सिमावर्ती क्षेत्र नाग्म बजारमा अपराध नियन्त्रण सचेतना


सागर परियार ।

माथिल्लो कर्णालीका तीन जिल्लाको सिमावर्ती क्षेत्र नाग्म बजारमा पहिलो पटक अन्तर जिल्ला अपराध न्युनिकरण सचेतना कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाको आयोजनामा कालिकोट, मुगु र जुम्लाको सिमावर्ती क्षेत्र नाग्म बजारमा शनिवार रयाली सहित सचेतना कार्यक्रम गरिएको हो ।

तीन जिल्ला प्रबेशको मध्यविन्दु नाग्म बजारमा सयौ स्थानीय व्यापारी,यूवाको सहभागिता र जुम्लाका प्रजिअ भुपेन्द्र थापाको नेतृत्वमा बजारभरी अपराध न्युनिकरण सम्बन्धी रयाली निकालिएको थियो । अपराधिक गतिविधिको प्रबेशविन्दु भनेकै सिमा क्षेत्र भएकाले बेला बेला सचेतनामुलक कार्यक्रम गर्नुपर्ने स्थानीयको जोड छ ।

कर्णालीमा सडकको विकास संगै अपराधिक गतिविधिहरु पनि ह्वात्तै बढेकाले सिमावर्ती बजारमा सचेतना कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“व्यापार गर्ने सिलसिलामा,रोजगारीको खोजीमा सिमा प्रबेश गर्ने व्यक्ति अपराधिक प्रबृत्तिका हुनसक्छन् । लागु औषध पनि भित्राउन सक्ने भएकाले प्रहरीले चेकजाँचमा कडाई गर्नु पर्ने र व्यापारीहरु पनि सचेत बन्नु पर्ने देखिन्छ ।”
जुम्ला, कालिकोट र मुगुमा सडकको विकास संगै सहरीकरण पनि बढेको छ । भने संगै लागु औषध दुव्र्यसनी पनि बढ्दै छ । हत्या हिंसा,बलात्कार, चेलिबेटी बेचबिखन, चोरी शिकारी जस्ता गतिविधि बढेका छन् । जसका कारण समाजमा शान्ती सुरक्षा कायम बाधा पुगेको प्रजिअ थापाको भनाई छ ।

उहाँले भन्नुभयो, “अपराध हुन्छ त्यहा शान्ती सुरक्षाको महसुश हुदैन् । त्यसैले शान्ती सुरक्षा, सुशासन कायम गर्न अपराध न्युनिकरण आबशयक छ । सडकको विकास र बद्ददो सहरीकरणले अपराधका घटना बढेका छन् । विभिन्न अपराधबाट समाजलाई जोगाउन सबै पक्ष सचेत हुन जरुरी छ ।”

समाजलाई सभ्य र सुसुचित बनाउन अपराधिक गतिविधिले बाधा पुराएको उहाँको भनाई छ । गाउँमा व्यापारका नाममा पनि अपराधि प्रबृत्तिका मान्छे आउने भएकाले सचेत हुन आग्रह गर्नुभयो ।

हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले सडक संजालको विकास संगै अपराधिक गतिविधि बढिरहेको अबस्था समय सान्दर्भिक सचेतना कार्यक्रम भएको बताउनुभयो । हत्या बलात्कार,घरेलु हिंसा,लागू औषध दुव्र्यसनि,लागू औषध ओसार पोसार बढेकोले सुरक्षा सतर्कता बढाउनु पर्नेमा जोड दिनुभयो । सिमावर्ति क्षेत्रमा अपराध न्युनिकरण गर्न स्वयम व्यापारीहरु पनि जिम्मेवार हुनु पर्ने तर्क गर्नुभयो ।

तीन जिल्लाको प्रबेशद्धार नाग्म बजारमा तीनै जिल्लाको समन्वयमा सुरक्षा व्यवस्थाप कडाई गर्ने,बेला बेला सचेतनाका कार्यक्रम गरेको खण्डमा अपराध न्युनिकरण हुदै जाने तिलागुफा नगरपालिका १ का वडाध्यक्ष दल बहादुर कटुवालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया