कोरोना अपडेट ः जुम्ला भित्रिएका २३ सय बढीको स्वास्थ्य चेकजाँच


सागर परियार जुम्ला ।
दुईदिनको अवधिमा जुम्ला भित्रिएका करिब २३ सय जना बढीको स्वास्थ्य चेकजाँच गरिएको छ । विश्वव्यापारी माहामारीका रुपमा फैलिएको नोवल कोरोना भाईसर संक्रमण हुन नदिन जुम्लाका विभिन्न नाकामा हेल्थ डेस्क स्थापना गरी चेकजाँचलाई कडा पारिएको छ । चैत १० र ११ गतेको तथ्यांक अनुसार जुम्ला भित्रिएका २ हजार ३ सय ७७ जनाको स्वास्थ्य चेकजाँच गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन् ।
उनका अनुसार १० गते ११ सय ६८ जना र ११ गते १२ सय ९ जनाको गरी २३ सय ७७ जनाको स्वास्थ्य चेकजाँच भएको छ । जसमा जुम्ला विमान १० गते ८१ जना, जुम्ला मुगु र कालिकोट सिमा नाग्मघाट हेल्थडेस्कबाट दुई दिनगरी २१ सय ९४ जना, नाग्म गमगडी सडकको प्रबेशद्धार हिमा हेल्थडेस्कबाट ७५ जनाको स्वास्थ्य चेकजाँच भएको प्रजिअ बञ्जाडेले जानकारी दिईन् ।

जुम्लामा भित्रिने अधिंकाश भारतबाट आएका नागरिक रहेका छन् । सिंजा क्षेत्र लगायत जुम्लाका केहि गाउँमाहरुमा रातारात बिना स्वास्थ्य चेकजाँच गरेका व्यक्ति भित्रिएको कुरा बाहिरिएपछि नाग्म हेल्थडेस्कमा चेकजाँचलाई कडाई गरिएको छ । भने बाहिरबाट आउने हरेक नागरिकलाई अनिवार्य रुपमा नजिकको स्वास्थ्य चौकी वा हेल्थ डेस्कमा स्वास्थ्य परिक्षण गराउन जिल्ला प्रशासनले आग्रह गरेको छ ।

हाल सम्म चेकजाँच गरिएका कुनै पनि व्यक्तिमा कोरोना संग सम्बन्धीत कुनै पनि लक्षण फेला नपरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर धिरज गुरुङले जानकारी दिए । उनका अनुसार भित्रिने क्रम अझै जारी रहेको छ । दिउँसो ‘लगडाउन’ भएका कारण साँझ र विहान चेकजाँचमा निकै भिड हुने भएकाले अनिवार्य चेकजाँच गराएर मात्रै जिम्मेवार नागरिकको कर्तव्य पुरा गर्न समेत उहाँले आग्रह गरे ।

तपाईको प्रतिक्रिया