रामचन्द्रको आरोप ः ठुला घोटाला गर्दै सरकार, संघीयता पनि खारेज गर्न खोज्दैछ


काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले स्थानीय तहका अधिकार खोस्न र संघीयता खारेज गर्ने बाटोमा लागेको आरोप लगाएका छन् ।

पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नगर प्रमुख र उपप्रमुखहरुबीच गरेको अन्तरसम्वाद कार्यक्रममा उनले यस्तो भनेका हुन् । पौडेलले केन्द्र सरकारले संविधान विपरित स्थानीय तहका अधिकार खोस्न लागेको जिकिर पनि गरेका छन् ।

’वर्तमान सरकार पक्षपाती भएको छ । स्थानीय तहको अधिकारमा केन्द्रले ठाडै हस्तक्षेप गरिरहेको छ’, उनले भने, ’केन्द्र सरकारले स्थानीय तहका अधिकारमा हस्तक्षेप गर्न गर्न पाउँदैन । यो सरकारले संघीयताको कार्यान्वयन गर्नेमा शंका छ । संघीयता कम्युनिष्टको सत्तामा पर्दैन । कम्युनिष्ट सिद्धान्त भनेको जनवादी केन्द्रीयतामा आधारित हुन्छ ।’

नेता पौडेलले केन्द्र सरकारले वित्तीय आयोग बनाउन नसक्दा अहिले करको लफडा भइरहेको बताए । वित्तीय आयोग नबनाउनु केन्द्र सरकारको कमजोरी रहेको पनि पौडेलले जिकिर गरे ।

उनले स्थानीय तहका जनप्रतिनिधिले पार्टीको भविष्यलाई अझै बलियो बनाउने गरी काम गर्नुपर्नेमा पनि जोड दिए । ’जनताको मतले तपाईँहरु यहाँ हुनुहुन्छ । तपाईहरुको कामसँग पार्टीको भविष्य पनि जोडिएको छ’, उनले भने, ’अहिले हामी धेरै कमजोर अवस्थामा छौँ । अब तपाईहरुले काम गरेर पार्टीलाई माथि ल्याउनु आवश्यक भइसकेको छ । स्थानीय तहमा भ्रष्टाचार बढेको गुनासोको पनि ख्याल गर्दै काम गर्नुहोला ।’

पौडेलले केपी ओली नेतृत्वको सरकारले ठुला भ्रष्टाचार गर्न लागेको बताउँदै यस विषयलाई आमनागरिकसम्म लानुपर्ने उल्लेख गरे । ’अहिलेको सरकारले ठुला घोटाला गरिरहेको छ। त्यसलाई स्थानीय तहले उठाउन जरुरी छ’, उनले भने, ’नेपाल वायूसेवा निगमको वाइड बडी किन्दा भएको घोटालालाई तलसम्म लानुपर्छ । यसमा तपाईँहरुले भूमिका खेल्नुपर्छ ।’

तपाईको प्रतिक्रिया