छाउपडी प्रथा मान्नेको सेवा सुविधामा रोक


जुम्ला : जिल्लाको तिला गाउँपालिकाले छाउपडी प्रथा मान्दै अाएका कर्मचारी तथा जनप्रतिनिधिको सेवा सुविधा रोक्ने भएको छ । गाउँपालिकाका अध्यक्ष रतननाथ योगीको अध्यक्षतामा बुधबार बसेको बैठकले गाउँ सभाका सदस्य र कर्मचारीले छाउपडी, जातीय छुवाछुत नत्यागे सेवा सुविधा रोक्ने निर्णय गरेको उपाध्यक्ष विष्णुमाया बुढाले बताइन् ।

छुइगोठ मुक्त बस्ती घोषणा गर्ने लहरसँगै गाउँ कार्यपालिका भित्र जातीय छाउपडी तथा छुवाछुत प्रथामा कडाई गरिएको हो । गाउँपालिकाका रावतवाडा, जोगीवाडा र ढिमकोट गाउँ छुइगोठ मुक्त घोषणा भइसकेका छन् ।

कार्यन्वयन गर्ने निकाय नै छाउपडी तथा जातीय छुवाछुत प्रथामा डुबेकाले तिला गाउँपालिकाले अभियानलाई आन्तरिक रुपमा नै बलियो बनाउँदै लैजान थालेको उपाध्यक्ष बुढाले बताइन् । समाजमा यस्ता प्रथाले हिंसा निम्त्याउने भएकाले निरुत्साहित गर्न थालिएको हो ।

‘छाउपडी भएकाले अलग्गै गाईबस्तुसँग बस्नु पर्ने बाध्यताबाट मुक्त गराउन पछिल्लो समयमा विभिन्न सचेतनाका क्रियाकलाप भइरहेकाे छ,’ उपाध्यक्ष बुढाले भनिन, ‘गाउँपालिका भित्रैबाट नै यो अभियानलाई सशक्त बनाउँदै लगे प्रभावकारी हुने भएकाले यस्ताे निर्णय भएको हो ।’ गाउँपालिकाभित्र महिलालाई चेतनामूलक क्रियाकलापमार्फत सचेत गराउने र छाउपडी प्रथाविरुद्ध क्रियाकलाप तिव्र पारिने भएको छ ।

तपाईको प्रतिक्रिया