जुम्लामा कोरोना भाइरसले मृत्युको आशंका गरिएको व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ


जुम्ला : हिमा गाउँपालिकाका – २ ओदी गाउँका ३८ बर्षीय एक व्यक्तिको मृत्यु भएपछि कोरोना भाइरसको संक्रमण आशंका गरिएको थियो । मृतकको पाँच जना घरपरिवारलाई ज्वरो आउने, कपाल दुख्ने भएपछि कोरोना संक्रमणको आशंका गरिएको हो ।
जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले भने “कोरोना भाइरसको संक्रमणको आशंकाले मृत्यु भएको जानकारी आएपछि स्वाब संकलन गरी ल्यायौँ ।” मृतकसहित दुई छोरी, एक छोरा र श्रीमतिको संकलन गरी ल्याएको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको पिसिआर उपकरणमा परीक्षण गर्दा पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।
मृतकको इतिहास बुझ्दा उनी घरबाट कतै बाहिर नगएको भएपछि गाउँमा भारतबाट आएका व्यक्तिहरु भएकाले कोरोना भाइरसको संक्रमणले मृत्यु भएको हो की भनेर आशंका गरिएको रहेछ । तर स्वाब परीक्षण गर्दा कोरोना भाइरसको कारणले नभएर आफ्नै कालगतिले मृत्युको पुष्टि भएको उनको भनाई छ ।
हिमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतन रावतका अनुसार कोरोना भाइरसको जस्ता लक्षण अत्यधिक मात्र ज्वरो र टाउको दुखेपछि आशंका गरिएको रहेछ । तर मृतकसहित उनका पाँच जना घरपरिवारकै स्वाब पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि कालगतिले नै निधन भएको पुष्टी भएको उनले बताए ।
लकडाउन अवधिभर जुम्लामा भारत तथा तेस्रो मुलुकबाट ११ हजार ३८८ जना नागरिक भित्रिएका छन् । यस मध्ये ४४ जना क्वारेन्टाइनमा बसेका छन् भने एक हजार २७७ जना १४ दिनपछि क्वारेन्टाइनबाट घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
एक हजार ६०७ जनाको आरटी पिसिआर र २७० जनाको आरडिटी परीक्षण गर्दा सवै जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

तपाईको प्रतिक्रिया