कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरो सर्जरी सेवा सुरु


जुम्ला : पश्चिम क्षेत्रको सवै भन्दा ठुलो अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा न्युरो सर्जरी(नशा रोग शल्यक्रिया) सेवा सुरु हुने भएको छ ।
न्यूरो सर्जन चिकित्सक निलम खड्का प्रतिष्ठान गएसँगै नशा सम्बन्धी शल्यक्रिया सेवा सुरु हुने भएको हो । यसअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा एसोसिएट प्रोफेसर रहेका चिकित्सक खड्का शुक्रबारबाट प्रतिष्ठानमा आएसँगै सो सेवा सुरु भएको अस्पताल निर्देशक डाक्टर मंगल रावलले बताए ।
नशाको शल्यक्रिया गर्न अत्यावश्यक रहेको सिटी स्क्यान प्रतिष्ठानले एक वर्ष अगाडि नै सञ्चालनमा ल्याएको थियो । यहाँको भौगोलिक भु वनावट भिरालो भएकोले लोट्ने र जुम्ला सडक सञ्जालमा जोडिएसँग सवारी दुर्घटनाका कारण टाउको र नशामा चोटपटक लागेर धेरै बिरामी आउने भएता पनि न्यूरो सर्जरी सेवा उपलब्ध नहुँदा नेपालगञ्ज र काठमाडौं रेफर गर्नुपर्ने बाध्यता रहेको थियो ।
जुम्लामा न्युरो सर्जन पुगेसँगै अब टाउको र नशामा समस्या भएका यस क्षेत्रका बिरामीले उपचारका लागि बाहिर जानुपर्ने बाध्यता टरेको निर्देशक रावलले बताए ।
प्रतिष्ठानले यस अघि हाडजोर्नी तथा नसा रोग, जनरल सर्जरी स्त्री तथा प्रसुती रोग, मेडिसिन मानसिक रोग, बालरोग, आँखा रोग, दाँत रोग, आईसीयु एनआईसीयु रेडियोलोजी एनेस्थेसिया सेवा प्रदान गर्दै आएको छ ।
विशेषत जुम्ला, हुम्ला, कालिकोट, मुगु, डोल्पा, अछाम, जाजरकोट, बझाङ र बाजुरा जिल्लाको स्वास्थ्य सेवा प्रदान गर्न सरकारले ठूलो लगानीका साथ वि सं २०६८ मा जुम्लामा उक्त प्रतिष्ठान स्थापना गरेको थियो । प्रतिष्ठानले २०६९ कात्तिक २३ गते एक जना विशेषज्ञसहित पाँच जना चिकित्सक तत्कालीन कर्णाली अञ्चल अस्पताल जुम्ला पु¥याई सेवा सुरुवात गरिएको थियो ।

तपाईको प्रतिक्रिया