छोरा जन्मिए बाजागाजा, छोरी जन्मिए बेवास्ता


 

सागर परियार,
जुम्ला । कर्णालीमा विवाह भएको पहिलो गर्भमा छोरा जन्माउने महिला निकै भाग्यमानि मानिन्छन् । पहिलोपल्ट छोरी जन्मिँदा ठुस्स पर्ने मानसिकता कर्णालीमा अहिले पनि कायम छ । सामाजिक अन्धविश्वासका कारण कर्णालीका महिला छोरा जन्माउनैपर्ने बाध्यतामा छन् । तातोपानी गाउँपालिका २ की सरस्वती बुढाले जब पहिलो सन्तानको रूपमा छोरा जन्माइन्, परिवार र छिमेकीहरूले बाजागाजासहित स्वागत गरे । श्रीमान्लाई जहाँ भेटाए, त्यहि अबिर जात्रा पनि गरे । पहिलो सन्तान छोरा जन्माएकै खुसीमा गाउँले र आफन्तले भोज नै खाए । सबैको माया पाउन थालिन् ।

तातोपानी गाउँपालिका १ की विष्णु कठायतको जोडीले छोरा पाउने आशमा सात छोरी जन्माए । लगातार छोरी मात्र जन्मिएपछि यो परिवार निराश थियो । समाजमा छोरा नपाउने भन्दै कुरा समेत काट्न थाले । सासुससुराले छोरा जन्माउन समेत दबाब दिए । तर अन्ततः आठौं सन्तानमा छोरा जन्मियो । सात छोरी जन्मिँदासम्म सुनसान भएको विष्णु कठायतको घर आठौं सन्तानमा छोरा जन्मिँदा तामझामका साथ अबिरजात्रा गरियो । छोरा जन्मिएकोमा कठायत परिवारलाई बधाइ दिनेको लर्को थियो । त्यस्तै तातोपानी १ कै लग्नमाया दमाईले स्वास्थ्य चौकीमा पहिलो सन्तान छोरा जन्माउँदा निकै भव्य स्वागतका सात अबिर जात्रा गरि पञ्चेबाजा सहित घर लगियो ।

तर छेउमै घर भएका सम्झना दमाइले पहिलो सन्तान छोरी जन्माएका कारण कसैले वास्ता गरेनन् । सँगै घर भएकी लग्नमायालाई छोरा जन्माएको भन्दै अविर जात्रा पूरै तामझाम थियो । तर सम्झनाको घर पूरै सुनसान थियो । त्यो कुराले आफू डिप्रेसनमा परेको सम्झनाले सुनाईन् । नत राम्रो खानपिन छ, नत कसैले सोध्छन्, आजसम्म छोरा जन्माउने आशामा चार छोरी भइसके । अझै छोरा जन्माउने दबाबमा छन् सम्झना ।
त्यस्तै पातारासी गाउँपालिकाकी नानी रावतलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी गराउन ल्याइयो । छोरा हुने आशामा सयौको भेला थियो । जब छोरी पाएको खबर सुने, सबै आफ्नो बाटो लागे ।

अरु त गएको ठिकै थियो उनका श्रीमान्समेतले भर्खर भएकी सुत्केरी श्रीमती छाडेर हिँडे । १० दिनसम्म सम्पर्कमा नआएपछि प्रशासनले गाउँपालिकाको रोहवरमा सुत्केरी महिलालाई घरमा बुझाईयो । छोरी जन्मिँदा सुनसान, छोरा जन्मिँदा तामझाम गरेको देख्दा कर्णालीका स्वास्थ्यकर्मीहरु पनि दंग पर्छन् । माथि उल्लेखित घटनाहरू उदाहरण मात्रै हुन् । हरेक घरमा यस्तै घटना छन् । कर्णालीमा छोरीमाथि गर्भबाटै विभेद हुने गरेको छ । छोराले वंश धान्छ, बुढेशकालमा पालनपोषण गर्छ र छोरीहरू अर्काको घरमा गइहाल्छन् भन्ने सानो सोचाइका कारण परिवार र आफन्तले छोरी जन्मिँदा खुसीयाली मनाउँदैनन् ।

छोरा जन्मदा अबीरजात्रा गर्ने गरिएका कारण अधिकांश जोडीलाई छोरा नै जन्माउनुपर्ने मानसिक दवाव छ । छोरा पाउनैपर्ने दवावका कारण यहाँका महिलाहरू एक दर्जनसम्म सन्तान जन्माउन बाध्य छन् । यही कारण महिलाहरुको स्वास्थ्यमा समेत असर परेको छ । “छोरा नजन्मिए परिवारबाटै अपहेलना हुन्छ, छोराले मात्र वंश चलाउँछ भन्ने गलत मान्यता छ,” स्थानीय रामदेवि चनाराले भनिन् । यस विषयमा कुनै सरोकारवालाले पहलकदमी गर्न नसकेको प्रति उनको गुनासो छ .

छोराको आशमा घरभरी छोरी
तातोपानी गाउँपालिका २ जर्मी निवासी पञ्चकली चनारा ३५ वर्ष पुगिन् । १२ वर्षकै उमेरमा बिहे गरेकी उनले छोरा जन्माउनैपर्ने दबाबमा पाँच छोरी जन्माइन् भने दुई गर्भपतन गराए । अहिले पञ्चकली चनारा सबैकी हेला छन् । श्रीमान् समेत वास्ता गर्दैनन् । अहिले दोस्रो विवाह गर्छु भन्दै तनाव दिने गरेको उनले सुनाइन् । त्यस्तै, जुम्लाको तिला गाउँपालिका–३ फुयालवाडा निवासी पुसे नेपाली ६५ वर्ष पुगे । १४ वर्षको उमेरमा नै बिहे गरेका उनले छोरा जन्मने आशमा ११ छोरी जन्माए ।

तर पनि छोरा जन्मेनन् । घरको आर्थिक अवस्था कमजोर भएकाले ११ जना छोरीको पालनपोषण गर्न कठिन भयो । पालनपोषण नभएकै कारण हाल उनका तीन छोरीको मृत्यु भइसकेको छ । साथमा आठ छोरी भएका पुसे भन्छन्, “छोरा जन्माउने रहर थियो, त्यही रहरले धेरै छोरी जन्मिए । अहिले आएर पछुतो लागेको छ, धेरै सन्तान हुँदा पालनपोषणमा समस्या भयो । घरको आर्थिक अवस्था कमजोर छ । छोरीहरुको पढाइलेखामा समेत सकस छ ।”

छोरा नजन्माउँदा घर निकाला
जुम्लाको कनकासुन्दरी गाउँपालिका—६ लुड्कुकी झनमाया रोकायालाई उनका पतिले छोरा जन्माएको भन्दै घरबाट निकाले । लगातार ६ वटा छोरी मात्र जन्माएपछि उनलाई घरबाट निकालिएको हो । पति गंगाराम रोकायाले छोरा नजन्माएको भन्दै परिवारको दवावमा पत्नीलाई घरबाट निकालेका हुन् । सयौ महिला श्रीमान् र सासु ससुराको पिडा खेपेर बस्न बाध्य छन् ।

कर्णालीका अधिकांश महिला छोरा नजन्माएकै आरोपमा विभिन्न घरेलु हिंसा भोग्न बाध्य छन् । परिवारबाट निकालिने मात्र होइन, महिलामाथि कुटपिट नै हुने गरेको छ । “सामाजिक रुपमा महिला महिला बीच झगडा हुँदा अपुते छोरा जन्माउन नसक्ने जस्ता गाली गलौज गर्छन्,” स्थानीय पुल्ती दमाईले भनिन्, “समाजको गलत परम्पराले छोरा नजन्माउने महिलालाई सन्तोष तरिकाले बस्ने वातावरण छैन । अझ त्यति मात्र हैन, छोरा नजन्मेपछि दोस्रो विवाह गर्ने प्रचलन पनि धेरै छ । महिला नै महिला हिंसाका कारण समेत बनेका छन् ।”

गर्भ परीक्षण गरी भु्रुण हत्या
कर्णालीमा छोरीहरुको कर्मलाई एक अभागीका रुपमा चिनिन्छ । पछिलो समय गर्भ परीक्षण गरेर भ्रुणहत्या गर्नेक्रम बढेको छ । गर्भमा छोरा भए जन्माउने र छोरी भए गर्भ तुहाउनेको संख्या बढ्दो छ । शिक्षित व्यक्तिहरूले नै गर्भमा छोरी भए भु्रणहत्या गर्ने गरेका हुन् । तातोपानी २ की पञ्चकली चनाराले २ पटक छोरी भएको भन्दै भु्रण हत्या गरिन् । त्यस्तै, सम्झना दमाईले पनि दुई पटक भ्रुणहत्या गरिन् । सामाजिक अन्धविश्वासकै कारण कर्णालीका महिला गर्भबाटै हिसामा पर्न थालेका छन् ।

पछिल्लो समय जिल्लामा छोरीको संख्या घट्दै गएको छ । बालिका संरक्षणको क्षेत्रमा काम गर्दै आएका अधिकारकर्मीका अनुसार वीरेन्द्रनगर लगायतका सहरी क्षेत्रमा पनि छोरीको गर्भमै हत्या हुनेक्रम बढ्दो छ । लिंग पहिचान गरेर गर्भपतन गर्नु कानुनी अपराध भए पनि सहरी क्षेत्रमा नै यो समस्या विकराल बन्दै गएको हो ।

छोरी जन्माउनेलाई प्रोत्साहन
छोरा मोहका कारण छोरी जन्माउनेको संख्या घटेपछि स्थानीय र प्रदेश सरकारले छोरी जन्माउनेलाई विभिन्न प्रोत्साहनका कार्यक्रम ल्याएका छन् । यसका लागि कर्णाली प्रदेश सरकारले नै चालू आर्थिक वर्षबाटै छोरीको नाममा बैंक खाता खोल्न सुरु गरेको छ । प्रदेशका १० वटै जिल्लामा जन्मिने छोरीहरूको नाममा खाता खोलेर मासिक पाँच सय रुपैयाँका दरले २० वर्षसम्म जम्मा गर्ने काम शुरु गरेको छ ।

जुम्लाको पातारासी गाउँपालिकाले छोरी जन्मिनेलाई बैंक खाताको नीति ल्याएको छ । छोरी जन्मिनेवित्तिकै बैंकमा ३ हजार जम्मा गरी बैंक खाता खोल्ने नीति ल्याएको प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढ्थापाले बताए । छोरीको जन्मदर बढाउन पुरस्कारको व्यवस्था समेत गरिएको छ । यता हिमा गाउँपालिकामा एक बच्चा एक खाताको नीति अघि सारिएको छ । छोरा छोरी एक मात्र सन्तान जन्माउने परिवारलाई पनि बैंक खाता खोलिने कार्यक्रम रहेको प्रमुख प्रशासकिय अधिकृत टोप बहादुर बुढाले बताए ।

तपाईको प्रतिक्रिया