जुम्लाको खलङ्गा बजारमा खानेपानीको समस्या


जुम्ला : कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सवै भन्दा पहिला साबुन पानीले राम्रोसँग हात धुने विधि चिकित्सकले सिकाएपनि जुम्लाको सदरमुकाम खलङ्गा बजारमा पाँच दिन देखि धारामा पानी आएको छैन । कर्णाली प्रदेशको बजेटमा ठिन्के उर्थु सडक खण्डमा सडक बनाउने क्रममा डोजरले पाईप काट्दा पानी आउन अवरोध भएको हो ।
स्थानीय लक्ष्मीकन्या बुढाका अनुसार अहिले मान्छेलाई धेरै पानी चाहिने हो तर धारामा पानी नआएको हप्ता दिन वित्यो । उनले भनिन् कोरोना भाइरस नियन्त्रण रोकथाम गर्न सावुन पानीले हात धुने, सरसफाई गर्न भन्ने छ तर धारामा पानी नै आउदैन ।
खलङ्गा खानेपानी उपभोक्ता समितिले संचालन गर्दै आएको खानेपानीको पाईप ठिन्के उर्थु सडक खन्ने क्रममा डोजर पाइप काटेपछि पानी धारामा नपाएको हो । समितिका महासचिव मीनबहादुर थापाका अनुसार विकास निर्माणका काम गर्दा खाने पानीका पाईपलाई ध्यान नदिदा समस्या भएको हो । यहाँका हजारौँ नागरिक खानेपानीबाट बञ्चित भएको हुने उनले भने ठेकेदार पक्षको निकै लापरबाही भएको देखिन्छ ।
धेरै दिनसम्म धारामा पानी नआएपछि समस्या भएको ठाउँ डिन्के सडक खण्डमा गएर ठेकेदार पक्षसँग छलफल गरी पछि खानेपानीका पाइप सोधभर्ना हुने गरी समितिले पाईप लिएर जोड्ने तयारी गरिएको छ । भोलिदेखि नियमित पानी आउने महासचिव थापाले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाका अनुसार खानेपानीको विषयमा ठेकेदार, खानेपानी उपभोक्ता समिति बीच छलफल भएको छ । अहिले पाइप काटिएको ठाउँमा जोडिएको खबर प्राप्त भएको छ । भोलिदेखि नियमित धारामा पानी आउने तयारी भएको उनले बताए ।

तपाईको प्रतिक्रिया