कर्णाली स्वास्थ्य प्रतिष्ठानद्वारा डेढ महिनामा १३ हजार बढीको कोरोना परीक्षण


जुम्ला–कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले डेढ महिनामा १३ हजार १५४ बढी कोरोना परीक्षण गरेको हो । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौंपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा भएको छ । मन्त्रालयले तेस्रो पटक सार्वजनिक गरेको रिपोर्टमा पनि जुम्ला कोरोना परीक्षण गर्नेमा दोस्रो स्थानमै रहेको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गत वैशाख २२ गतेदेखि कोरोना पिसिआर उपकरण सञ्चालनमा आएको प्रतिष्ठानका अस्पताल निर्देशक डा मंगल रावलले बताए । मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ५३ हजार ७७४ को पिसिआर भएको छ । त्यसपछि दोस्रो जुम्लामा १३ हजार १५४ को पिसिआर परीक्षणको तथ्यांक सार्वजनिक भएको उनले बताए ।
यसअघि मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा प्रतिष्ठान दोस्रो स्थानमै थियो । अहिले पनि दोस्रो स्थानमै रहेको छ । तेस्रो स्थानमा सुर्खेत प्रादेशिक अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा ११ हजार ६९५ को पिसिआर परीक्षण भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । त्यसैगरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले ९ हजार ५ सय ५५ जना, भेरी अस्पताल नेपालगज्जमा ८ हजार दुई सय जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ७ हजार ९७३ जना, सेती अस्पताल धनगढीमा ७ हजार ७४१ जना पिसिआर परीक्षण गरेको मन्त्रालयले जनाएको छ ।
देशभर २२ प्रयोगशालाबाट १ लाख ७६ हजार ५८१ को कोरोना जाँच भएको मन्त्रालले विवरण सार्वजनिक गरेको छ । प्रतिष्ठानले माथिल्लो कर्णालीका पाँच जिल्ला जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालिकोटमा परीक्षण गर्दै आएपनि पछिल्लो समयमा सुर्खेत, दैलेख, रुकुमपश्चिम जिल्लाका समेत परीक्षण गर्ने गरेको छ । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले भारतबाट आएका र शंकास्पद व्यक्तिको पिसिआर परीक्षण गरिएको बताए । उनकाअनुसार शनिबारसम्म १३ हजार १५४ जनाको परीक्षणमा ३७८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि पिसिआर मेसिनमा काम गर्ने दक्ष जनशक्तिका कारण परीक्षणमा सहज भएको छ । प्रतिष्ठानमा कार्यरत औषधि विज्ञानका चिकित्सक डा. विजय अर्यालयले पिसिआर मेसिनका बारेमा पहिल्यै अध्ययन गरेको र प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले चीनमा यसअघि नै उक्त मेसिनमा काम गरिरहेको हुनाले पनि परीक्षणमा सहज भएको रजिष्ट्रार काफ्लेले बताए ।
जुम्लामा अहिले कोरोना भाइरसको परीक्षणका लागि अत्याधुनिक ल्याबमा दुई चिकित्सकसहित प्रयोगशालाका चार प्राविधिक छन् । प्रयोगशालामा पिसिआर सञ्चालन हुनुअघि प्रयोगशाला प्रमुख विवेक पुनमगरले सुर्खेत प्रादेशिक अस्पतालमा गएर मेसिन सञ्चालनका लागि तालिमसमेत लिएका हुन् । रजिष्ट्रार काफ्लेले माथिल्लो कर्णालीमा परीक्षणको दायरा अझै बढाउने बताए । प्रतिष्ठानले कर्णाली प्रदेश सरकारको सहयोगमा हेलिकप्टर प्रयोग गरी हुम्ला, डोल्पा र मुगुमा स्वाब संकलन कार्य गर्ने गरेको छ । मेडिकल मार्चअन्तर्गत चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पनि ग्रामीण क्षेत्रमा खटिएको रजिष्ट्रार काफ्लेले बताए । जुम्लाका आठै स्थानीय तहमा एक महिनाका लागि १५ जना चिकित्सक परिचालन गरिएको छ ।
थप पढनुहोस: https://www.healthaawaj.com/karnali-provenance/19235/
Find us on Twitter: @healthaawaj | Facebook: HealthAawajOfficial

तपाईको प्रतिक्रिया