कविताः‘तिमी बिना आमा’


बसन्ती कुँवर

दिनरात संसार त पहिलै जस्तै छ आमा
तर खुसीकोसुगन्ध हराएको छ आमा,
साह्रै कठिन भएको छ तिमीविना मेरो संसार
छातीभित्र मन छ तर आनन्द हराएको छ आमा ।।

थाहा छैन हुन्छ कहाँ पीडा घरी घरी आमा
ओखती यो व्यथाको छैन संसारभरि आमा,
झर्छन आँसु तप्पतप्प रोकुँ म कसरी लौ
शून्य लाग्छ हरक्षण आफ्नो वरिपरि आमा ।।

तिमीविना सुनसान सुनसान छ धर्ती मेरी आमा
खोजि रहन्छन यी नयनले सधैँभरि मेरी आमा,
दिनरातै तिम्रै तस्बिर छातीभरि टासौँ लाग्छ
फेरि तिम्रो न्यानो काखको याद बल्झी आउँछ आमा ।।

सास फेर्दा ढुकढुकी नि रोके जस्तो लाग्छ आमा
अतितका पानाहरू फेरि फर्की आउँछन आमा,
खुसीहरू सारा टाढा टाढा भागे जस्तो लाग्छ
मुस्कुराउन खोज्छु तर बादलले छाउँन आमा ।।

पाइलाहरू पातालमै भासिएझैँ लाग्छ आमा
मनमुटु आँट सारा थाकिएझैँ लाग्छ आमा,
हरेस नखाऊ तिम्रै वाक्य सम्झीसम्झी आज पनि
अघि बढ्ने रहर मनमा राखिएझैँ लाग्छ आमा ।।

कविता लेखक बसन्ती कुँवर काठमान्डौ स्थित नेपाल आदर्श मा. वि. कक्षा १० मा अध्ययनरत छात्रा हुन ।

तपाईको प्रतिक्रिया