खलंगाको विजुली भाडादर मासिक ८० रुपैया नै


जुम्ला ः जुम्लाको सदरमुकाम खलंगा स्थित चन्दननाथ नगरपालिकामा साना जलविद्युत उपभोक्ता समितिले विजुली बाले बापत प्रति महिना ८० रुपैया नै भाडा लिने जनाएको छ । यस अघि पनि प्रति महिना ८० रुपैया नै लिएको र अहिले डिजेल प्लान्टबाट विजुली बालिए पनि मासिक ८० रुपैया लिने उपभोक्तालाई जानकारी गराएको साना जलविद्युत उपभोक्ता समिति जुम्लाका अध्यक्ष विष्णुबहादुर महतले बताए । उनले भने भदौ २ गते कान्तिपुर र न्यूज टन्टीफोरमा प्रति युनिट सय रुपैया भाडा दरको प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएको छ । उनले भने हाम्रो कुनै पनि पदाधिकारी र कर्मचारीसँग जानकारी नै नलिई भ्रमपुर्ण समाचार प्रकाशन गरिएको हो ।
आम सर्वसाधारण उपभोक्तालाई प्रति यूनिट भाडा सय रुपैया भन्ने समाचार प्रति भ्रमित नहुन सोमबार प्रकाशित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । साना जलविद्युत आयोजनाको नयाँ जडान गरिएको मेसिन मर्मतको क्रममा भएकोले अर्काे व्यवस्था नहुन्जेलसम्म अर्थात ४५ दिनसम्म पुरानै भाडा दर प्रति महिना ८० रुपैया नै कायम हुने प्रेस विज्ञप्तीमा भनिएको छ । प्रतिनिधि सभा सांसद गजेन्द्रबहादुर महतको सक्रियतामा स्थानीय पुर्वाधार तथा साझेदारी कोषको अनुदानमा साउन २१ गते देखि डिजेल प्लान्ट संचालनमा आएको छ भने नेपाल विद्युत प्राधिकरणबाट प्राप्त भएको तीन सय केभी डिजेल प्लान्ट संचालनको क्रममा रहेको जनाएको छ ।
त्यसैगरी प्रति यूनिट सय रुपैयाको समाचार सञ्चार माध्याममा प्रकाशित भएपछि राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश, शाखा कार्यालय जुम्लाको ध्यानाकर्षण भएको जनाएको छ । शाखा प्रमुख रमेश कुमार थापाका अनुसार कातिन्तपुर दैनिक पत्रिकामा जुम्लामा विजुली यूनिटकै एक सय शिर्षक समाचार प्रकाशित भएपछि आयोगको ध्यानाकर्षण भएको हो । यस विषयमा साना जलविद्युत उपभोक्ता समिति जुम्लासँग पत्र मार्फत बुझ्दा उपभोक्तालाई भ्रमित पार्ने समाचार प्रकाशित भएको र यसमा कुनै पनि सत्यता नरहेको जानकारी आएको उनले बताए । महसुल बृद्धि सम्वन्धी अनाश्वयक हल्ला फैलाएको हो । पुरानै प्रति महिना ८० रुपैया विद्युत महशुल लिने व्यवस्था रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया