राप्रपा नेपाल जुम्लाका नेता कार्यकर्ता रिहाँ


जुम्ला ः प्रहरी नियन्त्रणमा परेका राप्रपा नेपाल जुम्लाका १२ जना नेता कार्यकर्ता रिहा भएका छन् । धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै आन्दोलनमा उत्रिएका नेता कार्यकर्तालाई शुक्रबार दिउसो प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा परेका उनिहरु करीब पाँच घण्टापछि शुक्रबार दिउसो नै छुटेका हुन् ।

सदरमुकाम खलंगाको बालमन्दिर नजिकै धर्मनिरपेक्षता लेखिएका ब्यानर, पम्पलेट जलाउँदै गरेको अवस्थामा नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय अगाडी उक्त कागजपत्र जलाउने राप्रपा जुम्लाको कार्यक्रम थियो । तर बाक्लो प्रहरी परीचालन हुँदा उनिहरुले बालमन्दिर नजिकै जलाएका थिए । सोही क्रममा प्रहरी र राप्रपा कार्यकर्ताबीच धकेलमकेल समेत भयो ।

राप्रपा नेपाल जिल्ला कार्य समिति जुम्लाले स्वतन्त्रपूर्वक गरिएको शान्तिपूर्ण आन्दोलन माथि प्रहरीले हस्तक्षेप गरेको भन्दै गम्भीर ध्यानाकर्षण समेत जनाएको छ । राप्रपा नेपालका युवा नेता अनुप थापाले आफ्ना नेता कार्यकर्तालाई प्रहरीले केहि समय भएपनि नियन्त्रणमा लिनु उपयुक्त नभएको तर्क गरे । पक्राउ परी रिहा हुनेमा पाटीका केन्द्रीय सदस्य धनबहादुर थापा, जिल्ला कार्य समिति जुम्लाका सचिव श्रीकृष्ण बुढा र जुम्लाका प्रवक्ता अंगदप्रसाद देवकोटा लगायतका नेता कार्यकर्ता रहेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार रिहापछि उनिहरु आ आफ्नो घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया