नेपालमा कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु, संक्रमितको संख्या चार सय ५३ पुग्यो


नेपालमा कोरोना भाइरस संक्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

यसअघि कोरोना संक्रमित सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक युवकको मृत्यु भएको थियो ।

उनका अनुसार पछिल्लोपटक नौजना संक्रमित थपिएका छन् । झापाका १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षीय पुरुष र रुपन्देहीका २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि बिहीबार बिहान झापाका १८ देखि ४६ वर्षका १५ जना पुरुष, धनकुटाका ३४ वर्षीय पुरुष र सुनसरीकी ५१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्ला संक्रमितसहित नेपालमा कोरोना संक्रमितको संख्या चार सय ५३ पुगेको छ ।

४९ जना निको भए 
टेकुमा उपचाररत चारजना कोरोना संक्रमित बिहीबार निको भएर घर फर्किएका छन् । प्रवक्ता देवकोटाका अनुसार २३ र २५ वर्षीया महिला तथा २७ र ३७ वर्षीय पुरुष नवाैँ दिनमा डिस्चार्ज भएका हुन् । योसँगै नेपालमा उपचारपछि निको भएर घर फर्किने संक्रमितको संख्या ४९ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट मात्रै तीन हजार चार सय १४ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट तीन हजार ६ सय २३ जनाको परीक्षण भएको छ । अहिलेसम्म पिसिआर विधिबाट ३८ हजार सात सय ३६ जनाको नमुना परीक्षण गरिएको देवकोटाले जानकारी दिए । आरडिटी विधिबाट भने ७८ हजार ६ सय ९५ जनाको नमुना परीक्षण गरिएको छ ।

https://www.nayapatrikadaily.com/news-details/43759/2020-05-21

तपाईको प्रतिक्रिया