काठमाडौँभन्दा लुम्बिनी बढी प्रदूषित


आइतबार, २१ माघ २०७४

काठमाडौँ । झट्ट हेर्दा जो कोहीलाई पनि लाग्न सक्छ जनसंख्या र सवारी साधनको अत्यधिक घनत्व भएको काठमाडौँ उपत्यकाका मुलुकमै सबभन्दा बढी प्रदूषित सहर होला ।

वातावरणीय प्रदूषण मापन तथ्यांकका आधारमा भने लुम्बिनी काठमाडौँभन्दा पनि बढी प्रदूषित देखिएको छ । वायु गुणस्तर मापन तथा अनुगमन प्रणालीबाट प्राप्त तथ्यांकअनुसार काठमाडौँभन्दा लुम्बिनी डेढ गुणा बढी प्रदूषित पाइएको वातावरण विभागले जनाएको छ ।

मानव स्वास्थ्यमा असर गर्ने मसिनो धुलोका कण औषतमा काठमाडौँभन्दा लुम्बिनीमा बढी पाइएको विभागका सहप्रवक्ता मोहनदेव जोशीले बताउनुभयो । स्वास्थ्यका दृष्टिले काठमाडौँभन्दा लुम्बिनी बढी जोखिममा परेको देखिएको छ ।

सहप्रवक्ता जोशीले भन्नुभयो, “लुम्बिनी बढी प्रदूषण हुनुको खास कारण यही भन्न नसकिए पनि तीव्र औद्योगिकीकरणमा रहेको भारतीय सीमाबाट बहने वायु प्रदूषण र लुम्बिनी आसपासमा बढी मात्रामा रहेका नेपाली सिमेन्ट उद्योगबाट उड्ने धुलोका कण हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।”

विभागले एक वर्षअघि नै मुलुकको समग्र वायु प्रदूषणको स्थिति जाँच र अनुगमन गर्न मुलुकभर १२ स्टेशन स्थापना गरेको छ । त्यस्ता स्टेशन काठमाडौँको पुल्चोक, रत्नपार्क, कीर्तिपुर, धुलिखेल, शंखपार्क, भैँसेपाटी, भक्तपुरमा छन् भने उपत्यका बाहिर सौराहा, लुम्बिनी र पोखरामा (तीन वटा) छन् । यद्यपि मुलुकभर ५६ स्टेसन आवश्यक पर्ने विभागको भनाइ छ ।
दिउँसोभन्दा बिहान र बेलुकी बढी प्रदूषण

वायु प्रदूषणको स्थिति जाँच गर्ने स्टेनशको २४ घण्टे तथ्यांक केलाउँदा दिउँसोको समय (११ देखि ४ बजेसम्म) कम प्रदूषित रहन्छ भने बिहानी र बेलुकीको समय बढी प्रदूषित छ । वार्षिक तथ्यांक हेर्दा भने कात्तिकदेखि फागुनसम्म अत्यधिक प्रदूषित हुने गरेको छ ।

काठमाडौँको हानिकारक प्रदूषणको स्रोतमा योगदानका आधारमा क्रमशः सवारी साधन, धुलो, कृषि कर्म र इँटाभट्टा रहेका छन् । वातावरण क्षेत्रमा कार्यरत संघसंस्थाको सहभागितामा विभागद्वारा आज आयोजित कार्यक्रममा सरोकारवालाले वातावरण संरक्षणका कार्यक्रम प्रभावकारी बनाउन आपसी समन्वय हुनुपर्नेमा जोड दिए ।

वातावरण मन्त्रालयका सहसचिव डा रामप्रसाद लम्सालले नेपालमा वातावरणसँग सम्बन्धित तथ्यांक एवं स्रोत सधानको कमी नभए पनि त्यसलाई प्रभावकारी परिचालन र उपयोग गर्न नसक्दा अपेक्षित परिणाम हासिल गर्न नसकिएको बताउनुभयो ।

मन्त्रालयले वातावरण संरक्षणका कार्यमा एकरुपताका लागि प्राथमिकता निर्धारण गरेको अवगत गराउँदै उहाँले भन्नुभयो, “वातावरण संरक्षण अभियानका लागि सरकारले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय रुपमा गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सरोकारवाला सबैको सहयोग र योगदान आवश्यक छ ।” कार्यक्रममा वातावरण क्षेत्रका विज्ञहरुले विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरेका थिए ।
वायु प्रदूषण जाँचपास गरेका ४७ प्रतिशत सवारी साधन असफल

हानिकारक प्रदूषणको प्रमुख स्रोतका रुपमा रहेको सवारी साधनको संख्या काठमाडौँमा तीव्र गतिमा वृद्धि भइरहेको छ । काठमाडौँमा आर्थिक वर्ष २६२÷६३ मा करिब २८ हजार सवारी साधन दर्ता भएकामा क्रमशः बढेर २०७२÷७३ मा लगभग ९८ हजार सवारी साधन दर्ता भएको तथ्यांक छ ।

सवारी प्रदूषण नियन्त्रण नापजाँच पास गरेका (ग्रिन स्टिकर) सवारी साधनमध्ये करिब ४७ प्रतिशत सवारी साधन प्रदूषण उत्सर्जनमा असफल भएको पाइएको विभागले जनाएको छ ।

विभागले हाल स्थापना गरिएका अनुगमन स्टेशनमार्फत निरन्तर तथ्यांक प्रवाह गरिरहेको छ । तथ्यांकको विश्लेषण र संश्लेषणमार्फत प्राप्त सूचनाका आधारमा देशभरिको समग्र वातावरण स्थिति सुधार गर्न रणनीति, कार्ययोजना निर्माण तथा अध्ययन अनुसन्धान गरिरहेको विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीले बताउनुभयो ।

विभागले जलवायु परिवर्तनको प्रभावको दृष्टिकोणले उच्च संकटासन्न क्षेत्रमा समुदायलाई परिचालन गरी अनुकूलनका प्रयासलाई व्यवहारमा प्रयोग गर्न तथा समुदायको समानुकूलन क्षमतामा अभिवृद्धि गर्न ‘जलवायु अनुकूलित गाउँ’ स्थापना गरेको उहाँले जानकारी दिनुभयो ।
हालसम्म ३२० आयोजनाको इआइए स्वीकृत

नेपालमा हालसम्म करिब ३२० आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन स्वीकृत गरिएको छ । स्वीकृत गरिएका आयोजनाको संख्या सबैभन्दा बढी काठमाडौँमा छ भने डोल्पा, जुम्ला, रौतहट, सप्तरी, सर्लाही र स्याङ्जामा हालसम्म वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने आयोजनाले छोएका छैनन् ।

स्वीकृत गरिएका आयोजनाहरु सबैभन्दा बढी जलस्रोत तथा ऊर्जासँग सम्बन्धित छन् भने सबैभन्दा कम कृषि र खानी क्षेत्रसँग सम्बन्धित रहेको विभागले जनाएको छ । नेपालमा वातावरणीय प्रभाव मूल्यांकन प्रक्रियालाई आवश्यकताभन्दा बोझका रुपमा बढी लिइने गरेको विभागको गुनासो छ ।

वातावरण संरक्षण परिषद्का सदस्य माधव कार्कीले विकास निर्माणका क्रियाकलापसँगै बढेको वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर र दूरगामी असर पुर्याइरहेकाले यसमा सबै पक्ष सचेत हुनुपर्ने बताउनुभयो ।

विभागले जलवायु परिवर्तनको प्रभावसम्बन्धी अध्ययन अनुसन्धान, जलवायु परिवर्तन, विषादीको प्रयोग, विपद् व्यवस्थापनलगायतका विषयमा अन्तक्र्रिया गोष्ठी तथा तालीमको माध्यमबाट जनचेतना अभिवृद्धि, प्लास्टिक झोलाको विकल्पमा कपडाका झोला प्रवद्र्धनलगायत कार्य गरिरहेको जनाएको छ । रासस

तपाईको प्रतिक्रिया