लकडाउन बीच मार्सीधानको बीउ राख्दै जुम्लाका किसान


सागर परियार । 

कोरोना भाइरसको संक्रमण फैलिन नदिन देश लकडाउनमा छ । हवाई सेवा देखि लामो तथा छोटो दुरीका सबै यातायात बन्द छन् । तर लकडाउनको प्रभाव जुम्लाको सदरमुकाम खलंगामा भए पनि गाउँतिर भने, छैन । चैत १२ गतेदेखि २० गते सम्म जुम्लामा मार्सीधानको विउ राख्ने, बेर्ना बनाउने काम चल्ने भएकाले किसान निकै बेस्त भए । सोहि अनुसार जुम्ली किसानले विहिबार आफ्नो कृषि क्यालेन्डर अनुसार धमाधम बीउ छरी ‘विसुवा पर्व’ मनाएका छन् ।

चैत २० गतेलाई जुम्लामा विसुँवा पर्वका रुपमा मनाउँछन् । चैत १२ गते कालिमार्सी धानको बीउ भिजाउने, १६ गते उतार्ने, १७ गते चिउरा कुट्ने र २० गते अनिवार्य बेर्नामा बिउ राख्ने चलन रहि आएको छ । कालिमार्सी धान उत्पादनका लागि चैत १२ देखि २० गते विउ राख्ने समय र जेठ असारमा रोपेर कार्तिमा काटुन्जेलको विधित परम्परालाई कृषि क्यालेण्ड मान्दै आएको स्थानीय जानकार व्यक्ति रमानन्द आर्चायले बताए ।
उनका अनुसार ‘चैत १२ गते घर नपुग्या जुम्ली मर्यो भनि ठान्नु’ भन्ने जुम्ली उखान छ । मार्सीधानको विउ भिजाउने दिन चैत १२ गते सम्म विभिन्न काम र रोजगारीको लागि जिल्ला बाहिर गएका व्यक्तिहरु अनिवार्य घर पुग्नै पर्ने चलन थियो ।

आचार्यले भने, ‘पहिले पहिले चैत १२ गते घर नपुग्नेहरुको किरिया गर्ने चलन नै थियो । यो चलन अहिले पनि कायमै छ । विडम्बना यसपाली विउराख्न भनि आएका जुम्लाका सयौ किसान केहि क्वारेन्टाईन्मा छन् ।

कोरोना भाइरस संक्रमणको त्रास भए पनि अधिकांश किसान लकडाउनको बेवास्ता गर्दै खेतमा गई विउ राखेका छन् । विसुवा पर्वमा जुम्लीहरुले कालिमार्सी धानको बीउ बेर्नामा राख्ने परम्परा भएको स्थानीय जानकार पूर्णसिंह कठायतले बताए । ‘विक्रम संवत ११९८ सालदेखि चन्दननाथ बाबा र लछालकृति पैकलाले कालिमार्सी धानको उत्पादन गरेको दिनको सम्झनामा विसुवा पर्व मनाउने चलन छ ।

आज खेत खोलाका कुनामा देउडा खेल्ने,खेतमा पाईने (सुईसा) टिप्ने चलन हुन्छ । जहाँ दुख साटासाटका साथै मार्सीधान सम्बन्धी गित समेत गाईन्छ ।
धान खेतीको चक्र चैत महिनाको १२ गतेबाट सुरु हुने र चैतमा बेर्नाका लागि बीउ राखी जेठ असारमा रोपिने कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए । ‘जिल्लाभरि एकै दिन छर्किने गरिन्छ, अर्थात चैत २० गते अनिवार्य रुपमा मार्सीको विउ राख्नु पर्छ, उनले भने, ‘ढिलो भए ६ महिने धानको चक्र नै बिग्रन्छ ।

वैज्ञानिक हिसाबले पनि आजको दिन बीउ बेर्नामा राख्नै पर्ने जुम्लाको विशेषता छ । जिल्लामा यो वर्ष २ हजार ८ सय हेक्टरमा धान खेती हुने लक्ष्य रहेको कृषि विकास कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया