हिमा गाउँपालिकाका कर्मचारीद्धारा नाग्म गमगडी सडक मर्मत


सागर परियार । 
हिमा गाउँपालिकाका कर्मचारीले हिलाम्य तथा खाल्डाखुल्डी भएको नाग्म गमगडी सडकलाई मर्मत गरेका छन् । शुक्रबार प्रमुख प्रशासकिय अधिकृत टोप बहादुर बुढाको नेतृत्वमा गाउँपालिकामा कार्यरत सम्पुर्ण कर्मचारीले मुगु जाने सडक खण्डको खाल्डा पुर्ने तथा विग्रेको स्थानमा सम्याउने काम गरेका हुन् । निरन्तरको वर्षातले हिमाल्य र खाल्डाखुल्डी भई निकै सास्ती भईरहेको मुगु जाने बाटोलाई कर्मचारीले मर्मत गरेको प्रमुख प्रशासकिय अधिकृत टोप बहादुर बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“हरेक महिनाको एक दिन समुदायको विकासका लागि श्रमदान भन्ने हिमा गाउँपालिकाले नीति लिएको छ । सोहि अनुसार शुक्रबार पालिकामा कार्यरत ५५ जना कर्मचारीहरु मिलेर नाग्म गमगडी सडक खण्डको चिउडी राजारानी भएको पुल नजिकको ३० मिटर सडकमा (सोलिङ) हालेर खाल्डाखुल्डी पुरेर सडक मर्मत गरिएको हो ।”

त्यहाँ नजिक प्राय गाडी आधा एक घण्टा फसेर रोकिन्थे जाम हुन्थे, भने सर्वसाधारणलाई आवतजावत गर्न पनि समस्या हुनथ्यो, ठुला ठुला खाडल हिलोले गर्दा सास्ती पाएका सवारी तथा स्थानीयले भने अब सहज यात्रा गर्न पाउने भएको हुन् । पालिकाका ५५ जना कर्मचारी करिब ४ घण्टा श्रमदान गरी ३० मिटर सडकको (सोलिङ) गरेका हुन् । खाल्डामा ढुंगा भरेर ग्राभेल जस्तै बनाइएको छ । अघि पछि निकै गाडी बाईकहरु पनि अहिले सजिलै गुडेर आउन सक्ने भएका छन् ।

अत्याधिक हिलोका कारण सर्वसाधारणलाई समेत आवतजावतमा समस्या भएकाले सबै कर्मचारी मिलेर खाल्डाखुल्डीमा ढुंगा हालेर हिड्न सहज बनाइएको छ । भत्कीएको पर्खाल, ठुला ठुला ढुंगालाई साबेल घन प्रयोग गरेर फुटालेर समेत मर्मत गरिएको छ । सधै बजेट र योजनाको पछि लाग्नु भन्दा आम नागरिकको हितका लागि कर्मचारीले पनि सक्ने योगदान गर्नुपर्नेमा हिमा गाउँपालिकाका कर्मचारीहरु एकजुट भएका हुन् । यस्ता कार्यले अन्य कर्मचारीलाई समाज सुधार कार्यमा लाग्न उत्प्रेरित गर्ने प्रमुख प्रशासकिय अधिकृत बुढाले उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया