महिना दिनसम्म बेपत्ता व्यक्तिको न लास न शास !


जुम्ला ः चन्दननाथ नगरपालिका – ९ बयालकाटियाका २५ वर्षीय धन गिरी ट्याक्टर चालक हुन् । उनी सोही नगरपालिका – ५ कालेखोलीकी रेणु शाहीको लु ३ त ९६२२ नम्बरको ट्याक्टर चलाउदै आएका थिए ।
चालक गिरी गएको १५ असोजमा गुठीचौर गाउँपालिका – १ मुणिसाँघुका कर्ण बस्नेतको घरमा सामान छोडेर रित्तो ट्याक्टर ल्याएर जुम्लाको सदरमुकाम खलङ्गा फर्कने क्रममा सोही गाउँपालिका – ५ लामाकार भन्ने स्थानबाट बेपत्ता पारिएको हो ।
सोही वडाका विमल महत, द्धन्द्धबहादुर शाही, सागर गिरी र विनोद गरीले ट्याक्टर चालक धन गिरीलाई १५ असोज राती हातपात र ढुंगामुढा गरी बेपत्ता पारेको उनका दाई भैरे गिरीको आरोप छ । उनले भने महिना दिनसम्म नत भाईको लास भेटिएको नत शास नै । लामो समयसम्म घटनाको छानविन नहुनुमा पीडित पक्षले आपत्ति जनाएका छन् ।
घटनाको छानविन गरी दोषीमाथि कारवाही गर्न पीडितका आफन्तले माग गरेका छन् । पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा अपहरण तथा व्यक्ति बेपत्ता सम्वन्धी उजुरी दर्ता गरेको छ ।
घटनाको कसुरसँस सम्वन्धित जाहेरीमा उल्लेखित व्यक्तिहरुको कल डिटेलसमेत लिई बास्तविकता के कस्तो हो सो को जानकारी प्रष्ट पार्न माग गरेका छन् । चालक गिरीको अवस्था मृत्यु वा जिवित के कस्तो हो यथाशिघ्र छानविन गरी सोको यथार्त सार्वजनिक गर्न पनि माग गरेका छन् ।
उक्त घटनामा संलग्न रहेको आरोपमा गुठीचौर गाउँपालिका – ५ का विमल महत, द्धन्द्धबहादुर शाही, सागर गिरी र विनोद गिरीलाई नियन्त्रण लिएर अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक माधब प्रसाद काफ्लेले बताए । त्यसैगरी ट्याक्टर मालिक रेणु शाहीलाई पनि प्रहरी नियन्त्रण लिएर अनुसन्धान गरिरहेको छ । उनले भने प्रहरी निरन्तर घटनाको अनुसन्धानमा खटिएको छ । घटनाको प्रकृति अनुसार अनुसन्धान ढिलोचाँडो हुन्छ तर सत्य तथ्य पत्ता लाग्ने नै विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया