सुरक्षित सामग्री नपाएको स्वास्थ्यकर्मीको गुनासो



जुम्ला ः विश्वभर फैलिदो कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाईमा प्रत्यक्ष रुपमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई राज्यले फ्रण्ड लाईनमा खटाएको छ । तर हेल्थ डेस्कदेखि क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मीले सुरक्षित स्वास्थ्य सामग्री पीपीइ बिना नै जोखिम मोलेर काम गर्नु परेपछि गुनासो गरेका हुन् ।
कतिपय स्थानीय तहले स्थानीय स्तरमा बनाएका प्लाष्टिकको पीपीइ बनाएर प्रयोग गरेपनि विश्व स्वास्थ्य संगठनले तोकेको पीपीइ भने अहिलेसम्म प्राप्त नभएको जुम्लाको प्रवेशद्धार नाग्म हेल्थ डेक्समा गत हप्ता चेकजाँच गर्दै आएका कुडारी स्वास्थ्य चौकीका इन्चार्ज हेल्थअसिस्टेन विजय रावलले बताए । उनले भने राज्यले यस कोरोना विरुद्धको माहामारीको अभियान स्वास्थ्यकर्मीलाई बाध्यकारी बनाएपनि सुरक्षित हुन स्वास्थ्य सामग्री नदिदा जोखिम नै छ ।
गत चैत १० गते जुम्लाको प्रबेशद्धार नाग्ममा हेल्थ डस्क स्थापना गरिएको हो । हेल्थ डेस्क स्थापना पछि पहिलो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको डा. कपिल अमागाईको नेतृत्वमा पाँच जना टोली खटाएको थियो । उनीहरुले हप्ता दिनसम्म जिल्ला बाहिरबाट आउने व्यक्तिको स्क्रिनिङ गरे । उनीहरुले पनि स्थानीय बनाएको प्लाष्टिकका पीपीइ प्रयोग गरेपनि विश्व स्वास्थ्य संगठनले तोकेको पीपीइ भने पाएनन् ।
पातारासी गाउँपालिका अहेब कृष्ण बुढा भन्छन् स्वास्थ्यकर्मी जोखिममै छन् । उनले भने स्थानीय स्तरमा काम गर्ने स्वास्थ्यकर्मीले न त थर्मल स्क्यानर पाएका छन् न त पीपीइ नै पाएका छन् । राज्यले स्वास्थ्यकर्मीलाई कोरोना विरुद्ध अग्रलाईनमा राख्यो तर सुरक्षित स्वास्थ्य सामग्री नै उपलव्ध नगराउदा जोखिमयुक्त काम गर्दै आएको उनको भनाइ छ ।
त्यसैगरी हेल्थ डेस्क स्थापना गरिएको दोस्रो साता तिला गाउँपालिका र हिमा गाउँपालिकाका स्वास्थ्यकर्मीलाई पीपीइ नै प्रयोग नगरी चेकजाँच गरे । अहिले चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिका स्वास्थ्यकर्मी पीपीइ विना नै हेल्थ डेक्समा बाहिर जिल्लामा आउने व्यक्तिहरुको काम गरिहेका छन् ।
जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले कोरोना विरुद्ध खटिएका स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षित स्वास्थ्य सामग्री हुनु पर्नेमा टिप्पणी गरे । उनले भने सुरक्षार्की र स्वास्थ्यकर्मी कोरोना विरुद्ध लडाइको अग्रपंतीमा छन् तर उनीहरुलाई नै सुरक्षित सामग्री छैन । गम्भीरतालाई मध्यनजर गर्दै राज्यले तत्काल फिल्डमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सुरक्षित स्वास्थ्य सामग्री उपलव्ध गराउन उनले माग गरेका छन् ।
तर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिष्ट्रार विश्वराज काफ्लेले हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीका लागि विशेषगरी थर्मल स्क्यानर, माक्स, गोलोप्स, स्यानिटाइजर आवश्यक हुने बताए । पीपीइ उपचारका लागि खटिएका चिकित्सक र आइसोलेसनमा खटाएका स्वास्थ्यकर्मीलाई पर्ने भएको उनले सुझाए ।
कोरोना परीक्षण पीसीआर उपकरण माग
भाइरस परीक्षण गर्ने मेसिन ‘पीसीआर’ आए जुम्लामै कोरोनाको परीक्षण गर्न सकिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । जुम्लास्थित शिक्षण अस्पतालमा ‘विएसएल–२’ ल्याब यसअघि नै स्थापना भएकाले कोरोना भाइरस परीक्षणमा समस्या नहुने प्रतिष्ठानले जनाएको छ ।
परीक्षणका लागि सरकारसँग मेसिन माग गरेको प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले बताए । ‘मेसिन जुम्ला पुगेको केही घण्टाभित्रै परीक्षण सुरु हुन्छ उनले भने, हामीसँग ल्याबमा काम गर्ने अनुभवी चिकित्सक र स्वास्थ्यकर्मी तयार छन् ।’ स्वाब संकलनमा पनि समस्या नभएकाले जुम्लामै कोरोना भाइरसको परीक्षण गर्नुपर्ने उनको भनाइ छ ।
चिकित्सकका अनुसार नाक र मुखबाट बिरामीको स्वाब संकलन गरिन्छ । स्वाब राख्नको लागि भीटीएम किट आवश्यक हुन्छ । डा. रावलले भने ल्याबमा काम गर्ने टेक्निसियनले पनि सजिलै स्वाब संकलन गर्न सकिन्छ । जुम्लामा संकलन गरेर सुर्खेत पठाउन कम्तीमा १४ घण्टा लाग्ने भएकाले समस्या भएको उनको भनाइ छ । जुम्लाका सबै स्थानीय तहका स्वास्थ्यचौकीमा अझै पनि स्वाब संकलन गर्ने किट पुगेका छैनन् । लकडाउनको अवस्थामा एक÷दुई जनाको स्वाव संकलन गर्न गाउँ जान पनि सम्भव नभएको चिकित्सकको भनाइ छ ।

तपाईको प्रतिक्रिया