छाउपडी प्रथा हटाउन सद्भावना दुत नियुक्त


जुम्लामा छाउपडी प्रथा उन्मुलनका लागि सद्भावना दुत नियुक्त गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले सुरुवात गरेको छाउपडी विरुद्धको अभियान लाइ स्थानीय तहसम्म पुर्याउन सद्भावना दुत नियुक्त गरिएको हो । कुप्रथालाई हटाउन बस्तीबस्तीसम्म सन्देश पुर्याउन वडाध्यक्ष, धामीझाक्री शिक्षक, पत्रकार, महिला अगुवा लगायत सात जनालाई सद्भावना दुतका रुपमा नियुक्त गरिएको छ ।

छाउपडी उन्मुलन अभियानका सद्भावना दुतलाई मंगलबार प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले टिका लगाई नियुक्त गरेकी हुन् । सदभावना दुतमा नियुक्त भएका हिमा गाउँपालिका वडा ४ का वडाध्यक्ष मुनबहादुर बुढा, शिक्षिका शान्ति शाही, धामीझाक्री पुरबहादुर शाही, चक्र शाही, पत्रकार नेत्र शाही, महिला अगुवा दानकला शाही र बेलकोशा सार्की रहेका छन् ।

नियुक्त भएका सद्भावना दुतले छाउपडी प्रथा उन्मुलनका लागि स्थानीय सरकार, सुरक्षाकर्मी लगायतका सरोकारवाला निकायसँग समन्वय गरि घरदैलोमा पुगेर जनचेताना जगाउन भुमिका खेल्ने प्रजिअ दुर्गा बञ्जाडेले बताइन् ।

सद्भावना दुतका रुपमा नियुक्त भएका धामीझाक्री पुरबहादुर शाहीले महिनावारी भएका महिलालाई सरसफाईदेखि पोषणयुक्त खाना खान छोरी बुहारी सवैलाई सिकाउने बताए । उनले महिनावारी भएको अवस्थामा छुट्टै गोठमा बस्न नुहने भन्दै घरभित्र बस्न सकिने बताए ।

तपाईको प्रतिक्रिया