डा. केसीको १९ औँ सत्याग्रह जुम्लाको बाबिरा मन्दिरमा सुरु


जुम्ला : चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसीले आफ्नो १९औँ सत्याग्रह जुम्लाबाट सुरु गरेका छन् । उनको जुम्लाको चन्दननाथ- ६ रानीचौरमा रहेको बाबिरा मन्दिरमा १९औँ सत्याग्रह सुरु भएको हाे ।

सत्याग्रहमा बस्नुअघि डा. केसीले नेपालीको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र वर्तमान सरकारको लुटतन्त्र, तानाशाहीतन्त्रविरुद्ध जुम्लाबाट १९औँ सत्याग्रह सुरु गरेको प्रतिक्रिया दिए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने उनको माग छ । यस्तै, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण कार्यलाई तत्काल अघि बढाउन उनले माग गरेका छन् ।

उनले १६औँ सत्याग्रह पनि जुम्लामा गरेका थिए । पहिलाको सत्याग्रहका वेला गरिएका सम्झौता अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू सत्याग्रह बस्न बाध्य भएको उनले बताए ।

तपाईको प्रतिक्रिया