ढुंगा हान्नु लोकतान्त्रिक अधिकार हैन ः गृहमन्त्री


काठ्माडौं । गृहमन्त्री रामबहादुर थापाले नागरिकको नैसर्गिक अधिकार रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले गुठी विधेयकका प्रावधानमा असहमति राख्दै जेठ २६ गते माइतीघर मण्डलामा प्रदर्शनकारीले सार्वजनिक आवागमनलाई अवरोध गरेकाले प्रहरीले सामान्य बल प्रयोग गरेको बताए । ‘शान्ति पुर्ण रुपमा विरोध प्रदर्शन गर्न पाइन्छ,’ उनले भने, ‘तर सुरक्षाकर्मीलाई ढुंगा हान्ने, ईट्टा हान्ने र उनीहरुको मुखलाई क्षतविक्षत गर्ने अधिकारलाई हामी लोकतान्त्रिक अधिकार त भन्दैनौ ।’

सरकारले नागरिकको अधिकारलाई बरबर दमन गर्यो भन्ने भनाई गलत भएको उल्लेख गर्दै उनले शान्ति सुरक्षा कायम गरी सार्वजनिक यातायात निर्वाध चल्न दिने दायित्व राज्यले बहन गरेको सदनलाई जानकारी गराए । उनले घटनाको सरकारले नैतिक जिम्मेवारी लिने र घटनाबारे छानविन गर्ने बताए ।

मण्डलामा भएको प्रहरी दमनको विरोधमा प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्रीको जवाफ माग गर्दे सोमबारको संसद बैठक अवरुद्ध गरेको थियो । मंगलबारको बैठकमा गृहमन्त्री थापाले त्यसबारे सदनलाई स्पष्ट पारेका हुन् ।

तपाईको प्रतिक्रिया