कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर अस्तव्यस्त


विश्वराज पछल्डङ्ग्या

सुर्खेत ः कर्णाली बाहेकका ६ वटै प्रदेशमा प्रदेशको नाम र राजधानीको विषय चर्चामा छ । कतिपय सहरमा प्रदेश राजधानीका लागि आन्दोलन पनि भइरहेका छन् । तर, वीरेन्द्रनगर भने कर्र्णाली प्रदेशको राजधानी भएपछि अस्तव्यस्त बन्दै गएको छ ।

राजधानी तोकिएसँगै मान्छेको चाप बढ्न थालेको छ । जग्गा प्लटिङ, खाली ठाउँमा अतिक्रमण र राजमार्गछेउछाउमा अव्यवस्थित रूपमा घर निर्माण हुन थालेका छन् । ‘ग्रिन क्षेत्रका लागि छुट्याएको क्षेत्र अतिक्रमण भएको छ ।

रत्न राजमार्गको तल्लो भागमा अव्यवस्थित बस्ती बसेर वीरेन्द्रनगरलाई कुरूप बनाउने काम जान्ने, बुझ्नेबाटै हुन थालेको छ,’ मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका प्राध्यापक युवराज शर्माले भने ।

यस्तो थियो वीरेन्द्रनगरको सुरुवात
५० वर्षअघि अहिलेको वीरेन्द्रनगरको नाम चौहानचौर थियो । पातलो बस्ती रहेको यस क्षेत्रमा औलो लाग्ने भएकाले पहाडबाट आएका बासिन्दा बस्दैनथे ।

०२३ मा औलो उन्मूलन भएसँगै पहाडबाट बसाइँसराइ सुरुवात भएको प्राध्यापक पीताम्बर ढकालले बताए ।

‘सुर्खेत उपत्यका र वीरेन्द्रनगर क्षेत्रमा थारू समुदायको बसोबास छँदै थियो, त्यसपछि अरू पनि आउन थाले,’ प्रा.ढकालले भने ।

बसाइँसराइ गरेर यहाँको जनसंख्या ह्वात्तै बढेको उनको भनाइ छ । स–साना झुपडी मात्रै भएको चौहानचौरमा ठूल्ठूला घर बन्न थाले । खेतीयोग्य जमिन अतिक्रमण हुनथाल्यो ।

‘अव्यवस्थित र अस्तव्यस्त बन्न थालेपछि राजा वीरेन्द्रबाट व्यवस्थित गर्न र गुरुयोजना बनाएर बस्ती बसाल्न हुकुम भयो,’ प्रा.ढकाल सम्झन्छन् ।

राजा वीरेन्द्रको आदेशपछि माधवभक्त माथेमाको नेतृत्वमा गुरुयोजना बनाउन र व्यवस्थित बस्ती विकास गर्न सुरु भयो ।

०२९ मा चौहानचौरको नाम बदलेर राजाकै नामबाट वीरेन्द्रनगर राखियो । गुरुयोजना तयार पारेर वीरेन्द्रनगरलाई व्यवस्थित बनाउने काम गरिएको प्रा. ढकालले बताए ।

उनका अनुसार, त्यतिबेला अव्यवस्थित रूपमा निर्माण गरिएका घर हटाइएको थियो । आवास, सरकारी कार्यालय, शैक्षिक संस्था, बजार, उद्योगधन्दा, खेल, उद्यान र कृषि क्षेत्रका लागि अलग–अलग व्यवस्था मिलाइएको थियो ।

‘सरकारी कार्यालयका लागि मात्रै दुई सय बिघाभन्दा बढी जमिन छुट्याएको थियो,’ उनले भने ।

क्याम्पस र विद्यालयका लागि पर्याप्त जमिनको व्यवस्था मिलाएको थियो । सर्वसाधारणका आवासका लागि छुट्टै ठाउँ तोकिएको थियो ।

रत्न राजमार्गको उत्तरी क्षेत्रलाई आवास, सरकारी कार्यालय र शैक्षिक संस्थाका लागि तोकिएको थियो भने दक्षिणतर्फको मलिलो र पानीको सुविधा भएको क्षेत्रलाई कृषि प्रयोजनका लागि छुट्याएको थियो ।

‘सरकारी कार्यालय भएको क्षेत्रमा पर्खाल लगाएर गुरुयोजनाअनुसार बनाउने हो भने सिंहदरबारभन्दा भव्य र व्यवस्थित हुनेछ,’ उनले भने ।

खेतीयोग्य जमिनमा प्लटिङ
प्रतिनिधि र प्रदेश सभा निर्वाचनको चर्चासँगै सुरु भएको बसाइँसराइ, खाली जमिनको अतिक्रमण र खेतीयोग्य जमिनमा प्लटिङको गति राजधानीकेन्द्रित भएपछि झन बढेको स्थानीय बासिन्दाको भनाइ छ ।

०२९ मा बनेको गुरुयोजनाविपरीत रत्न राजमार्गको दक्षिणी क्षेत्रमा जग्गा प्लटिङ हुन थालेको छ । ‘खेतीपाती हुने जमिनमा प्लटिङ गरेर बेच्न थालिएको छ, ठूल्ठूला घर बन्न थालेका छन्,’ नागरिक समाजका अगुवा मानबहादुर चौधरीले भने ।

वीरेन्द्रनगरका विभिन्न स्थानमा खाली ठाउँ छोडिएको थियो । केही स्थानमा बोटविरुवा रोपिएका थिए । त्यतिबेला वृक्षरोपण गरिएको क्षेत्रमा ठूल्ठूला रुख पनि छन् । तर, त्यो क्षेत्र अतिक्रमण हुन थालेको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय नजिकैको हरित क्षेत्रका लागि राखिएको जमिन अक्रिमणमा परेको बताउँदै प्रा.शर्माले भने, ‘ग्रिन क्षेत्र, खाली ठाउँ र खोला क्षेत्र पनि अतिक्रमण भइरहेको छ ।’

सरकारी कार्यालयका लागि छुट्याइएको जमिन पनि अतिक्रमण हुन थालेको छ । त्यस्तै, पर्यटकीय स्थलवरिपरिको जमिनमा पनि अक्रिमण बढेको चोधरीले बताए । ‘प्रदेश सरकारले सरकारी जमिन संरक्षण गर्नुपर्छ, अतिक्रमण रोक्नुपर्छ,’ उनले भने ।

प्रा.शर्माले पनि माथेमाले तयार पारेको वीरेन्द्रनगरको गुरुयोजनाअनुसार नै प्रदेश सरकारले व्यवस्थित गर्नुपर्ने बताए ।

‘सबैभन्दा महत्वपूर्ण त कृषिका लागि छुट्याएको क्षेत्रमा घर निर्माणमा रोक लगाउनुपर्छ, प्लटिङ गरेर बिक्री गर्ने काम बन्द गराउनुपर्छ,’ प्रा.शर्माले भने ।

जीर्ण र साँघुरा सडकले जोखिम
चार दशकअघि निर्माण गरिएको रत्न राजमार्ग अहिले पनि उस्तै छ । ठाउँ–ठाउँमा गाडी ओहोरदोहोर गर्न समस्या हुन्छ ।

यसको स्तरोन्नति हुन सकेको छैन । सुर्खेत उपत्यकाभित्रका सडकको मात्रै होइन, राजधानी वीरेन्द्रनगरका सडक पनि जीर्ण छन् ।

‘प्रजातन्त्र पुनस्र्थापनापछि कुनै सडक स्तरोन्नति भएका छैनन्, राम्ररी मर्मत–सम्भारसमेत भएको छैन’ स्थानीय बासिन्दा रामचन्द्र जिसीले भने ।

प्रजातन्त्र पुनस्र्थापनापछि मध्यपश्चिमाञ्चल विकास क्षेत्रका क्षेत्रीय कार्यालयहरू नेपालगञ्जकेन्द्रित भएपछि सुर्खेत ओझेलमा पर्दै गएको स्थानीय बासिन्दाको भनाइ छ । नयाँ निर्माण भएका सडक पनि साँघुरा र काम चलाउ मात्रै भएको जिसीले बताए ।

‘प्रदेशका मन्त्रालय भएकै क्षेत्रका सडक हेर्दा हुन्छ, हिड्नलायक नै छैनन्,’ उनले भने । हुन पनि, मन्त्रालय पुग्ने सडक नै खाल्डाखुल्डी र साँधुरा छन् ।

वीरेन्द्रनगरमा विस्तार भएका सडक साँघुरा र ती सडकमा मापदण्डविपरीत घर निर्माण भइरहेको प्रा. शर्माले बताए ।

‘सडक चौडा पार्न सकिएको छैन, अतिक्रमण हटाउन सकिएको छैन’ उनले भने, ‘प्रदेश सरकारले वीरेन्द्रनगरको सौन्दर्य जोगाउन छिटो लाग्नुपर्छ ।’

तपाईको प्रतिक्रिया