कुनै पनि बेला ढल्न सक्छ डिल्लीबजार कारागार


डिल्लीबजार चारखालस्थित कारागारलाई भिआइपी जेलका नामले पनि चिनिन्छ । पूर्वमन्त्रीहरू, प्रहरीकै पूर्वप्रमुखहरूलगायत धेरै जना उच्च पदस्थहरू पाहुना बनिसकेको डिल्लीबजार कारागारमा अहिले पनि पूर्वसभामुख कृष्णबहादुर महरा, निलम्बित सांसद रेशम चौधरी, डिबी कार्की, पूर्वआइजिपी रमेशचन्द ठकुरी, सशस्त्रका पूर्वडिआइजी रन्जन कोइरालासहित ६ सय ३२ जना कैदीबन्दी छन् ।

तर, भिआइपी कारागारका रूपमा चिनिएको डिल्लीबजार कारागारको भौतिक अवस्था भने दिनदिनै कमजोर बन्दै गएको छ । चार रोपनी क्षेत्रफलमा फैलिएको कारागार कुनै पनि बेला भत्किन सक्ने सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास विभागको इन्जिनियरिङ टोलीले बुझाएको प्रतिवेदनमा उल्लेख छ । गत भदौमा कारागारको निरीक्षण अध्ययन गरेको टोलीले अहिलेकै अवस्थामा भवन प्रयोग गर्न मिल्ने अवस्था नरहेको पनि प्रतिवेदनमा उल्लेख गरेको छ ।

सामान्य वर्षामा पनि भवन चुहिन र हावाहुरीमा भौतिक संरचना भत्किन थालेपछि कारागार व्यवस्थापनले मर्मतका लागि पटक–पटक पत्राचार गरिसकेको छ । तर त्यसको कुनै सुनुवाई भएको छैन । डिल्लीबजार कारागारले गत २८ साउनमै कारागार व्यवस्था विभाग र मन्त्रालयलाई पत्र पठाएको थियो । त्यसको कुनै सुनुवाई नभएपछि पुनः १ असोजमा दोस्रोपटक पत्र पठाएको थियो । तर त्यसको पनि सुनुवाई भएको छैन ।

वि.सं. १९६० मा बनेको डिल्लीबजार कारागार भवनले यसअवधिमा पटक–पटक ठुला भुकम्पहरूको धक्का ब्यहोरेको छ । १९९० को महाभुकम्पको धक्का थेगेको डिल्लीबजार कारागार भवनले २०४५ को भुकम्प खेपेको छ । त्यस्तै २०७२ को विनाशकारी भुकम्प पनि भोगेको छ । पटक–पटकका ठुला भुकम्पको धक्काले भवनलाई कमजोर बनाउँदै लगेको हो । जसका कारण अहिले सामान्य वर्षा र हावाहुरीमा पनि भवनका इँटा, भित्ताको प्लास्टर खस्छ ।

सामान्य वर्षा र हावाहुरी पनि थेग्न गाह्रो हुँदै गएको भवन कुनै पनि बेला भत्कन सक्ने सहरी विकास भवन विभागका इन्जिनियरिङ टोलीको प्रतिवेदनले कारागार व्यवस्थापनलाई झनै चिन्तित बनाएको छ । कारागारमा ठुलो संख्यामा कैदीबन्दी रहेकाले भवन भत्किएमा ठुलो मानवीय क्षति पुग्न सक्ने डरमा छन् उनीहरू । तर कारागार व्यवस्थापनको जिम्मा लिएको गृहमन्त्रालय र भवनको मर्मत सम्भारको जिम्मा लिएको सहरी विकास मन्त्रालय भने यस्तो गम्भीर विषयमा पनि मौन देखिएको छ ।

यसरी बन्यो भिआइपी कारागार
सर्वोच्च अदालतले ६ भदौ २०६९ कांग्रेस नेता एवं पूर्वगृहमन्त्री खुमबहादुर खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर ग¥यो । दोषी ठहर भएसँगै खड्का डेढ वर्षका लागि जेल चलान हुने भए । पूर्वगृहमन्त्री रहेकाले उनलाई इच्छाइएको कारागार पठाउने भन्दै जेल रोज्न लगाइयो । नख्खु कारागार टाढा रहेको र केन्द्रीय कारागार बढी भीडभाड भएको भन्दै उनले डिल्लीबजार कारागार रोजे ।

उपत्यका रहेका कारागारहरूमध्ये तुलनात्मक रूपमा कम कैदीबन्दी रहेको र कारागारलाई ब्लक ‘ए’ र ब्लक ‘बी’ दुई भागमा विभाजन गरिएकाले डिल्लीबजार कारागार अन्यको तुलनामा केही व्यवस्थित छ । यसैकारण पनि खड्कापछिका भिआइपीहरूको रोजाइमा पनि डिल्लीबजार कारागार नै पर्दै आएको छ । पूर्वमन्त्रीहरू जयप्रकाश गुप्ता, श्यामसुन्दर गुप्ता, चिरन्जीवी वाग्ले, पूर्वराज्यमन्त्री सञ्जयकुमार साह, पूर्वआइजिपीहरू ओमविक्रम राणा, हेमबहादुर गुरुङ, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेलगायत डिल्लीबजार कारागारका पाहुना बनिसकेका छन् ।

अधिकांश कारागार भवन जीर्ण
अहिले देशभरका ७४ कारागार भवनमा २५ हजारभन्दा बढी कैदीबन्दी छन् । भक्तपुर, धनुषा, नवलपरासी पूर्व र रुकुम पूर्वमा चाहिँ कारागार नै छैनन् । उपत्यकामा तुलनात्मक रूपमा धेरै क्षमता भएका नख्खु कारागार, केन्द्रीय कारागार (सुन्धारा) र डिल्लीबजार कारागार छन् । तर देशैभरका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् र अधिकांश कारागार भवन जीर्ण अवस्थामा छन् ।

कारागार व्यवस्था विभागका महानिर्देशक गजेन्द्रबहादुर श्रेष्ठले अधिकांश कारागार भवन पुराना भएकाले जीर्ण भएको बताए । उनले भने, ‘अधिकांश कारागार भवन जीर्ण मात्र छैनन्, क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कैदीबन्दीको व्यवस्थापनमा पनि निकै समस्या छ ।’

पाँचवटा ठुला जेल बनाइँदै
कारागार व्यवस्था विभागले नुवाकोटको पिपलटारमा सात हजार पाँच सय कैदी क्षमताको कारागारको निर्माण अन्तिम चरणमा पुगेको छ । यसैगरी दाङ, बाँके, चितवन र झापामा समेत ठुला क्षमताका कारागार निर्माणको प्रक्रियामा रहेका छन् । कारागार व्यवस्था विभागले ती कारागारहरू निर्माण सम्पन्न भएपछि मात्र कैदीको व्यवस्थापन सहज हुने जनाएको छ ।

https://www.nayapatrikadaily.com/news-details/35185/2020-02-01

 

तपाईको प्रतिक्रिया