राज्यकोषबाट तलव पाउँदै जुम्लाका जनप्रतिनिधि


जुम्लाका जनप्रतिनिधिका लागि स्थानीय तहले पहिलो पटक तलव निकासा गरेको छ । निर्वाचित भएदेखि दशै चाडपर्वसम्मको एकमुष्ठ तलव निकासा गरिने तयारी जुम्लाका एक नगरपालिका र सात गाउँपालिकाले गरेका छन् । कर्णाली प्रदेश सरकारले गरेको निर्णय अनुसार तलव रकम एकमुष्ट निकासा गर्न लागिएको हो ।

 

स्थानीय तहमा निर्वाचित गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र गाउँ सभा सदस्यको लागि तलव निकासा गर्न लागिएको छ । जुम्लाका स्थानीय तह मध्ये पातारासी गाउँपालिकाले भने जनप्रतिनिधिको तलव निकासा गरिसकेको छ । निर्वाचित भएको दिनदेखिको सबै तलव भत्ता जनप्रतिनिधिको खातामा हालिएको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर बुढाले बताए ।

पातारासी गाउँपालिकाले सबै जनप्रतिनिधिलाई हालसम्मको तलव ४९ लाख ९२ हजार रुपैयाँ निकासा गरेको लेखापाल महाकृष्ण पाण्डेले बताए । तिला गाउँपालिकाका उपप्रमुख विष्णु बुढाकाअनुसार यसै हप्ता भित्र तलव उपलव्ध गराउने गाउँपालिकाले तयारी गरी रहेको छ ।

गोठीचौर गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत केशवप्रसाद शर्माका अनुसार गतवर्षदेखि अहिले भदौ महिना सम्मको र दशै चाडपर्वसमेत जनप्रतिनिधिको खातामा तलव जम्मा भइसकेको छ । उनले भने जनप्रतिनिधिलाई राज्यले उपलव्ध गराउने व्यवस्था अनुसारको सेवा सुविधा प्राप्त गरेका छन् ।

सिजा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टोपबहादुर बुढाले जनप्रतिनिधिलाई तलव उपलव्ध गराउने परिपत्र आइसकेकोले उपलव्ध गराउने तयारी भइरहेको बताए ।

राज्यकोषबाट जनप्रतिनिधिहरुले तलव खाएपछि जनप्रतिनिधी आमनागरिकका साँझा हुनुपर्ने नेपाल पत्रकार महासंघ शाखा जुम्लाका सचिव धनबहादुर बुढाले बताए । जनप्रतिनिधि आमनागरिकका साँझा हुनुपर्ने हो तर त्यसो नभएर राजनैतिक रंग देखाउने गरेको उनले आरोप लागाए । स्थानीय तहमा हुने विकास निर्माणका कामदेखि अन्य सेवासुविधामा जनप्रतिनिधिहरुले पार्टी कार्यकर्ताहरुलाई बढी प्रथामिकतामा राखेर काम गर्ने गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया