जुम्लाका कोरोना संक्रमित स्वास्थ्यकर्मीलाई थप उपचारका लागि काठमाडौं रिफर


जुम्ला– जुम्लामा कार्यरत ४० वर्षीय एक स्वास्थ्यकर्मीलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका कोरोना संक्रमित स्वास्थ्यकर्मीलाई उपचार सम्भव नभएपछि काठमाडौँ रिफर गरिएको हो । जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाका अनुसार ती स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसोलेसनमा राखेर उपचार भैरहेको थियो ।

‘लामो समयसम्म निको भएन । उहाँमालक्षण पनि देखिएको थियो,’ उनले भने, ‘उनको स्वास्थ्यमा थप समस्या हुने देखिएपछि थप उपचारका लागि सोमबार बिहान हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको हो ।’ जुम्लामा हालसम्म जटिल प्रकृतिको संक्रमित भेटएको थिएन । त्यसैले अब कोरोना फैलदो अवस्थामा रहेकाले नागरिक सचेत हुनुपर्ने देवकोटाले बताए ।

शक्तिपीठमा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय जुम्लाले मठमन्दिर तथा शक्तिपीठहरुमा जमघट तथा भीडभाड हुन नदिका लागि निषेधाज्ञा जारी गरेको छ । जुम्लामा कोरोना संक्रमण फैलँदो अवस्थामा रहेकोले शक्तिपीठमा जमघट तथा भीडभाड नगर्न निषेधाज्ञा जारी गरेको हो । मठमन्दिर, शक्तिपिठ, गुम्बामा नित्य पुजाआजा बाहेक दर्शनका लागि मन्दिरमा गई जमघट तथा भिडभाड नगर्न सर्वसाधारणका लागि अर्काे सूचना सार्वजनिक नभएसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । ‘सबै नागरिकलाई आफ्नो घरमा मात्र पूजापाठ लगायतका गतिविधि सञ्चालन गर्न अनुरोध गरेका छौँ,’ उनले भने ।

यदि कसैले निषेधाज्ञाको अवज्ञा वा उल्लंघन गरेको पाइएमा संक्रमण ऐन–२०२० तथा स्थानीय प्रशासन ऐन–२०२८ बमोजिम कानूनी कारवाही गर्ने स्थानीय प्रशासनले चेतावनी दिएको छ । जुम्लामा हालसम्म ३ सय ८ जनालाई कोरोना संक्रमण देखिएको छ । जसमध्ये, ४९ जना सक्रिय संक्रमित छन् भने २ सय ५९ जनालाई निको भइसकेको छ ।

तपाईको प्रतिक्रिया