गरिबको ओठमा हाँसो बनेर आउ


लोकेन्द्रराज गिरी,

एका बिहानै झुसमुसे उज्यालोमा कसैले ढोका ढकढकाए जस्तो लाग्यो, हतार हतार उठेर ढोका खोले त्यहाँ कोहि थिएन र कसैलाई देखिन, दिनभरि घरको बारिको डिलमा आएर काग करायो अब चाहिँ घरमा कोहि आउन्छ भन्ने ठाने तर कोहि आएन, घरकै पर छेउ दोबाटोमा पर्खी बसे केही खबर आउन्छ कि भने अँह केही खबर आएन, यसरी धेरै समय धेरै ठाउँ पर्खि बसे अह तिमी आएनौ, तिम्रो खबर आएन तिमिले ढोका ढकढक्याएनौ ती दिन जुन दिन तिमिले मलाई कसम खादै भनेका थियौ त्यो दिन मैले भुलेकि छैन, जुन उदेश्यले घर छोडेका थियौ त्यो पनि मैले भुलेकि छैन, खै तिमी सङ्गै हिडेका तिम्रा अरु साथी उहिल्यै आइसके तिमी कहाँ छौ के गर्दै छौ को सङ्ग छौ न तिम्रा साथिले भन्छन न कसैले । मैले त्यो बेला तिमिलाई भनेकी थिए हाम्रो समाजको बारेमा, हाम्रा संस्कारका बारेमा तिमी हिडेको बाटोको बारेमा र तिम्रो उदेश्य पूरा गर्न सङ्गै हातेमालो गर्दै हिडेका साथी सङ्गिको बारेमा खै तिमिले मानेनौ र म सङ्ग रिसाएर हिड्यौ त्यसैले तिमी घर आउन अफ्ठारो त मानेका छैनौ ? र केही छैन समय बदलिएको छ, तिमिहरुले भन्ने गरेको बिनास पछि बिकास, मानिसको हत्या गरेर मात्र सम्भब हुने क्रान्ति, साम्राज्यवाद बिस्तारबाद र घरेलु सामन्तबाद विरुद्धको लडाइ तिम्रो भाषामा सम्पन्न भएको छ, तिम्रा साथिहरु त्यसै भन्दैछन । तिमी सङ्ग हिडेका १७ हजार साथी सहिद भैसकेका छन, उतिकै मात्रामा अङ्गभङ्ग भएर दर्दानाक अबस्थामा घर फर्की सके, कोहि कोहि त यो देशका ठुलठुला ओहोदामा पुगि सके, तिमी भन्थ्यौ नि हाम्रो सत्ता हो त्यो सत्ता पनि २, ३ पटक चलाई सके खै त साम्राज्यवादसङ्ग र बिस्तारबादसङ्ग लडेका ? अझ आजभोलि त तिनीहरु बिस्तारबादका सामु नब लम्पसार भएका छन । हिजोको घरेलुु सामन्तबादी भन्दा धनाढ्य भएका छन्, न सामन्तबादको जन्म गर्दै छन हिजो सबै सर्बहारा कृत हुँदै गर्दै समाजबाद र साम्यवादको बाटो अङ्गालेकाहरु आज जनता सर्बहरा बनाएर आफ्नै साथिलाई सर्बहरा बनाएर आफू एक्ले पुजिपती बन्दैछन खै कहाँ गयो तिम्रो उदेश्य ? खै तिमी कहाँ छौ केही भन्दैनौ आफ्ना साथिलाई हिजो जुन ब्यबस्थामा थियो देश, संसद बाट चल्ने आज पनि उहीँ छ, हिजो एउटा राजतन्त्र थियो, त्यसका विरुद्ध लड्यौ, आज दर्जनौ नब राजतन्त्र हरु वा राजाहरु द्वारा शासन चलिरहेको छ, हिजो गरिब दलित जनजाति मधेसी महिला उत्पीडित पिछडिएका वा जनता दुब्लाएर सरकार मोटो हुने देशमा बिकास हुदैन, त्यस कारण क्रान्ति गर्नुपर्छ । जनतालाई नदुब्लाइकन वा जनतालाई मोटाएर मात्र सरकार मोटो हुनुपर्छ भन्ने गरेका थियौ तर त्यो व्यबहार आज पनि देखिन, थाहा छ करिब २१ ह्जार रुपैया जन्मने बितिकै ऋण बोक्नु पर्ने अवस्था आएको छ, सरकार त हिजोको भन्दा झन् मोटो हुदैछ, जनता हिजोका भन्दा दुब्ला हुदैछन्, के यहि हो तिम्रो प्रगति ….?

छोडौ यी सब कुरा तिमी कहाँ छौ, कुन दुनियाँमा छौ, तिमी गए देखि हामिले एकपटक पनि बिजय दशमी मनाएका छौनौ, तिमी आए पछि मनाउला भनेर तिमी सङ्गै हिडेका पल्ला घरकाले ठूलो आलिसन झै घर बनाइ सके, कसैले ठुल्ठुला शहर बजारमा उद्योग खोलेर बसि सके, त्यति मात्र कहाँ होर हिजो अरुलाई ठेकेदारहरु भन्थे, आज आफै ठेकेदार भैसके, हिजो अरुलाई जड्या जुहारि भन्थे कारबाही गर्थे आज सब आफै गर्दैछन, त्यसैले तिमी घर आउन अप्ठ्यारो मानेको, केही मान्नु पर्दैन, यो दुनियाँ यस्तै हो तिमी जहाँ छौ चाडै आउ, आज समाज हुने खानेका पछाडी लाग्ने भैसक्यो, हिजोको आदार सम्मान एक आपसमा सहयोग आदानप्रदान सबै हराइसक्यो, अब त देशमा शान्ति आइसक्यो पल्लो घरे पनि बिदेश बाट आइसक्यो हिजो देशमा द्वन्द्वबाट बच्न शहर बजार गएकाहरु, सबै सबै आइसके बर्षौ भैसक्यो हामिले दशै नमनाएको यस पाली त आउ तिम्रो बहिनिले सजायर राखेको मखमली र सयपत्री फुलको माला पनि बर्षौ देखि तिम्रै तस्बिर अगाडि राखेकी छु । थालिमा बनाएका टीका पनि सुक्न थालिसके जमराहरु प्रत्येक बर्ष राख्छौ, तिमी आउदैनौ आफै उम्रन्छन अनि आफै मर्छ्न अब त यो आमा पनि धेरै टिक्दैन जस्तो छ, एक पटक त तिम्रो अनुहार हेर्न देउ, एक पटक त तिम्रो बहिनिको आखामा आँसु पुछ्न, आउ तिम्रो बहिनिको निधार खाली भएको पनि बर्षौ भयो, जहाँ छौ जस्तो छौ उस्तै आउ चाहिदैन तिम्रा साथिले बनाएका आलिसन महल, चाहिदैन उस्तै नाक कान घाटिमा गर गहना भिराउन, चाहिदैन हामीलाई शहर बजारमा ठुल्ठुलो उद्योग, हिजो जसो थियो उस्तै बनेर आउ यो देशका जनतालाई मोटाउने बनेर आउ, यो देशलाई साम्राज्यवाद बिस्तारबादमा लम्पसार नपर्ने गरेर आउ, संक्रमणकालाई हटाएर स्थायी शान्ति र समृद्धि ल्याएर आउ, भाइ भाइमा हिमाली, पहाडी, मधेसी, विभिन्न जाति, भाषा, धर्म, लिङ्ग, क्षेत्रमा भएको भेदभाव र अनेकतालाई भेदभाव रहित एकतामा बाँधेर आउ गरिबहरुको ओठमा हाँसो बनेर आउ म बाटो कुरेर बस्ने छु, बिश्बास छ, तिमी यसपालि त अवश्य आउनेछौ ।

-चन्दननाथ नगरपालिका वडा १० जुम्लाका लेखक लोकेन्द्रराज गिरीद्धारा एउटा आमाको बास्तविक भुमिकामा लेखिएको लेख ।

तपाईको प्रतिक्रिया