प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. थापा नियुक्त


जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको शिक्षाध्यक्षमा डा. निरेश थापा नियुक्त भएका छन् । २५ जेठदेखि शिक्षाध्यक्ष विहिन रहेको प्रतिष्ठानमा सात महिनापछि नयाँ नियुक्त गरिएको हो ।

तत्कालिन शिक्षाध्यक्ष धर्मराज श्रेष्ठको कार्यवधि सकिएपछि रिक्त रहेको पदको लागि कर्णाली प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज वाग्लेले तत्कालिन स्वास्थ्यमन्त्री उपेन्द्र यादव समक्ष तीनजनाको नाम सिफारिस गरेका थिए । यादवको मन्त्रालय परिवर्तन भएसँगै उक्त सिफारिस अलपत्र परेको थियो ।

स्वास्थ्यमन्त्रीमा भानुभक्त ढकाल नियुक्त भएपछि पुन तीनजनाको नाम सिफरिस गरिएकोमा थापा नियुक्त भएका हुन् ।

‘प्रतिष्ठान ऐन, २०६८ को दफा २१ को (१) बमोजिम सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसमक्ष शिक्षाध्यक्ष नियुक्तीका लागि सिफारिस भएकोमा बिहीबार डा. थापालाई रेक्टरमा नियुक्त गरिएको हो ।

थापा शिक्षामा नियुक्त भएसँगै कर्णालीवासी उत्साहित भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिष्ट्रार विश्वराज काफ्लेले कर्णालीका नागरिकलाई सहज, सुलभ र विश्वसनीय स्वास्थ्य सेवा दिएर मन जितेका डा. थापा रेक्टरमा नियुक्त हुँदा सहज भएको बताए ।

सैनामैना ६ रुपन्देही निवासी ४० वर्षीय डा.निरेश थापा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका एशोसियट प्रोफेसर हुन् । उनले सन् (२०१५–२०१९) चीनको ह्ुवान विश्वविद्यालयबाट गाईनोकोलोजी, अन्कोलोजीमा विद्यावारिधी गरेका छन् । विसं.२०७१/०७२ सालदेखि डा.थापा प्रतिष्ठानमा कार्यरत छन् ।

तपाईको प्रतिक्रिया