जुम्लाका २६ प्रतिशत बालबालिका खोपको पहुँच बाहिर


 


जुम्लाका १० हजार बालबालिकालाई खोप लगाइँदै

सागर परियार जुम्ला ।  सरकारले २०२३ सम्म पूर्णरूपमा दादुरा तथा रुबेला खोपमुक्त नेपाल बनाउने लक्ष्य लिएको छ । २०१९ मा नै दादुरा तथा रुबेलामुक्त नेपाल घोषणा गर्ने लक्ष्य लिए पनि सफल हुन सकेन । चेतनाको अभाव, खोप अभियान प्रभावकारी नभएकै कारण २०१९ को लक्ष्य सफल नभएको हो ।

पुनः २०२३ लाई लक्ष्य राखी हाल नेपालभरि दादुरा तथा रुबेलाविरुद्धको खोप अभियान २०७६ सुरु हुन लागेको छ ।
जुम्लामा आगामी चैत २ गतेबाट गाउँगाउँमा दादुरा तथा रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । दादुरा तथा रुबेलामुक्त नेपालका लागि नेपालभर ९५ प्रतिशत खोप पूरा भएको हुनुपर्नेछ । गत आवको तथ्यांकअनुसार जुम्लामा करिब २६ प्रतिशतमा दादुरा तथा रुबेला खोपको पहुँच पुगेको छैन ।

चैतबाट सञ्चालन हुने अभियानलाई प्रभावकारी बनाउने बारे बिहीबार जुम्लामा अन्तरक्रिया समेत गरिएको छ । कोही नछुट्ने, कोही नदोहोरिने गरी अभियानलाई गाउँगाउँसम्म पु(याइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम केसीले बताए । विगतमा छुटेकालाई विशेष प्राथमिकता दिएर खोप लगाइने छ । दादुरा रुबेला एक इन्फेक्सन भएकाले यसको निश्चित उपचार छैन । जसले गर्दा अनिवार्य रूपमा खोप लगाउन आवश्यक छ ।

१० हजार बालबालिका खोप लगाइँदै
आगामी चैत २ गतेबाट जुम्लामा खोप अभियान सुरु हँुदैछ । गरिबी, अशिक्षा, चेतनाको अभावमा दादुरा रुबेलाको खोप धेरै नलगाएको पाइन्छ । दादुरा रुबेलाको खोप नलगाएमा बालबालिकाको बौद्धिक विकास तथा सर्वाङ्गीण विकासमा बाधा पुग्ने भएको ग्रामीण क्षेत्रमा विशेष ध्यान पु(याएर अभियान चलाइने छ ।

राष्ट्रिय जनगणना २०६८ को तथ्यांकलाई आधार मानी वैज्ञानिक हिसाबले गरिएको गणनाअनुसार चालू आवमा जुम्लाका १० हजार बालबालिकालाई खोप लगाइने डाक्टर सुनिल पोखरेलले बताए । उनका अनुसार जुम्लामा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिका लगभग १० हजार रहेकाले घरघरमै पुगेर भए पनि खोप लगाइने लक्ष्य लिइएको छ । गरिब विपन्न समुदायका बालबालिकालाई प्राथमिकता दिएर खोप लगाइने छ ।

२६१ खोप केन्द्र निर्धारण
जुम्लाका आठै स्थानीय तहका बालबालिकालाई पाएक पर्ने गरी २ सय ६१ वटा खोप केन्द्र निर्धारण गरिएको छ । भौगोलिक हिसाबले खोप पाउनबाट कोही वञ्चित नहुन भन्ने लक्ष्यका साथ निर्धारण गरिएका खोप केन्द्रमा करिब ४ सय बढी जना स्वयंसेवक परिचालन गरिने जनस्वास्थ्य अधिकृत प्रेम केसीको भनाइ छ । चैत महिनाभित्र दुई चरणमा सञ्चालन हुने खोप अभियानलाई कर्णालीमै नमुना बनाउने गरी सरोकारवालाबीच साझेदारी गरिने भएको छ । खोप अभियानमा सहभागी हुने स्वयं सेवकलाई आवश्यक ज्ञानका लागि एक दिने तालिम दिइने छ ।

२०२३ सम्म पूर्ण दादुरा रुबेला खोपमुक्त नेपाल घोषणा गर्ने सरकारी लक्ष्य पूरा गर्नका लागि स्थानीय तह, प्रदेश र संघले ९५ प्रतिशत खोपको कभररेज भएको हुनुपर्नेछ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार दादुरा रुबेला खोप नलगाएकै कारण विश्वमा प्रतिदिन ३ सयको र वर्षमा ६० लाख बालबालिकाको मृत्यु हुने गरेको छ ।

तपाईको प्रतिक्रिया