बविना हत्या प्रकरण : मुद्दा कमजोर पारिएको भन्दै पीडित पक्ष आन्दोलित 


हिमा गाउँपालिका– ३ मोफ्ला गाउँकी १६ वर्षीया बालिका बविना रोकाया हत्या आरोप मुद्दा कमजोर पारिएको भन्दै पीडित पक्ष आन्दोलित भएका छन् ।

पीडित पक्ष र प्रहरी, सशस्त्र प्रहरीबीच झडप हुँदा दुवै पक्ष घाइते भएका छन् । पीडित पक्षबाट घाइते हुनेमा खाम्बा रोकाया, हरिभक्त कठायत र सुबी कठायत गम्भीर घाइते भएका छन् ।

त्यसैगरी सशस्त्र प्रहरीका उदय खत्री र राजबहादुर रावत घाइते भएका छन् भने नेपाल प्रहरीका निदेश रोकाया घाइते भएका छन् । दुवै पक्षबाट घाइते भएकाहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला उपचार भइरहेको छ ।

प्रहरीले हरिभक्त कठायत र खाम्बा रोकायालाई नियन्त्रणमा लिएको छ । प्रहरीले भिड नियन्त्रण तथा तितरबितर पार्नका लागि लाठी चार्ज गर्नुका सार्थ अश्रुग्याससमेत प्रहार गरेको थियो ।

बालिका हत्या आरोपमा  हिमा गाउँपालिका– ३ मोफ्ला गाउँका १९ वर्षीय करबहादुर भण्डारी र ३७ वर्षीय रामचन्द्र डाँगीलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान सम्वन्धी मुद्दा चलाएको छ ।

मृतक बालिकाका आमाबाबु कोही पनि छैनन् । साइलाबाबु कर्ण रोकायाले संरक्षण गर्दै आएका थिए । तिनै बालिकामाथि भएको जघन्य घटना घटाएर सहजै रूपमा उम्काउन थालिएको पीडित पक्षको आरोप छ ।

प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार १९ असोज ०७७ को राति घरबाट बेपत्ता भएकी किशोरीको १ कात्तिकमा हिमा गाउँपालिका– १ पागरपालीस्थित हिमा नदीको छेउमा शव फेला परेको थियो ।

उनले भने, ‘नदीको तालमा किशोरीको शव खुट्टामाथि फर्केको र टाउको पानीमा थिग्रिएको अवस्थामा भेटिएको हो । पानीमाथि शव तैरनुपर्ने हो, तर घाँटीमा डोरी बाँधिएकोले टाउको पानीमा थिग्रिएर बसेकोले हत्या गरिएको आशंका छ ।’  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा १ कात्तिकमा पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टम गर्दा किशोरीको पेटमा तीन महिनाको बच्चा देखिएको थियो ।

काफ्लेले भने, ‘डिएनए र भिसेरा परीक्षणका लागि प्रहरी विज्ञान प्रयोगशाला काठमाडौं पठाएको छ ।’  प्रहरीले मेहनतपूर्वक घटना अनुसन्धान गरी मुद्दा अगाडि बढाएकाले पीडित पक्षलाई कुनै शंका नगर्न सुझाएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।

तपाईको प्रतिक्रिया