१२ वर्षीया छात्राको भावुक चिट्ठी– घरमा खाना छैन, मलाई स्कुलबाट निकाल्दिनू !


काठमाडौं । सोमनाथ ढुंगानाले विद्यालयमा पढाउन थालेको २१ हिउँद बित्यो । १३–१४ वर्षदेखि उनी एउटै विद्यालयमा चक–डस्टरको धूलो खाइरहेका छन् । जामुनाखर्क माध्यमिक विद्यालय, बेनी नगरपालिका–६ म्याग्दीमा ।

यसबीचमा जीर्ण कालोपाटीमा कोरिएका धूमिल अक्षरको बाटो हुँदै थुप्रै विद्यार्थीले उच्च शिक्षाको खुट्किला पार गरे । कति उच्च ओहदामा पुगे । थुप्रैले शासन–प्रशासनसमेत सम्हाले । हुन सक्छ, कोही शिक्षाको उज्यालो घाममासमेत बाटो नदेखेर कुहिराको काग पनि बने । तर, भदौ १ गतेको बिहान उनको ‘करिअर’कै अपत्यारिलो घटना घट्यो । आफ्नै विद्यालयमा ६ कक्षामा पढ्ने छात्रा पूजा खत्रीले भावुक पत्र कोरिन् ।


“सर ! आजदेखि म विद्यालयमा आउन असमर्थ छु । घरमा खानेकुरा छैन । कापीकलम किन्ने पैसासमेत छैन । बाध्यताले म विद्यालयमा आउन सकिनँ सर !”– पूजा खत्रीका किरिङमिरिङ, बाङ्गाटिङ्गा यी हरफले उनका आँखा रसाए । दृष्टि धमिलियो । पूजाको अभाव र वेदनाले मन अमिल्लिनुसम्म अमिल्लियो ।
बेनी बजारमा रहेको बालमन्दिर आधारभूत विद्यालयबाट प्राथमिक तह उत्तीर्ण गरेकी पूजाको पढाइमा लगावै थियो । सरहरूले अह्राएको गृहकार्य खुरूखुरू गर्थिन् । सधैँ हँसिली, खुसिली देखिन्थिन् । समयमै स्कुल आउँथिन् । साथी–संगतीसँग हाँसखेल पनि गर्थिन् । तर, साउनको अन्तिम हप्तादेखि उनी एकाएक स्कुल आउन छाडिन् ।

पढाइमा असाध्यै मन गर्ने विद्यार्थी एकाएक गायब हुनु राम्रो संकेत होइन । फेरि पहिलो त्रैमासिक परीक्षाको तिथिसमेत नजिकिँदैछ । प्रधानाध्यापकसमेत रहेका ढुंगानाले उनका सहपाठीलाई कक्षामै गएर सोधे– “खै पूजा ?”
अवोध उनका सहपाठीलाई पूजाको गरिबीको दुष्चक्रबारे ज्ञात होस् कसरी ?
“थाहा छैन सर । तर, स्कुल नआएको धेरैदिन भयो !,” सबैले समवेत स्वरमा भने ।
प्रअ ढुंगाना थप आश्चर्यमा परे । र उनले तत्कालै विद्यार्थीलाई अह्राए, “भोलि उसको घरमा बुझेर खबर ल्याओ है !”
“हस् सर !,” आज्ञाकारी बालकलेझैँ सबैले मुन्टो हल्लाए । भोलिपल्ट पनि पूजा आइनन्न्, पत्रचाहिँ आयो । पत्रमा लेखिएको थियो, “घरमा खानेकुरा छैन । कापीकलम किन्ने पैसा पनि छैन । स्कुल आउँदिन सर । बरु ‘रेस्टिगेट’ गरिदिनू !” छाँगाबाट खसेझैँ भए उनी । मस्तिष्क रन्थनियो ।

अध्यापनको यो प्रौढ अवधिसम्म आइपुग्दा उनले यस्तो घटना चाल पाएका थिएनन्– घरमा खानेकुरा नहुँदा शिक्षाको ढोकै बन्द भएको ! पत्र पूरा पढ्दा नपढ्दै उनको मन विदीर्ण भयो । आँखाका छेउकुना रसाए । कहिले स्कुल छुट्टी होला र शिक्षकलाई पूजाको घर पठाउनुजस्तो पो भयो ।
“आर्थिक विपन्नताका कारण पढ्न नसकेको, पढाइ बीचमै अलपत्र परेको कुरा हामीले नसुनेका होइनौँ । कसैले मुख खोल्न सक्दैनथे । तर, पूजाले आफ्नो गरिबी, अभाव र निर्धनता पत्रमै ओकलेकी थिइन्,” ढुंगाना त्यसदिनको घटना स्मरण गर्छन् ।
शिक्षक पूजाको घर पुगे । अवस्था निकै टीठलाग्दो थियो । घरमा खानेकुरा केही थिएन । पानीले पखालेकोजस्तो थियो घर । ६० वर्ष उमेर पूरा भइसकेका वृद्ध हजुरबुबा आँगनमा शरीर घिच्याउँदै थिए । एक त वृद्ध, अर्को शारीरिक अशक्तता । निकै विक्षिप्त थिए उनी पनि । पूजाले घरको बेलिबिस्तार लगाइन् ।
बाबुआमा दुवै छन् तर कोही घर बस्दैनन् । आमा घर छाडेर बाग्लुङ गएको निकै समय भइसकेको छ । बाबु बजार छेवैमा फर्निचरमा काम गर्छन् तर घर खासै आउँदैनन् । कहिलेकाहीँ महिना, दुई महिनामा आउँदा रहेछन् । घर आउँदा एक्लै नआउने, रक्सीको दुर्गन्ध पनि साथै लिएर आउने । पूजाले कहिलेकाहीँ कापीकलम किन्न पैसा माग्दिरहिछन् ।
“यत्री भइसक्दा पनि पैसा माग्छेस् । बरु बिहे गरेर जा !,” पैसा दिने त कहाँ हो कहाँ पिटाईचाहिँ भेट्दिरहिछन् उनले । बालमन्दिरमा पढ्ताताका पूजाले शिक्षकलाई घरमा खाना नभएको र कापी किन्नसमेत पैसा नभएको गुनासो गरेकी थिइन् । शिक्षकले बाबुलाई छोराछोरीलाई कापीकलमको जोहो गरिदिन आग्रहसमेत गरे । “घरको कुरा स्कलुमा गएर सुनाउँछेस् । घरको कुरा शिक्षकलाई भन्दै हिँड्ने हो ?,” भन्दै उल्टै उनले बाबुको हातबाट पिटाइ भेटिन् ।
हजुरबाले वृद्धभत्ता थापेको केही हप्तासम्म उनीहरूको चुल्हो तात्दो रहेछ ! त्यसपछि भोकै । त्यसदिन बिहान पनि बाटो हिँड्नेले दिएको मकै खाएर पेट भरेका रहेछन् उनीहरूले । हजुरबाको हातखुट्टा चलुञ्जेलसम्म त उनीहरू जसोतसो स्कुल जान सकेका रहेछन् । हजुरबाको हातखुट्टा बसेपछि पूजाको स्कुल जाने बाटो ठप्प भएछ । आफ्नो जीवन रातै नपरी अँध्यारो भइहाल्यो । भाइ–बहिनीलाईचाहिँ पढाउनुपर्छ भनेर उनले आफ्नो गाँस काटेर भए पनि भाइबहिनीलाई स्कुल पठाएकी रहिछन् । यति कुरा शिक्षकको मुखबाट सुनेपछि प्रअ ढुंगाना मर्माहत बने । उनले तत्कालै पूजाले पठाएको पत्रको फोटो खिचे र बेनी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष कृष्णबहादुर बानियाँलाई खबर गरे ।


“पूजाका लागि आवश्यक व्यवस्था त स्कुल आफैँ गर्न सक्थ्यो । तर, उनका दुई भाइबहिनी पनि छन् । फेरि पूजाको नियति बेहोर्ने कति होलान् ? अरू नभए पनि सरोकारवालाको ध्यानाकर्षण होला नि !,” पत्र बाहिर ल्याउनुको निहीतार्थ सुनाउँछन् प्रअ ढुंगाना । पछिल्लो समय सरकारले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क घोषणा गरेको छ । त्यसो त निरक्षता प्रतिशतलाई शून्यमा झार्न वैशाखको पहिलो साता प्रधानमन्त्रीदेखि मन्त्री, सांसद, सरकारका उच्च पदस्थ अधिकारीदेखि जनप्रतिनिधिले ‘एक व्यक्ति एक विद्यार्थी भर्ना’ गर्ने अभियान चलाए । गरिब, अनाथ, असहाय बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने होडबाजी नै चल्यो । तर, पूजाहरू आज पनि घरमा खानेकुरा नहुँदा र कापी–कलम किन्न नसक्दा ‘रेस्ट्रिकेट’को याचना गर्न अभिशप्त छन् ।

“हाम्रो स्कुलमा बाह्र कक्षासम्म पढ्न पैसा लाग्दैन । तर खानेकुरा नभएर, कापीकलम किन्न नसकेरसमेत स्कुल आउन नसक्नेहरू रहेछन्,” यतापट्टी पनि ध्यान र्पुयाउन सरोकारवालाई आग्रह गर्छन् उनी । अहिले पूजा खत्रीलाई स्कुलमा फर्काउन पहल गरिरहेका छन् ढुंगाना । त्यसमा बेनी नगरपालिकालेसमेत सघाएको छ । यसमा आफू सक्दो सहयोग गर्न कटिवद्ध रहेको बताउँछन् बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ । आफू यस विषयमा अनभिज्ञ रहेको भए पनि स्कुलका प्रधानाध्यापकमार्फत् सबै कुरा बुझेर बालिकालाई स्कुलमा निर्वाध जाने वातावरण बनाउने उनले प्रतिबद्धता जनाए । प्रधानाध्यापक ढुंगाना, स्कुलका शिक्षक, वडाध्यक्ष बानियाँसमेतको पहलमा उनले अहिले त्रैमासिक परीक्षा दिन थालेकी छिन् पूजाले । ५ गतेदेखि शुरू भएको परीक्षा दिन नियमित आइरहेकी छिन् । तथापि घरको आर्थिक अवस्था नसुध्रने हो भने उनको चुल्हो जतिबेलै निभ्न सक्छ । र, भोकै स्कुल आउन सक्दिनन् ।

“त्यसैले सबैसँग हातेमालो गरेर उनको उच्च शिक्षासम्मको ढोका खोलिदिन पाए आफैँ गरेर खान्थिन्,” सहयोगको अनुरोध गर्छन् प्रअ ढुंगाना ।
(विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुंगाना ९८५७६२२२१५ मार्फत् बालिकालाई सीधा सहयोग गर्न सकिनेछ ।)

१२ खरी बाट साभार

तपाईको प्रतिक्रिया