मकैको बीउ बेचेर मनग्गे आम्दानी


तम्घास । गुल्मीदरबार गाउँपालिका–३ राजा गुल्मीका भुषाल दम्पतीले मकैको बीउ बेचेर बर्से्नि राम्रो आम्दानी गर्दै आएका छन्। स्थानीय लक्ष्मीकुमार भुषाल र उनकी जीवनसाथीले स्थानीय मनकामना ६ जातको मकैको बीउ बिक्री गर्ने गरेका छन्। व्यावसायिक कृषिखेतीलाई लामो समयदेखि अंगाल्दै आएका उनीहरूले वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्छन्।

‘पोहोरसाल तीन क्विन्टल बीउ बिक्री गरिँयो’, लक्ष्मीकुमारले भने, ‘यस वर्ष ढाई क्विन्टल जति बिक्री गर्ने योजना छ।’ यस वर्ष बीउको मूल्यमा प्रतिकिलो तीन रुपैयाँ वृद्धि भएको उनले जानकारी गराए। गत वर्ष ५२ र यस वर्ष ५५ रुपैयाँ प्रतिकिलोमा बीउ बिक्री गरेको उनले बताए।

‘बीउ उत्पादन मात्र गर्नुपर्छ’, भुषाल भन्छन्, ‘बिक्रीको कुनै समस्या छैन। घरमै आएर लैजान्छन्।’ किसानका लागि उन्नत बीउविजन (केउबीके) कार्यक्रमले मकै छोडाउन मेसिनसमेत उपलब्ध गराएको उनले बताए। मेसिन पाएपछि काम छिटोछरितो हुने गरेको भुषालको भनाइ छ।

केउबीकेले मकैको बीउ सबै खरिद गर्ने समझदारी भएको उनले जानकारी गराए। यस वर्ष मकैको बीउ बिक्री गरेर करिब १५ हजार रुपैयाँ आम्दानी हुने उनको भनाइ छ। ‘यो सहायक काम मात्र हो’, उनले भने, ‘धेरैजसो त तरकारीखेतीमै व्यस्त हुन्छौं।’ लुम्बिनी सिड्स कम्पनी बुटवलले समेत बीउ खरिद गरिदिने बताएको उनले जानकारी गराए।

व्यावसायिक कृषिखेतीमा लागेर जीवनमा धेरै सन्तुष्टि मिलेको जीवनसंगिनी ४९ वर्षीय रुपा कुमारी भुषालले सुनाइन्। ‘२०६४ सालदेखि व्यावसायिक कृषिखेतीमा लागेका हौं’, उनले भनिन्, ‘बारीभरी टमाटर छन्। घरखर्च कटाएर वार्षिक चार÷पाँच लाख रुपैयाँ सजिलैसँग बचाउँछौं।’

तम्घास–बुटवल सडक छेउँमै घर भएकाले ढुवानी गर्नका लागि कुनै समस्या नभएको उनले बताइन्। ‘बुढाबुढी नै खेतीपातीमा लागेका छौँ’, उनले भनिन्, ‘छोराछोरीले पढ्दै छन्।’ कृषि कर्म गरेर कमाएको पैसाले यी जोडीले आफ्ना छोराछोरीलाई गाउँमै उदाहरण हुने गरी पढाएका छन्। जेठो छोरा प्रदीप भुषालले स्पेनमा होटल म्यानेजमेन्टबाट पीएचडी सकाएर हाल स्पेनमै जागिरे भइसकेका छन्। कान्छो छोरा प्रतापले अस्ट्रेलियामा आईटी पढ्दै छन् भने छोरी उषाले काठमाडौंमा पत्रकारिता विषयबाट स्नातकोत्तर सकाएर पत्रकारिता पेसा अगांलेकी छिन्।

‘छोराछोरीलाई राम्रोसँग पढाउन पाउँदा नै हामीले दुःख भुलेका छौं’, रुपाले भनिन्,‘बाँचुन्जेल व्यावसायिक कृषिखेती नै गरिरहने मन छ।’ मेहनत गर्नसके गाउँघरमै सोचेजस्तो आम्दानी गर्न सकिने उनीहरूको अनुभव छ। घरमा उत्पादन भएको उब्जनी बिक्री गर्न आफूलाई कुनै हिचकिटावट नलाग्ने गरेको उनीहरूले सुनाए। ‘धेरैजसो उत्पादन भएको चिज पनि बिक्री गर्न जाँदैनन्’, भुषाल भन्छिन्, ‘हामीलाई त्यस्तो लाग्दैन। काम गरेर कोही सानो हुँदैन।’

मेहनती किसानका रूपमा यी जोडीलाई सबैले चिन्नेसमेत गरेका छन्। जिल्ला कृषि विकास, पशु सेवा कार्यालय, फ्याक्टलगायत कार्यालयले समेत विभिन्न अनुदान दिएर भुषाल दम्पतीलाई हौसला प्रदान गर्दै आएका छन्। रोजगारीका लागि लक्ष्मीकुमारले भारतको कानपुरमा वर्षौं समय बिताएको स्मरण गर्दै उनले हिजोआज घरमै खुसी जीवन बिताउन सकिएको अनुभव समेत सुनाए। चार रोपनी क्षेत्रफल जग्गामा व्यावसायिक टमाटर र तरकारी खेती गरिरहेका छन्। मुख्य पेसा टमाटरखेती बनाए पनि उनीहरूले मकैको बीउ उत्पादन, दूध संकलन बिक्री र खुद्रा पसल समेत गर्दै आएका छन्।

व्यावसायिक रूपमा लागेका किसानलाई प्रोत्साहनका लागि गाउँपालिकाले विशेष सहयोग गर्ने गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिमाया पौड्यालले जानकारी गराइन्। ‘गाउँपालिकाभित्र कृषिक्षेत्रमा थुप्रै सम्भावना छन्’, उनले भनिन्, ‘सबै किसानको पहिचान गरेर उनीहरूलाई हौसला दिने काम गर्ने छौं।’ किसानले उत्पादन गरेको तरकारी, बीउविजनको बजारीकरणमा गाउँपालिकाले सहयोग गर्ने उनले जानकारी गराइन्।

अन्नपुर्ण पोष्टबाट साभार

तपाईको प्रतिक्रिया