । ‘उच्च पहाडको हावापानी हुने स्थानीय जातको धान हो मार्सी,’ उनले भने, ‘यो जातको संसारको उच्च भागको सिञ्जा उपत्यकामा फल्ने गरेको छ ।’

यो धान जुम्लाको सिञ्ज उपत्यका र तिला नदीको किनार आसपासका खेतमा फल्ने गर्छ । वैज्ञानिक भट्टराईका अनुसार मार्सी जुम्लाको चन्दनाथ मन्दिरका पुजारीले भारतबाट ल्याएको भन्ने स्थानीय भनाइ छ । कृषि वनस्पति महाशाखा धान प्रजनन एकाइका प्राविधिक अधिकृत अतीत पराजुलीले ३ हजार ५० मिटर उच्च भूभागमा मार्सी धान उत्पादन हुने बताए ।

यसरी उमारिन्छ बीउ

अत्यधिक चिसो सहन सक्ने जुम्ली मार्सीको बीउ राख्दा सुरुवातमा भिजाएर टुसा उम्रिएपछि हिले ब्याडमा बीउ छर्ने गरिन्छ । महिना दिनको बीउलाई खेतमा रोपिन्छ । ‘मार्च २५ मा बीउ बोरामा राखेर भिजाइन्छ, अनि एक हप्ता अर्थात अप्रिल ३ मा हिले ब्याडमा छरिन्छ, महिनापछि खेतमा रोपिन्छ,’ प्राविधिक अधिकृत पराजुलीले भने ।

प्राविधिक अधिकृत पराजुलीका अनुसार रोपेको १५० देखि १७० दिन भित्र मार्सी धान उत्पादन हुन्छ । उनले मार्सीमा मरुवा रोगको ठूलो प्रकोप फैलिएर दुख दिइरहेको बताए । मरुवाबाट जोगाउने र मार्सीको गुणस्तर कायम रहने गरी अनुसन्धान भइरहेको उनले बताए । ‘मार्सीको गुणस्तर पनि कायम होस, मरुवा पनि नलागोस भनेर अनुसन्धान गरिरहेका छौं’, प्राविधिक अधिकृत पराजुलीले भने । उनले मरुवाकै कारण किसानहरुले मार्सी लगाउन छोडिरहेको पनि बताए ।

मार्सीका विकल्पमा उच्च भाग उत्पादन हुने उन्नत जात चन्दनाथ–१ र चन्दनाथ–३ को पनि विकास गरिएको छ । नयाँ विकास गरिएका चन्दनाथ १ र चन्दनाथ ३ को उत्पादन हुन मार्सी भन्दा बढी १८० दिन लाग्छ ।

‘टेस्टी’मार्सी

प्राविधिक अधिकृत पराजुली जुम्ली मार्सी स्वादिलो र पौष्टिक हुने बताउँछन् । ‘दुध र घिउसँग खाँदा जुम्ली मार्सीको भात स्वादिलो हुन्छ,’ उनले भने, ‘मार्सी गुलियो हुन्छ ।’

अन्नपुर्ण पोष्टबाट

तपाईको प्रतिक्रिया