अस्पताल परिचालन समितिद्धारा क्वारेन्टाइन अनुगमन



जुम्ला ः कर्णाली प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा गठन गरेको अस्पताल परिचालन तथा समन्वय समिति जुम्लाका हरेक स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनको अनुगमन गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारी कार्यव्यस्तताका कारण आउन नसकेपछि जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीको नेतृत्वको टोलीले अनुगमन गरेको होे ।
चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवाल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले र चिकित्सकसहितको टोलीले तातोपानी गाउँपालिका लाम्रा, तिला गाउँपालिकाको रारालिहि, हिमा गाउँपालिका हेल्थ डेस्क, सिंजा गाउँपालिकाको सिंजा क्याम्पस र कनकासुन्दरी गाउँपालिकाको कोटघरमा रहेका क्वारेन्टाइनको अनुगमन गरेको हो ।
टोलीसँगै दुइ जना पब्लिक हेल्थ विज्ञ चिकित्सकले क्वारेन्टाइनमा राखिएको बेडको अवस्था, खानपिनका बिषयमा र आवश्यक स्वास्थ्य सामग्रीको जाँचबुझ गरेका थिए ।
प्रतिष्ठानका रजिष्टार काफ्लेका अनुसार क्वारेन्टाइन तथा हेल्थ डेस्कमा आवश्यक स्वास्थ्य सामग्री पीपीइ, थर्मल स्क्यानरलगायत अभाव देखिएकोले उपलव्ध गराउन अनुगमन पश्चात कर्णाली प्रदेश सरकारलाई सिफारिस गर्ने छ ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको समितिले जनाएको छ । क्वारेन्टाइनमा देखिएका समस्या स्थानीय सरकार समक्ष उजागार गर्दै कोराना भाइरसको संक्रमण फैलन नदिको लागि पैरवी प्रदान गर्दै आएको नगरप्रमुख तथा समितिका सदस्य कान्तिका सेजुवाले बताइन् ।
क्वारेन्टाइनको अवस्था पहिचान गरेर कर्णाली प्रदेश सरकारलाइ प्रतिबेदन पठाउँछौँ, जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले भने, जुम्ला उच्च सतर्कता अपनाइएको पाइयो । अहिले आत्ति हाल्नु पर्ने अवस्था छैन् । समितिले क्वारेन्टाइनमा रहेका व्यक्तिलाई कोराना संक्रमणको संकेत देखिने वित्तिकै प्रतिष्ठानमा आएर उपचार गराउन आग्रह गर्दै आइरहेका छौँ उनले भने ।
आइतबार बसेको अस्पताल परिचालन तथा समन्वय समितिको बैठकले जुम्लामा रहेका क्वारेन्टाइनको अनुगमन गर्ने निर्णय गरेको थियो । आन्तरिक मामिला तथा कानुनमन्त्री आउन नसकेपछि जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीको अध्यक्षतामा बैठक बसेको थियो । बैठक बस्नको लागि कानुनमन्त्री भण्डारीले स्वीकृति दिएका थिए ।
जुम्लाको तातोपानी ५०, तिलामा ५०, हिमामा ३०, सिँजामा ४० र कनकासुन्दरीमा २० बेडको निगरानी केन्द्र निर्माण भएका छन् । यता चन्दननाथ नगरपालिकामा ३०, गुठिचौरमा ६ र पातारासी गाउँपालिकामा ६ बेडको निगरानी केन्द्र बनाइएका छन् । भारतबाट आएका नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न अस्पताल परिचालन तथा समन्वय समितिले आग्रह गरेको छ ।
जुम्लाको एक नगरपालिका र सात वटा गाउँपालिकामा ८ वटा निर्माण गरिएका क्वारेन्टाइनमा ७१ जना बसेका छन् भने सेल्फ क्वारेन्टाइनमा ४६ जना बसेको जिल्ला प्रशासनले तथ्यांक सार्वजनिक गरेको छ ।
त्यसै गरी तीन हजार ८ सय ७९ जनाको हेल्थ डेस्कमा चेकजाँच गरिएका मध्ये ३ सय ७९ भारतबाट र १३ तेस्रो मुलुकबाट आएको जनाउको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रशासनको तथ्यांकमा उल्लेख गरिएको छ । जुम्लाबाट १५ जना विदेशी पर्यटकलाई फिर्ता पठाएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निर्माण गरिएको १ सय २० बेडको आइसोलेसनमा दुई जनाको उपचार भईरहेको छ । यहाँबाट चार जनाको स्वाव परीक्षणका लागि काठमाडौँ पठाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया