‘मेरो रातो’पुस्तक,समाज बदल्ने अस्त्र होःछात्रा पराजुली


जुम्ला । “मलाई के भएको हो आमा ? किन यसरी रगत आयो ?” म पात्रले आमालाई सोधिन । आफ्नो जिउमा एक्कासि आएको परिवर्तन देखेर उनी निकै आत्तिइन् अनि रुन पनि थालिन् । आमाले उनलाई उनी नछुने भयौ भन्नुभयो अनि हतार हतार फुपूलाई फोन गर्नुभयो ।
अधिकांश हिन्दु धर्म मान्ने समाजमा आज पनि पहिलो पटक महिनावारी हुँदा ७ दिनसम्म लुक्ने प्रचलन विद्यमान नै छ । तमाम् बालिकाहरूको जस्तै म पात्रको पनि पहिलो पटक महिनावारी हुँदाको तिता(मिठा अनुभव “मेरो रातो” पुस्तकले बोकेको छ ।

बाल साहित्यको क्षेत्रमा निकै नै परिचित नाम हो,यशु श्रेष्ठ । यशु श्रेष्ठद्वारा लिखित “मेरो रातो” को पट्टी खोल्दै गर्दा बालिकाहरू, अझ किशोरहरूका लागि एकदमै उपयुक्त, सन्देशजनक र ज्ञानवर्धक किताबको रूपमा भेटिन्छ ।
म पात्रसंगै मेरो पनि पहिलोपल्ट महिनावारी हुँदाको अनुभव यस पुस्तकसँग मिल्दोजुल्दो लाग्यो । पहिलो पटक महिनावारी हुँदा, परिवारको परम्परा नकार्न नचाहेर म पनि फुपूको घरमा नै बार्न पुगेकी थिएँ ।

जति जे लेखिए र भनिए तापनि महिनावारी हुँदाको समयमा बार्ने चलन समाजमा जगडिएर रहेको आज पनि पाइन्छ । यसलाई हामी मिलेर नै उन्मुलन गर्नु आजको आवश्यकता हो भन्ने बुझाइ नै हो । कथाको अध्ययन गर्दै जाँदा आङ नै सिरिङ्ङ हुने जसरी घटनाले मोड लिएको छ, त्यो एकदमै साहासपूर्ण एवम प्रसंशनीय छ । राम्रा कामका लागि कहिलेकाहीँ झुट बोलेरै भए पनि परिवर्तनको बिउ छर्न सकिन्छ, परिस्थितिअनुसार राम्राका लागि झुट बोल्नु पनि नराम्रो होइन भनेर हामीले मु पात्रले तिहारको टीकाको समयमा ढाँटेरै भाइलाई टीका लगाइदिएको घटना यहाँ पढ्न पाउँछौँ ।

गौतम बुद्धले पनि डाँकाले लखेट्दै गरेको महिलालाई बचाउन डाँकालाई झुट बोलेको घटना यहाँ याद आउँछ । यो चलाखीपूण झुटका लागि म पात्रलाई धन्यवाद दिन मन लाग्छ । पछि आमा महिनावारी भएको समयमा म पात्रले आफू तिहारको समयमा महिनावारी भएको कुरा आमालाई सुनाँउदा त्यहाँ पाप र धर्मका कुराको पनि निस्केको छ । जुन अवस्थामा म पात्रले आमालाई सम्झाउने अठोट लिइन र आमालाई केही कुराको नौलो अनुभव गराइन् (आमाले पहिलो पटक प्याडको प्रयोग गर्नुभयो), यो कुरा परिवर्तनको मुहानको रूपमा आस्वादन गर्न सकिन्छ । यो एक त परिवर्तनको सुरूवात घरबाटै अथवा आफैँबाट हुनुपर्छ भन्नुको गतिलो दृष्टान्त पनि हो ।

वास्तवमा नै अहिलेको समयमा पनि वर्ष दिनमा एक पटक आउने चाडपर्वमा पर सरेको निहुँमा, सबैजनाले उत्सव मनाइरहँदा आफू एउटा कुनामा शारीरिक पीडा भइरहेको सहँदै, झन कसैलाई छोइछाइ नगरी अलग्गै बस्नु कतिको उपयुक्त छ त ? यी सब बार्नुपर्ने के का लागि ? बाँकी सबै दिन लक्ष्मी भन्दै पुजिएकी नारी महिनाको ७ दिनचाहिँ किन अपवित्र भनेर अपहेलित हुन्छे त ? आखिर हरेक नारी महिनावारी भएर नै पूर्ण हुने हैन र ? अनि किन आज पनि हामी वकमफुसे कुरामा नै रुमलिरहेका छौँ त ?

यी सबै प्रश्नका तार्किक उत्तर बिल्कुलै छैन । हामी एउटा मौरीलाई पछ्याउंदै पछि लागेको हुल जसरी नै अरूले यसो गर्नुपर्छ भनिदिएको भरमा हिँडिरहेका छौँ, जुन उचित पटक्कै होइन । अब साँच्चै नै हामी बद्लिनु पर्ने समय आएको छ । समाजमा विद्यमान भएर बसेका कुप्रथालाई पनि हटाउँदै जानु पर्ने टड्कारो खाँचो देखिएको छ । यी कुराहरू उठाउन पुस्तक सफल भएको छ । एउटी किशोरी भएर यो पुस्तक पढ्दा कम्ता मजा लाग्दैन । जिउका रौँ पनि ठाडा भएर एउटा साहस आउँछ र भन्न मन लाग्छ,“म पात्रले जस्तै हामी पनि यस्ता साहस गरौँ ।”

समग्रमा लेखकले बालिकाहरू बढ्दै जाने क्रममा उनीहरूको शरीरमा आउने परिवर्तन, परिवर्तनमा घर र समाजले हेर्ने दृष्टिकोण तथा समाजमा विद्यमान रहेको अन्धविश्वासलाई कथामा उतारेका छन् । हरेक बालिकाहरुले आफ्नो शरीरमा हुन गइरहेको परिवर्तनको बारेमा जान्न पाउनुपर्छ । जसका निमित्त यस्ता किताबहरू लेखिरहनुपर्छ, प्रकाशित भइरहनुपर्छ र हामीले पढिरहनुपर्छ । किताब पढ्न मात्र होइन, यस्ता असल कुराहरू समाजमा लागु गराउनुपर्छ ।

मकवानपुरको नवोदय शिशु सदन विद्यालयको कक्षा १० मा अध्यायनरत छात्रा ःइलिसा पराजुलीले बाल साहित्य लेखक यशु श्रेष्ठको (मेरो रातो) प्ुस्तक माथि समिक्षा लेखेकी हुन् ।

 

तपाईको प्रतिक्रिया