भगवान् भरोसे विमानस्थल


१६ माघ २०७४

धनगढी ः कञ्चनपुर भीमदत्त नगरपालिका(१८ की गर्भवती सरिता भण्डारी (सिंह) स्वास्थ्य जाँचका लागि काठमाडौं जाने भन्दै नेपाल एयरलाइन्सको विमान समात्न आइतबार दिउँसो १ बजे धनगढी विमानस्थल पुगिन्। काठमाडौंबाट एकै छिनमा उड्छ भन्दाभन्दै उनले तीन बजेर २५ मिनेटमा विमान उडेको खबर पाइन्। दुई दिनदेखि रद्द भइरहेको जहाज उड्यो भनेपछि जान पाइने भयो भनेर ढुक्क भएकी सरिताले सात वर्षकी छोरी घरमा एक्लै भएको भन्दै विमानस्थलसम्म पुगाउन आएका श्रीमान् तेजबहादुर सिंहलाई घर फर्काइदिइन्।

एक घण्टापछि विमान अवतरण हुन नसकेर नेपालगन्ज फर्किएको खबर पाएपछि उनलाई अवाक् भइन्। ‘जहाज उड्यो भनेर कर्मचारीले भनेपछि श्रीमान्लाई फिर्ता पठाइदिएँ, अब के गर्ने होला, साँझ पर्दै छ’, धनगढी विमानस्थलमा अत्तालिँदै उनले भनिन्, ‘अब घर कसरी जाने होला ? ’

उनी मात्रै होइन, चार वर्षपछि कतारबाट स्वदेश फर्किरहेका श्रीमान् नरेन्द्रकुमार श्रेष्ठलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमै स्वागत गरेर स्वास्थ्य जाँच गराएर फर्किने योजनाका साथ धनगढी विमानस्थल पुगेकी भीमदत्त नगरपालिका(६ ऐंठपुरकी अर्की महिला शारदा बडुवाल श्रेष्ठको योजना पनि अधुरै रह्यो। दुवै जना ट्याक्सी गरेर आइतबार बेलुकी महेन्द्रनगर फर्किए।

काठमाडौंबाट सुदूरपश्चिमकै पाइलट गोपालसिंह विष्टले उडाएको नेपाल एयरलाइन्सको विमान हुस्सु फेरि लागेकाले धनगढी विमानस्थलमा बस्न नसकेर नेपालगन्ज ‘डाइभर्ट’ भएपछि यात्रुको यस्तो बिचल्ली भएको हो। ‘दिउँसो तीन बजेतिर विमानस्थल खुलेको थियो, हामीले एयरलाइन्सलाई त्यसको जानकारी पनि गरायौं, काठमाडौंबाट धनगढी सवा घण्टाको हवाई यात्रा भएकाले फेरि हुस्सु आएर विमान फर्किनुपरेको हो’, धनगढी विमानस्थलका प्रमुख छविसिंह ठकुल्लाले भने।

नेपाल एयरलाइन्सको जहाज मात्रै होइन, बुद्ध एयरको विमान पनि आइतबार बेलुकी अवतरण त भयो। तर ‘भिजिबिलिटी’ नपुगेको भन्दै उडान गर्न सकेन। ‘विमानस्थल खुल्यो भनेपछि धनगढीका लागि जहाज उडायौं, तर बाटोमै छँदा फेरि हुस्सुले मौसम खराब भएछ, आइतबार राति जहाज धनगढीमै राख्नुप¥यो’, बुद्ध एयरका उडान सञ्चालन प्रबन्धक सुवर्ण खरेलले भने।

नेपाल एयरलाइन्सको विमान डाइभर्ट भए पनि त्यसको १५ मिनेटअघि धनगढी विमानस्थलमा अवतरण भएको बुद्धको विमान उड्न नसकेपछि दिउँसो एक बजेदेखि विमानस्थलमा प्रतीक्षा बसिरहेका ७० जना यात्रु बेलुकी फर्किएका थिए। ‘मेरो सोमबार युनिलिभरसँगको महŒवपूर्ण व्यापारिक बैठक छुट्यो, सोमबार पनि त्यही विमान उड्छ भनेर आठ बजेदेखि विमानस्थलमा कुरिरहेको छु’, युनिलिभरका सुदूरपश्चिमका आधिकारिक बिक्रेता देवेन्द्र हमालले भने, ‘आज (सोमबार) पनि कति बेला उड्ने हो टुंगो छैन।

मौसम खराबीका कारण विमानस्थलमा विमान अवतरणमा समस्या हुने गरेको छ। अवतरण गरेका पनि समयमै उड्न पाउँदैनन्।

हमाल मात्रै होइन, आइतबार बेलुकी बुद्ध एयरको विमान उड्न नसकेपछि कञ्चनपुर १ बाट प्रदेशसभा सदस्य तरालामा तामाङले पनि सोमबारको राष्ट्रिय सहकारी महासंघ लिको आफ्नो कार्यक्रम छुटेको बताए। उनी पनि सोमबार दिउँसोसम्म बुद्धको विमान उड्ने प्रतीक्षामा धनगढी विमानस्थलमा कुरिरहेका थिए।

धनगढी विमानस्थलमा अहिले तीनवटा उडान भइरहेका छन्। यसअघि आइतबार श्री एयरको उडान पनि रद्द गरिएको थियो। विमानस्थलको जग्गा समयमै अधिग्रहण नभएकाले पनि हरेक हिउँदमा यस्तो समस्या आउने गरेको विमानस्थल प्रमुख छविसिंह ठकुल्लाले जानकारी दिए। ‘अहिले धनगढी विमानस्थलमा उडान सहायताका लागि कुनै उपकरण जडान भएका छैनन्। नागरिक उड्डयन प्राधिकरणले दुई वर्षदेखि जडानको प्रयास गरिरहेको भीओररडीएमई उपकरण जडानका लागि पनि समस्या भएको छ’, उनले भने।

भीओरले जहाजलाई एयरपोर्टको दिशानिर्देश गर्छ भने डीएमईले जहाजदेखि विमानस्थलसम्मको दूरी देखाउने गरेकाले पनि कम ‘भिजिबिलिटी’मा पनि जहाज अवतरण र उडान गर्न सकिने ठकुल्लाले बताए। ‘अहिले ‘भिजिबिलिटि’ अथवा पाँच किलोमिटर टाढासम्म आँखाले देखियो र आकाशमा नीलोपन देखियो भने मात्रै हामीले विमानस्थल खुलेको घोषणा गर्छौं’, उनले भने, ‘भीओररडीएमई उपकरण जडान भयो भने १५ सयदेखि १६ मिटरसम्ममा जहाज उठाउन र अवतरण गर्न सकिन्छ।’

नागरिक उड्डयन प्राधिकरण र जापान सहयोग नियोक (जाइका)बीच धनगढी विमानस्थलमा भिओररडीएमई उपकरण जडानको सम्झौता भइसकेको छ। जाइकाले आवश्यक जग्गा उपलब्ध गराउन धेरै पटक प्राधिकरणलाई अनुरोध पनि गरिसकेको छ। प्राधिकरणले पनि जग्गा अधिग्रहणका लागि २४ करोड रकम पठाइसकेको छ। तर ८९ जना जग्गाधनीमध्ये यादवप्रसाद जोशी र जयबहादुर भण्डारीले मुआब्जामा चित्त नबुझेको भन्दै रकम लिन नमानेपछि अहिले उपकरण जडानको काम अलपत्र परेको हो।

८९ जनाको १७ बिघा ३ कट्ठा जग्गामध्ये दुईजनाको ११ कट्ठाबाहेक सबैले मुआब्जा बुझ्ने सहमति गरिसकेका छन्। ‘दुई जनाले उजुरी हालेकाले जग्गा अधिग्रहणमा समस्या भएको छ’, जिल्ला प्रशासन कार्यालय कैलालीका नायव सुब्बा राममूर्ति सिंहले भने।

तपाईको प्रतिक्रिया