कर्णालीका खेलाडीलाई खर्च जुटाउन मिल संचालन


नन्दराम जैसी,

जुम्ला । कर्णालीका एथेलेटिक्स खेलाडीलाई खाजा तथा अन्य खर्च जुटाउन कुटानी पिसानी मिल संचालन गरीएको छ । खेलाडीलाई दैनिक प्रशिक्षण गर्दा होस् वा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका म्याराथुन प्रतियोगितामा भाग लिनुपर्दा आवाश्यक पर्ने भाडा र खाजा खर्च जुटाउन धौ धौ परीरहेको अवस्थालाई अन्त्यगर्न मिल संचालन गरीएको हो । विभिन्न निकायको सहयोगमा कर्णाली स्पोर्टस क्लबले सदरमुकाम खलंगाको रानिपोखरी नजिकै २२ लाख लागतमा मिल निर्माण सम्पन्न गरेको छ । शुक्रबार एक औपचारीक कार्यक्रमबिच चन्दननाथ नगरपालिका पाँच नम्वर वडा अध्यक्ष अर्जुनसिंह कठायत (गोल्डेनले) मिल उद्घाटन गरेका हुन् । यसअघिका धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका म्याराथुन प्रतियोगितामा किर्तिमान कायम गरेका जुम्ली एथेलेटिक्स खेलाडीले भोग्नु परेको आर्थीक कष्ट हटाउन मिल संचालनको अवधारणा ल्याईएको क्लबका अध्यक्ष सरोज शाहीले बताए । मिलबाट उठेको आम्दानी नँया खेलाडी उत्पादन तथा खेलाडीहरुको ब्यवस्थापन कार्यमा खर्च गरीने उनको भनाई छ । ‘नियमित खेल प्रशिक्षणको क्रममा खाजा, जर्सी, भाडा नहुँदा हाम्रा खेलाडी निरुत्साहीत भएका छन्’ उनले भने, ‘अब त्यस्तो तितोसत्य अन्त्य गरी कर्णालीको एथेलेटिक्स खेल क्षेत्रबाट नेपाललाई विश्वसामु चिनाउने दक्ष खेलाडी उत्पादन गर्नेछौ ।’

धावकको सहयोग
एथेलेटिक्स खेल प्रशिक्षक तथा नेपालि धावक हरिवहादुर रोकायाले मिल संचालनका लागि ३५ लाख बराबरको जग्गा उपलब्ध गराएका छन् । भने उनकै नामबाट रहेको हरिवहादुर फाउण्डेशन कोषबाट एक लाख ५० हजार सहयोग प्राप्त भएको छ । ‘खाजा समेत नखाई भोकै खेलाडीलाई प्रशिक्षण गराउँदा र अरुसँग सहयोग माग्न जाँदा खेप्नुपरेको तिरस्कारको पिडा हामीलाई मात्रै थाँहा छ’ धावक रोकायाले भने, ‘यसैको अन्त्यको लागि मैले मिल संचालनमा सहयोग गरेको हुँ ।’ उक्त कुटानी पिसानी मिल संचालनका लागि ग्रिड इन्टरनेश्नल काठमाण्डौले १४ लाख, राधा पौडेल फाउण्डेशन २५ हजार र पाँच नम्बर वडाबाट एक लाख ५० हजार अनुदान सहयोग प्राप्त भएको थियो । भने कर्णाली स्पोर्टस क्लबका खेलाडीहरुले श्रमदान गरेका थिए ।

नागरीकलाई सहज
कुटानी पिसानी मिल संचालनले नागरीकलाई निकै सहज भएको छ । यसअघि सदरमुकाममा दुई वटा कुटानी पिसानी मिल संचालन भएपनि नागरीकले छिटो छरितो सेवा लिन सकेका थिएनन् । यो मिल बत्ती नभएको बेला समेत सोलार सिस्टमबाट संचालन हुने भएकाले नागरीकले पनि यसलाई रुचाएका छन् । उपभोक्ताको मागका आधारमा २४ सै घण्टा मिल संचालन गर्न ब्याकपको ब्यवस्था छ । जसका लागि साढे चार किलोवाटको सोलार सिस्टम जडान गरीएको छ । उपभोक्ता सिता बुढाले भनिन्, ‘अन्त भनेकै समयमा महंगो प्रसा तिरेरपनि पिठो पिस्न र धान कुट्न पाँईदैन, त्यसैले अरु भन्दा यो मिल सस्तो, सुलभ भएकाले पनि हामीलाई सहज छ ।’

तपाईको प्रतिक्रिया