चट्टानी पहाड छिचोल्दै मुगुसम्म


अजवी पौड्याल,

रिपोर्टरको डायरी, 
नेपालको सबैभन्दा लामो नदी कुन हो थाहा पाउने सिलसिलामा कर्णालीको नाम पहिलोपटक सुनेकी थिएँ। स्कुल–कलेज पढ्ने क्रममा अनेक किस्सा र किंवदन्ती सुनिन्थ्यो कर्णालीको। त्रिविमा डिग्री पढ्ने बेलामा मात्रै कर्णाली प्रदेशका साथीहरूसँग भेट हुने मौका मिल्यो।

चट्टान फोरेर मानिसले बनाएको गोरेटो बाटो, मुगुमा रहेको सुन्दर रारातालको बयानमा मविवि शाहले लेखेको कविता पढेरै हुर्किएकी हुँ। जुम्लाको चन्दननाथ मन्दिर, सिजा उपत्यका, सुर्खेतको बुलबुल ताल, मुगुको आदिनाथ मन्दिर, काक्रेविहार, से फोक्सुण्डो ताल, पचाल झरना, यार्सागुम्बा उम्रने पहाड, दैलेखको गुराँसे जस्ता पर्यटकीय ठाउँबारे सुन्ने मौका पाएकी थिएँ।

मविवि शाहले स्वर्गकी अप्सराको उपमा दिएको रारा ताललाई आफ्नै आँखाले देख्ने रहर मनमनै बढिरहेको थियो। चैतको तेस्रो हप्ता कर्णाली जाने अवसर जुट्यो। सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुसम्म पुग्ने तालिका बनेको थियो। यो अवसर जुटाइदिएको थियो मुगु जिल्लामा बालबालिकाको शिक्षा, महिलाको स्वास्थ्य र आयआर्जन क्षेत्रमा काम गरिरहेको ब्याक टु लाइफ नामक एक अन्तर्रा्ष्ट्रिय संस्थाले।

गरिबी, रूखो जग्गा, मातृशिशु मृत्युदर उच्च रहेको प्रदेश हो कर्णाली। खान नपुगेर भोकमरी लाग्ने समस्या, छाउपडीको कहालीलाग्दो कुप्रथाले सयौं दिदीबहिनीको मृत्यु भइरहने यथार्थ। धेरैजसो गाउँमा वर्ष दिन थेग्ने उब्जनी हुँदैन। हरेक घरका पुरुष प्रायः कालापहाड जाने गरेका छन्। कोही जडिबुटी बेचबिखन गर्न मधेस झर्छन्। गाउँमा महिला र केटाकेटी मात्र छन्। मुगुको जिमा गाउ“को एक कार्यक्रममा भेट भएका कर्णालीको प्रदेश सांसद चन्द्रबहादुर शाही कर्णालीमा प्रशस्त सम्भावना रहे पनि सरकारको उचित नजर पर्न नसकेको गुनासो गर्दै थिए।

बाटो–घाटो, होटल–व्यवसाय, विमानस्थल प्रायः निजी प्रयासमा बनेकोे मुगुका पर्यटन व्यवसायी राजबहादुर कार्कीले सुनाए। मुगुको रारा ताल विश्वकै अनुपम नमुना हो। कार्की यसको प्रचार–प्रसार र ताललाई पर्यटकमैत्री बनाउन सके कर्णालीको आर्थिक विकासको संवाहक बन्न सक्ने दाबी गर्छन्।

कर्णालीको कथा जस्तै छ ब्याक टु लाइफ सुरुको कथा पनि। संस्थाकी फाउन्डर स्टेलिया डिटजेन जर्मन कलाकार हुन्। घुमफिरमा रुचि राख्ने उनी करिब डेढ दशकअघि मुगुको गमगढी पुगेकी थिइन्। त्यो बेलासम्म मुगु सदरमुकाम गमगढी सडक सञ्जालले जोडिएको थिएन। कालीकोटको नाग्म बजारदेखि करिब पाँच घन्टा कच्ची बाटोको यात्रापछि मात्रै मुगु सदरमुकाम पुग्न सकिन्छ।

स्टेलिया डिटजेनले मुगुका गाउँहरूमा व्यापक अन्धविश्वास देखिन्। सुकिला लुगा लगाएर स्कुल जाने उमेरका बालबालिका भाइबहिनी हेर्ने र घरको काममै व्यस्त भएको देखिन्। गाउँघरका महिलामा शिशु मृत्युदर उच्च भएको सुनिन्। बच्चा जन्माउन नसकेर सयौं सुत्केरी अकालमा मर्छन्। भोक र गरिबीले ग्रामीण जीवनस्तर नराम्रोसँग पछाडि धकेलिएको थियो। स्टेलियालाई उनीहरूका लागि केही काम गर्नुपर्छ भन्ने लाग्यो। कलाकारिता छाडेर पूर्णतया समाज सेवामा आफूलाई अग्रसर बनाइन्। मुगु आउनुअघि पनि उनले भारतको बनारसमा अनाथ बालबालिकाका लागि काम गरिरहेकी थिइन्।

बाटो कोतरिरहेका भौतिक पूर्वाधारका संवाहकहरू डोजर, टिपर र एस्काभेटरहरूले कर्णालीमा विस्तारै विकास पस्दै छ भन्ने स्पष्ट सन्देश दिएका थिए।

मुगुको आत्मीयता बोकेर उनी जर्मन फर्किन्। ब्याक टु लाइफ नामक संस्था दर्ता गरिन्। कार्यक्रम गर्दै हिँडिन्, रकम जम्मा गरेर पुनः नेपाल फर्किइन्। त्यतिबेलासम्म ब्याक टु लाइफको टिम बनिसकेको थियो। त्यसयता यो टिमले चितवनको चेपाङ बस्ती, नुवाकोट र मुगुमा दाताबाट मागेरै विभिन्न काम गरिरहेको छ। जसअन्तर्गत मुगुका गाउँमा आधुनिक उपकरणसहितको प्रसूति गृह निर्माण, स्कुलहरूमा भवन निर्माण र बालबालिकाको स्वास्थ्य क्षेत्रमा काम गरिरहेको छ।

अप्रिल फस्टको दिन कर्णालीको यात्रा सुरु भएको थियो। बाटोभरि मगमग बास्ना आउने गरी डाँडैभरि गुराँस फुलिरहेको ठाउँ गुराँसेमा गाडी रोकियो। साँच्चि गुराँसको बास्नासँगै एक खालको माधुर्य फैलिएको थियो त्यहाँ। कर्णाली विकट र निरस मात्र छैन, एउटा सिंगो पहाड नै लालीगुराँसले राताम्मे बनेको थियो। यसले कर्णालीको सौन्दर्यलाई लपेटेको थियो।

यस्तो लाग्थ्यो, त्यहाँ जाने जोकोहीलाई दिलैदेखि स्वागत गर्न वनफूलहरू हाँसेर बसिरहन्छन्। कतै पहेंलपुर प्याउली फुलेका थिए त कतै काफल पाकेका थिए। सेता, राता, पहेंला, नीला वनफूल फुलेको दृश्य, लहरा, पहरा र झरनाको झंकारले यात्रा रमाइलो बनाएका छन्।

दहीखोला, राग्मघाट, खिड्की जुला, दहीखोला, सेरीघाट, पिली हुँदै कालीकोटको सदरमुकाम मान्म पुगियो तेस्रो दिन। मान्म बजारको सुन्दरता र त्यहाँ पाएको आतिथ्यताले मक्ख परेकी थिएँ। मान्मको सहिदचोकमाथि गएर पर हेर्दा कालीकोटको कोटदरबार देखिन्थ्यो। कोटदरबारले समग्र कालीकोटवासीलाई रक्षा गर्छ भन्ने जनमानसमा विश्वास रहेछ। कर्णालीको रक्षार्थ कनकासुन्दरी, लालपादेवी, विन्दवासिनी उग्रतारा, हिमालिनी त्रिपुरासुन्दरी आदि देवीहरू ठाउँठाउँमा आसन बनाएर उभिएका छन्। मस्टो धर्मावलम्बीहरू पनि त्यहाँ भेटिए। मस्टो संस्कृतिदेखि स्थानीय चालचलन हुँदै देवदेवीका वासस्थानले कर्णालीको पहिचान जोगाएर राखेको छ।

चट्टानी पहाड छिचोल्दा

जबजब काठमाडौंबाट परको दूरीमा पुगिन्थ्यो, अफ्ठ्यारा साँघुरा बाटाहरू पार गनुपथ्र्यो। विशाल भीमकाय चट्टानका पहाडहरू उभिएका थिए। तल बग्ने कर्णाली नदी, पहाडको बीचमा चट्टान खोपेर बनाइएको घुमाउरो सडक। प्रायः एक लाइनका बाटाहरू। विपरीत साइडबाट आउँदै गरेको सवारी साधनले चालकलाई होसियार बनाउँथ्यो। तर ज्यान हत्केलामै राखेर हिँड्नुपर्ने। मानिसले दुःखमा त्यसै भगवान् जप्दा रहेनछन्। साइड दिन मिल्ने ठाउँ खोज्नुपथ्र्यो। दुईतर्फी गाडी गुड्न कर्णाली हाइ वेमा असम्भव प्रायः थियो।

डरलाग्दो बाटो। सम्भवतः कर्णालीका अधिकांश बाटा यस्तै होलान्। यस्तै डरलाग्दा बाटामा यात्रा गर्ने स्थानीयहरू हरेक दिनको यात्रामा कसरी मुटुमाथि ढुंगा राखेर दैनिकी गुजार्दा हुन् ? आफैंमा यो प्रश्न अनुत्तरित नै छ। आफ्नो मनभित्रको डर अरूलाई सुनाउन पनि नहुने। घरिघरि कालोनीलो हुँदै सडक हेरिरहेकी थिएँ। ६८ वर्षीय धादिङका केशव अधिकारी जीवनका उकाला–ओराला अनुभव कर्णाली नदीको उखाडबखाडजस्तै बगाइरहेका थिए। सुगम संसारमा रुमलिएकी म भने उनको त्यो दुःखको नदीमा तैरिरहन सकिरहेकी थिइनँ, केवल उकुसमुकस जीवनमा सकस काटिरहें। अधिकारी बडो कुशलतापूर्वक स्टेरिङ घुमाउँदै थिए। यस्तो लाग्थ्यो, कर्णाली हाइ वेको प्रत्येक घुम्ती, मोड र पुलविनाका खोलाहरूमा उनका आँखा अभ्यस्त भइसकेका छन्। सायद उनको यो यात्राको अर्को नाम नै जिन्दगी हुनुपर्छ।

बाटोमा बीचबीचमा यसै बगिरहेका खोलाहरूमा पुल थिएन। खोलाका बीचबाटै गाडी गुडेर जानुपथ्र्यो। जब गाडी पानीमा पुग्थ्यो, मनमा एक किसिमको त्रास फैलिन्थ्यो, ‘कतै गाडी बगी पो हाल्ने हो कि ? ’ सानो गल्तीले पनि गाडी कर्णालीको भेलमा हेलिन सक्थ्यो। गाडीभित्र रहेका हामी सातजनाको जीवन कर्णालीको छालमा बिलाउन सक्थ्यो।

नेपाली सेनाका जवानहरूले उक्त बाटो विनाडोजर बनाएका हुन्। यो बाटोको निर्माण भएपछि मध्यपश्चिमका धेरै जिल्लामा यातायात पुगेको थियो। कणालीवासीले पहिलोपटक मोटर देख्ने मौका पाएका थिए। बाटोको सञ्चालनसँगै राजधानी काठमाडौंसँग जोडिएको हो– जुम्ला, मुगु, कालीकोट, दैलेख र जाजरकोटलगायतका जिल्ला।

पिलीमा झुकेको शिर

मान्मबाट केही घन्टाको यात्रापछि पुगिन्छ पिली बजार। पहाडको टुप्पोमा रहेको पिली पनि अलिअलि विकास पछ्याउन थालेको भेटियो। दुईचार घर र केही पसलले पिलीलाई बचाएका छन्। पिली आउनुअघि नै त्यहाँको आक्रमणबारे दाइले सुनाउनुभएको थियो। जहाँ २०६२ साउन २३ गते तत्कालीन जनयुद्धमा सामेल नेकपा माओवादी र सरकारी पक्षको भिडन्तमा परी ६२ जना नेपाली सेनाका जवान ज्यान गुमाउन बाध्य भएका थिए। सञ्चारमाध्यममा आएको अप्रमाणित खबरअनुसार केही मजदुर, रातमा निःशस्त्र सुतिरहेका सैनिक जवान र माओवादीका कार्यकर्ता गरी १०३ जनाको ज्यान गएको थियो। स्थानीय वासिन्दासँगको कुराकानीअनुसार धेरै जवान भागेर ज्यान जोगाउने क्रममा भीरबाट हाम्फाल्दा पहाडमा बजारिएर मर्न पुगेका थिए। गोली लागेर भन्दा भीरबाट खसेर मर्नेको संख्या धेरै थियो।

कर्णाली हाइ वे निर्माणरत रातदिन चट्टानमा बाटो खनिरहेका जोकोही भए पनि हत्या गरिनु कुनै पनि हिसाबले सही हुन सक्दैन। आखिर विकासका काम जसले गरे पनि त हुन्छ। हामीलाई चाहिएको विकसित, सुखी र समृद्ध नेपाल न हो। राम्रो कामको सुरुवात जहाँबाट गरे पनि हुन्छ।

पिली आक्रमणमा मारिएकाहरूको सम्झना गर्दै सरकारले एउटा सामान्य स्तम्भ बनाएको छ। उनीहरूका घरपरिवारले केकति राहत पाए ? आफन्त, जहान र छोराछोरी अहिले के गर्दैछन् ? कसरी चल्दैछन् यस्तै अनगिन्ती प्रश्न मनमा उब्जिइरहे। उनीहरूको सम्मानमा श्रद्धाले शिर झुक्यो।

जनयुद्धका नाममा हजारौं मान्छेहरू मारिएकोमा अच्युत दाइको भने आक्रोश थियो। विद्रोह र असन्तुष्टि जाहेर गर्न जनताको ज्यानै मार्ने काम कुनै तवरले पनि उचित नभएको टिप्पणी गर्नुभयो। जनयुद्धमा मारिएका सबै जनताप्रति सरकारले सम्मान गर्न नसकेको, उनीहरूको घरपरिवारको रेखदेख गर्नुपर्ने कर्तव्यबाट चुकेको र युद्धका नाममा मारिएकाहरूको योगदानलाई सरकारले बिर्सिएकोमा दुःखमनाउ गर्दै हामी अगाडि बढ्यौं।

पिलीको स्तम्भमा एकछिन सुस्ताएपछि चट्टानको बाटो माथि टायर गुडाउँदै हाम्रो यात्रा अगाडि बढेको थियो। केही घन्टामा जुम्ला र कालीकोटको संगमस्थल नाग्म बजार पुगियो। कर्णालीको माछा, स्याउको सुकेका चाना, लोकल सिमी, आलु, यार्सागुम्बा, स्थानीय भाङको अचार यहाँको प्रमुख विशेषता रहेछ।

विकास पस्दै छ कर्णालीमा

नाग्मबाट सुरु हुन्छ मुगु पुग्ने कच्ची बाटो। ढुंगैढुंगाको गड्याङगुडुङ बाटो पार गर्दै करिब चार घन्टाको यात्रामा जुम्लाको गोठीजुला पुगिन्छ। म्ूल सडकबाट अन्य ठाउँमा जाने सडकहरूको आकार देखिन्थ्यो जताततै। भनाइ नै छ– विकासको मेरुदण्ड भनेकै सडक हो। भनिन्छ, ‘सडकले विकासका सबै बाटा खोलिदिन्छ।’ सडक सञ्जालले विकासलाई स्वागत गर्छ। सम्भवतः कर्णालीका विकट गाउँ यसैको पखाइमा छन्। तर ढिलै भए पनि यहाँ विकास पस्दै रहेछ। बाटोको छेउछाउमा देखिएका बोर्डिङ स्कुल र कलेजका होर्डिङ बोर्डहरू, ठूलाठूला पसल तथा होलसेल सेन्टरहरू, मेडिकल तथा ठाउँठाउँमा उभिएका बिजुलीका पोलहरूले उन्नतिको संकेत गरेको देखिन्थ्यो। बाटो कोतरिरहेका भौतिक पूर्वाधारका संवाहकहरू डोजर, टिपर र एस्काभेटरहरूले कर्णालीमा विस्तारै विकास पस्दै छ भन्ने स्पष्ट सन्देश दिएका थिए।

गोठीजुलाबाट उकालो बाटो लागेपछि वरिपरिका गाउँ हरियै देखिन्छन्। सिजा उपत्यकामा लगाइने मार्सी धान, गहँु, स्थानीय आलु, सिमीका बिरुवाले मनमोहकता थपेको थियो। अन्य ठाउँको तुलनामा यहाँ कर्णालीको पानीलाई व्यवस्थित तरिकाले खेतमा सिँचाइ गर्न सक्ने बनाइएको थियो। बाटोको छेउछाउमा सेताम्मे फुलेका स्याउ, गुलाबी रङका आरू र आरूबखडाका फूलहरूले चट्टानी पहाडमा लालित्य मिसाएका थिए।

हिउँको पहाड उक्लिँदै गर्दा

गोठीजुलादेखि केही घन्टाको यात्रापछि चारैतिर हिउँका पहाड देख्न सकिन्छ। बाटोको छेउछाउमा हिउँका थुप्रो छरिएको छ। अस्ताउँदो घामको किरण हिउँमा पर्दा टलक्क टल्किएको थियो हिमाल। मनै लोभ्याउने हिउँका पहाड, जंगल र सेताम्मे चौर देख्दा थकाइ मेटिएको थियो। बुलबुलेमा सधैंजसो हिउँ थुप्रने रहेछ। खाली जग्गामा सेता तन्ना ओछ्याएर कोही बसिरहेको छ जस्तो लाग्थ्यो। गणेश हिमाल, छायानाथ हिमाल, मुर्माटप, चंखेली हिमालको सौन्दर्य फैलिएको थियो त्यहाँ।

बुलबुले चौरमा गाडी रोकियो। चार फिट जमेको हिउँमाथि हामी सातैजना हिउँकै होली खेल्न थाल्यौं। कसैलाई फोटो खिचाउने रहर, कसैलाई हिउँ खोतलेर खाने रहर, केही युवती कचौरामा हिउँ राखेर मरमुला मिसाउँदै थिए। हिउँ साँधेर खाने चलन पनि रहेछ त्यहाँ। हामीले सहरमा खाने आइसगोलाको असली स्वाद साँधेको हिउँमा पाइने रहेछ। हिउँमा यत्रतत्र उफ्रिरहेका थियौं हामी। गाडीभित्रको तातो र त्यहाँको असली चिसो सिरेटोको रफ्तार नमिल्दा मलाई सास फेर्न केही गाह्रो भयो। एकैछिनमा उकुसमुकुस भयो। टाउको झम्झमायो, कालैनीलै भए, बोल्ने आवाज नै आएन। दाइले गाडीमा गएर बस्न भन्नुभयो। अदुवाको टुक्रा मुखमा राखेपछि केही हल्का भयो।

केही मिनेटमै हिउँसँगको लुकामारीले अत्यायो मलाई। सधैंभरि हिउँ पर्ने ठाउँमा बस्ने वासिन्दाले कति सास्ती खेप्दा हुन् मनमनै आकलन गरें। घाँस बोकेर आउँदै गरेकी लालहिरा बुढाले भने, रूखो पहाडमा बस्ने हामीलाई हिउँले पनि दुःख दिइरहन्छ। हिउँले बाटो बन्द भएर महिनौंसम्म आवतजावत बन्द हुन्छ, बारीमा छरेका अनाज हिउँले खान्छ, हामी के खाएर बाँच्ने यो विकटमा ?

बुलबुलेको हिउँ छिचोल्दै दुई घन्टाको कच्ची बाटोको यात्रापछि ताल्चा विमानस्थल पुगियो। ताल्चामा हावाको वेग तीव्र हुने रहेछ। माटो र ढुंगाका ससाना कणसँगै तीव्र गतिमा हावा उडेको थियो। ताल्चाबाट निकै अफ्ठ्यारो ओरालो बाटो हुइकिँदै करिब आठ बजे मुगुको गमगढी पुगियो।

ओरालो परेको पाखामा गुजुमुज्ज परेको बस्ती। बाटो कहींकतै पनि पिच गरिएको थिएन। कच्ची बाटोमा बुङबुङ्ती उडेको धुलोले गाडीका सिसा नै छोपिदिन्थ्यो। बाटोका छेउछाउमा खच्चर, घोडाहरू भारी बोकेर कुदिरहेका। भर्खर–भर्खर बाटोले आकार लिएको मुगुमा खच्चरहरू नै असली ट्रक रहेछन्। ढुंगाले बनेका घरहरू। कहींकतै ढुंगाकै छानो हालिएको थियो। मोटामोटा ढुंगाकै गाह्रो, ससाना कोठा, प्रायः कर्णालीमा देखिने घरहरू यस्तै हुन्थे। ती घर बडो मेहनतले बनाइएका थिए। भनिन्छ– कला कुनै भूगोलमा सीमित हुँदैन। हामीले त्यही पायौं यो विकटमा पनि। ढुंगाका कलात्मक र आकर्षक शैलीमा चारपाँच तले घर हेर्दा उनीहरूको जीवन्त कलामा जोकोही मक्ख पर्छन् सायद। स्रोत ः अन्नपुर्ण पोष्ट ।

तपाईको प्रतिक्रिया