पार्टीभित्रैबाट ममाथि आक्रमण भो ः वामदेव गौतम


रामवीरको राजीनामा अस्वीकृत

वामदेव गौतमलाई उपनिर्वाचनमा उम्मेदवार बनाउन काठमाडौं–७ का सांसद रामवीर मानन्धरले राजीनामाका लागि मागेको अनुमति नेकपा सचिवालयले अस्वीकार गरेको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटरामा आइतबार बसेको नेकपाको सचिवालय बैठक ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले सांसद मानन्धरले राजीनामाका लागि मागेको अनुमति अस्वीकार गरेको हो । ‘रामवीर मानन्धरले राजीनामा दिनका लागि पार्टीलाई लेखेको पत्रबारे अहिले निर्णय गर्नुपर्ने जरुरी नभएको निर्णय भएको छ,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘बाँकी एजेन्डामा सोमबार व्यवस्थित छलफल हुनेछ ।’

गौतमलाई उपनिर्वाचनमा उम्मेदवार बनाउन सांसद मानन्धरले गत २२ असोजमा बसेको सचिवालय बैठकमा राजीनामा दिन अनुमति माग्दै लिखित निवेदन दिएका थिए । तर, नेता ईश्वर पोखरेलको विरोधपछि अर्को बैठकमा छलफल गर्ने भन्दै स्थगित भएको थियो । गौतमले उम्मेदवारी दिनेबारे पार्टीपंक्ति र बाहिर विरोध बढ्दै गएपछि सचिवालय बैठक दुईपटक स्थगित भएको थियो । परिस्थिति अनुकूल नबनेपछि २७ असोजमा गौतमले ‘ब्याक’ भएको पार्टी नेताहरूलाई जानकारी गराएका थिए।

एकता र सरकारको काममा छलफल केन्द्रित
सचिवालय बैठकमा पार्टी एकताको काम छिटो सम्पन्न गरेर सरकारलाई सफल बनाउनेतर्फ ध्यान केन्द्रित गर्ने विषयमा छलफल भएको नेताहरूले बताएका छन् । ‘मुख्यतः पार्टीलाई कसरी सुदृढ एकताका आधारमा अघि बढाउने, सांगठनिक एकीकरणलाई हरहालतमा छिटो टुंगो लगाउने र एकताबद्ध पार्टी, एकताबद्ध नेतृत्वका आधारमा सरकारलाई पनि सफल बनाउनेगरी बैठकमा खुला र गम्भीर छलफल भएको छ,’ प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीहरूसँग भने ।

नेपालको असहमतिपत्रसहित एक दर्जन एजेन्डा
केन्द्रीय सचिवालयमा पार्टी एकताका सन्दर्भमा भएको पछिल्लो निर्णयबारे वरिष्ठ नेता माधवकुमार नेपालले राखेको असहमतिपत्रसहित एक दर्जन एजेन्डा छलफलका लागि प्रस्तावित छन् ।

बैठकमा महासचिव विष्णु पौडेलले वरिष्ठ नेता नेपालको असहमतिपत्र, सरकारको कामको समीक्षा, सरकार र संसद् सञ्चालनमा पार्टीको सम्बन्ध, रिपोर्टिङ, स्थायी समिति बैठकको मिति, प्रदेश संगठन कमिटीको पूर्णता, जिल्ला कमिटीकोे एकीकरण, पोलिटब्युरो, केन्द्रीय निकाय र केन्द्रीय विभागहरूको पूर्णता, जनवर्गीय संगठनहरूको एकीकरण, दसैँ–तिहार र छठ पर्वको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलगायतका एजेन्डा छलफलका लागि प्रस्ताव गरेका छन् ।

आगामी १२ र १३ कात्तिकमा बस्ने स्थायी समिति बैठककका लागि सचिवालयले ती एजेन्डालाई अन्तिम रूप दिनेछ । प्रवक्ता श्रेष्ठले बाँकी एजेन्डाहरूमा सोमबार बस्ने बैठकमा छलफल हुने बताए ।

पार्टी्भित्रैबाट ममाथि आक्रमण भो ः गौतम

नेता वामदेव गौतमले संस्थागत विधि–प्रक्रियाअनुसार नै मानन्धरको राजीनामा र आफ्नो उम्मेदवारीको विषयले बैठकमा प्रवेश पाए पनि पार्टी सचिवालयकै केही नेताको गैरजिम्मेवार प्रस्तुतिका कारण परिस्थिति अनुकूल बन्न नसकेको धारणा सचिवालयमा राखेका थिए । आफू र पार्टीले संस्थागत धारणा नबनाउँदै सामाजिक सञ्जालमार्फत आफूविरुद्ध नेताहरूबाटै कु(प्रचार गरेर आक्रमण गरिएको भन्दै उनले यसले पार्टीको प्रतिष्ठा गिराएको र प्रतिक्रियावादीहरूलाई फाइदा पु(याउने काम गरेको धारणा राखेको एक सचिवालय सदस्यले बताए ।

‘वामदेव कमरेडको उम्मेदवारी तयारी र उपचुनावको चर्चाका सन्दर्भमा पार्टी्भित्र उत्पन्न असमझदारीबारे खुलस्त छलफल भयो, उहाँले धेरै लामो पृष्ठभूमिसहित तीता–मीठा सबै कुरा राख्नुभो,’ ती सचिवालय सदस्यले भने, ‘अब त्यसबारे कुनै गुनासो नहुने गरी अहिलेलाई कुनै निर्णय नगर्ने अन्तिम निर्णय भयो ।’ नया पत्रिकाबाट

तपाईको प्रतिक्रिया