पढ्दै नपढी प्रचण्ड ?


मंगलबार, १६ माघ २०७४

उज्ज्वल प्रसाई ः
‘धेरै पढ्यो भने मान्छेको दिमाग खराब हुन्छ …।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो दलीय सहयात्राबाट अलग भएका बाबुराम भट्टराई र आहुतिबारे टिप्पणी गर्दै यसो भने। यी दुई नेता धेरै पढेका कारण आफ्नो नेतृत्वको दलबाट बाहिरिएका हुन् भन्ने आशय व्यक्त गरे। शक्ति र सत्ताको सहज बाटो नरोजेर नयाँ बाटो खोज्ने दुष्कर यात्रामा निस्केका हुन् भनेर तिनलाई गिज्याए। उनले यसो भन्दैगर्दा सभाहलमा कहिले ताली बजे, कहिले खित्का छुटे। माओवादी केन्दसम्बद्ध लेखक, कलाकार र संस्कृतिकर्मीहरूको भेलामा अध्यक्षले सो भाषण गरेका थिए। डरलाग्दो आइरोनी यही हो कि उनले अध्ययनविरोधी भाषण गर्दा स्वयं चिन्तक र लेखकहरू खित्का छोडेर बसिरहे।

ज्ञप्रचण्डले हलुका ढंगले गरेको भाषणबाट मूलतः दुई गम्भीर अर्थ निकाल्न सकिन्छ। पहिलो, आफ्ना अघिल्तिर भेला भएका ती संस्कृतिकर्मीलाई उनले कुनै महत्व दिँदैनन्। तिनका कुरा गम्भीरता साथ सुन्नुपर्ने र तिनले उठाएका प्रश्नमाथि चिन्तन गर्नुपर्ने ठान्दैनन्। तिनले नेता मानेका आहुतिले पार्टीसत्तालाई चुनौती दिनु ‘हुटिट्याउँले सगर थाम्न’ खोज्नु हो भन्ने ठान्छन्। नजिकका आसेपासे र आफूले अह्रनखटन गर्न सकिने मान्छेहरूको झुण्डलाई हेपेर बोलेको जस्तो आभास हुने गरी उनी बोलेका थिए।

दोस्रो, जसले पार्टी्भित्र धेरै पढ्यो, उसैले दुःख पायो भनेर बुझाउन खोजे। जसले धेरै पढेर फुर्ती गर्‍यो उसले पार्टीसत्ताको हैकम मानेर आफूलाई सुरक्षित राख्न चाहेन। पढ्नु, चिन्तन गर्नु, आलोचनात्मक चेतनाले पार्टीसत्तालाई चुनौती दिनु नै दिमागलाई असल बन्न नदिनु हो। दलीय ओतमा सुरक्षित बस्ने हो वा नबिग्रने हो भने किताबहरूबाट बच्नु भन्ने सुप्रिमोको आदेश प्रष्ट बुझिन्छ।

कम्युनिस्ट भनिने दलको सर्वोच्च नेताले दलीय भ्रातृसंगठनलाई कसरी हेर्छन् भनेर बुझ्न प्रचण्ड–भाषणको पहिलो अर्थ सहयोगी हुन सक्छ। भ्रातृसंगठनहरू पार्टीअन्तर्गत बनाइएका संरचना भए पनि तिनले आफ्ना विषयगत गतिविधि सञ्चालन गर्न, आफ्नो नेतृत्व चुन्न र पार्टीको मुख्य नेतृत्वका काममाथि प्रश्न उठाउन यथेष्ट ठाउँ पाउँछ। अक्सर व्यवहारमा भ्रातृसंगठनलाई त्यस्तो स्वतन्त्रता दिइँदैन। बरु पार्टीनेतृत्वको रबर स्ट्याम्पका रूपमा तिनलाई उपयोग र परिचालन गरिन्छ। युवा र विद्यार्थी संगठन जस्ता बाहुबली संगठनहरूलाई समेत पार्टीनेतृत्वले आफ्ना साँघुरा स्वार्थ्सिद्ध गर्ने औजारका रूपमा मात्रै प्रयोग गर्छन् भने लेखक कलाकारहरूलाई त्यसभन्दा माथिल्लो औकातमा राख्लान् भनेर विश्वास गर्ने ठाउँ छैन। यसो हुनुका केही कारणहरू छन्।

सबभन्दा पहिले यी संगठनहरूले पार्टी्भित्रको स्वायत्त एकाइका रूपमा आफूलाई स्थापित गर्न सकेका छैनन्। नेतृत्वपंक्तिमा भएका खास नेताका गोजीका मान्छे हुनु र त्यसैका लागि संगठन निर्माणमा लाग्नु नै संगठनका कार्यकर्ताहरूको ध्येय हुन्छ। त्यसो नगर्नेहरूको संगठनमा ठूलो पकड बनेको हुँदैन। केही महिनाअघि माओवादी केन्द्रसम्बद्ध विद्यार्थी संगठनको निर्वाचन गरिएको थियो। त्यसबेला माओवादीमा रहेका एक नेताले हामीलाई भनेका थिए, ‘पार्टी्भित्रका दुई घगडान व्यापारिक घरानाबीच सानदार चुनाव भइरहेको छ।’ अखिल क्रान्तिकारीको लगाम आफ्नो हातमा लिने होडमा पार्टी्भित्रका दुई नेताको प्रतिस्पर्धा भइरहेको उनको आसय थियो।

आफ्नो सिर्जनामा दृढ उभिन सक्ने, कुनै नेताको कृपाको आवश्यकताबोध नगरेको वा त्यसका लागि अवाञ्छित सम्झौता नगरेको मान्छेलाई कसैले ललकार्न सक्दैन।

पार्टी्भित्रका ती दुई शक्तिकेन्द्रहरू स्पर्धामा खरो उत्रन विचारको भरमा होइन, पैसाको बलमा मैदानमा तैनाथ थिए। निर्वाचनका बेला विश्वविद्यालयको गेटमा पंक्तिबद्ध महँगा गाडी र दिनहुँ चलेका भोजभतेरहरू व्यापारिक चुनावका प्रमाण थिए। यस्तो प्रतिस्पर्धाबाट चुनिएको संगठनको मुख्य काम विद्यार्थी हकहितका प्रश्नमा चिन्तन गर्ने, समाजका विविध विषयमा जायज र न्यायपूर्ण बौद्धिक हस्तक्षेप गर्ने हुन सक्दैन। बरु सहायक शक्तिका रूपमा गुटगत नेताको सेवामा समर्पित हुनुमा संगठनको सान्दर्भिकता रहन्छ। त्यसैले यस्तो संगठनले पार्टी नेतृत्वमाथि प्रश्न उठाउने वा आलोचना गर्ने हैसियत राख्दैन। विचार र आलोचनात्मक चेतनाशून्य भीड नै त्यसको सग्लो पहिचान हुन्छ।

संस्कृतिकर्मीहरूको संगठन विद्यार्थी वा युवाको जस्तो बाहुबली संगठन नभएकाले पार्टी्भित्रका ‘व्यापारिक घराना’ हरू यस्ता संगठनमा सक्रिय हुँदैनन्। तर संगठनको नेतृत्वपंक्तिमा उभिँदा आफूलाई व्यक्तिगतरूपमा लाभ हुने भएकाले पदका आकांक्षीहरू भने धेरै हुन्छन्, पार्टी्भित्र प्रतिष्ठा स्थापित हुने लालसा हुँदो हो। साथै, विभिन्न मिल्दाजुल्दा संस्थानहरूमा पाइने नियुक्तिका लागि पनि संगठनको सक्रियता र संलग्नता कामलाग्दो हो। त्यसैले बुद्धिजीवी वा लेखक संगठनका नेतृत्वमा स्थापित हुन खोज्नेहरूको ठूलो होड चल्छ। पार्टीनेतृत्वका विश्वासपात्र बनेर यस्ता पद हत्याउन निर्लिप्त हुनेहरूको संख्या उल्लेख्य छ। पार्टी्भित्र आलोचनात्मक चिन्तन हाँकेर, वैचारिक वा सैद्धान्तिक प्रश्न उठाएर, सिर्जनात्मक कर्मले स्थापित भएर संगठनका सदस्य वा पदाधिकारी बन्नेहरू अल्पसंख्यक हुन्छन्।

धेरैजसो त्यस्ता मानिसलाई संगठनमा लामो समय टिक्न दिइँदैन। जो नेतृत्वको पिछलग्गु हुन्छ, बिनासन्देह, बिनाप्रश्न, बिनाचिन्तन नेतृत्वको बोलीमा लोली मिलाएर बस्छ वा कुनै खास नेताको चाकरी गर्छ, संगठनमा उसैको पकड बलियो बन्छ। त्यस्तै मानिसहरूले विभिन्न संस्थानमा नियुक्ति पाउँछन्, सुविधाहरूका उपभोग गर्ने मौका पनि तिनैले पाउँछन्। त्यसैले लेखन वा सिर्जनात्मक कर्मका माध्यमबाट आधारभूत जनतामाझ आफ्नो पकड बलियो बनाउनेमा उनीहरूको खासै ध्यान हुँदैन। धेरैलाई आफ्नो सिर्जनामा उति विश्वास पनि हुँदैन। पार्टीसत्ताको वरपर घुम्न, पद हत्याउन र लाभका ढोकाहरू पहिल्याउन सिर्जनात्मकता खासै जरुरी हुँदैन। शक्तिशाली नेतृत्वको नजरमा पर्नु आधारभूत उद्यम हुन्छ। यस्ता मानिसहरूको बाहुल्य भएको संगठनप्रति नेतृत्व जवाफदेही बनिरहनु पर्दैन। यिनले कुनै प्रश्न उठाउलान् भनेर सचेत भइरहनु आवश्यक हुँदैन। कुनै दिन कोही स्वाभिमानी सिर्जनात्मक मान्छेले प्रश्न उठाएछ भने उसलाई नेतृत्वले मजाकको पात्र बनाउन खोज्छ। प्रचण्डले गरेको हलुका टिप्पणी त्यसैको दसी हो।

भित्रभित्रै मक्किएको राजनीतिक संरचनाले समाजका जटिल मुद्दालाई उचित सम्बोधन गराउने सामथ्र्य राख्न सक्दैन

आफ्नो सिर्जनामा दृढ उभिन सक्ने, कुनै नेताको कृपाको आवश्यकताबोध नगरेको वा त्यसका लागि अवाञ्छित सम्झौता नगरेको मान्छेलाई कसैले ललकार्न सक्दैन। त्यस्ता मानिसको बाहुल्य भएको संगठनलाई सम्बोधन गर्दा कुनै पनि नेता त्यति हलुका ढंगले प्रस्तुत हुन सक्दैन। त्यसैले समस्या प्रचण्डमा जति छ, संगठनका पदाधिकारी र सदस्यहरूमा त्योभन्दा दोब्बर छ। ‘लाटा गाँडा’ जस्ता शब्दको प्रयोग गरेर हप्काउने हैसियतमा पुर्‍याएर आफू हेपिन तयार हुनेहरूले आफ्ना कमजोरीको सजाय निर्लज्ज भोगेका छन्। प्रचण्डको यो हलुकापनबाट क्षुब्ध बनेकाहरू संगठनबारे रोजा लक्जेम्बर्ग र लेनिनले गरेका विमर्श सम्झन खोज्दै होलान्। यद्यपि नपढ्ने आदेश नबिर्सन पनि उनीहरू उति नै बाध्य छन्।

किताब पढेर मात्र क्रान्ति हुँदैन। तर नपढेर, नलेखेर, चिन्तन नगरेर परिवर्तन, आन्दोलन, क्रान्ति केही पनि सम्भव छैन। ‘प्रचण्डका संकलित रचना’ नामका ठेलीहरू प्रकाशन गर्नुपर्ने कारण अरू हुन सक्दैन। के लेनिन र स्टालिनका संकलित रचना निकाल्ने परम्पराको झुर नक्कल मात्र त्यसको उपादेयता हो ? जसरी अन्य त्यस्ता बेकार नक्कलहरूले कम्युनिस्ट पार्टीहरू आक्रान्त बनेका छन् ? होइन भने, ती कसैले पढुन् भनेर नै लेख्ने, संकलन गर्ने र प्रकाशन गर्ने काम गरिएका होलान्। त्यत्रा ठेली लेख्नका लागि केवल मनका वह र दिमागी कल्पनामात्र प्रयोग गरिएका होइनन्। ती लेखिएका ठेलीहरू प्रचण्डले नै लेखेका हुन् भने त्यहाँ उल्लेख गरिएका प्रसंग, घटना र संसारमा भएका क्रान्तिबाट लिइएका प्रेरणा उनले पढेर थाहा पाएका हुन् भनेर मान्नुपर्छ। पठन र लेखनमा यति ठूलो लगन र चाख भएको नेता, जसले त्यति लामो सशस्त्र संघर्ष हाँकेर आयो, अहिले आएर उसले पढाइप्रति देखाएको यो उदासीनताले प्रशस्त शंका उब्जाउँछ।

प्रचण्डका आलोचकहरूले माओवादी केन्द्र विचार र संगठन दुवै मोर्चामा सर्वथा कमजोर भएको तर्क गर्छन्। वैचारिक स्खलनका पराकाष्ठा स्वयं नेतृत्व भएको र विचारशून्यताले ग्रस्त नेतृत्वले यो भन्दा गतिलो संगठन बनाउन सक्दैन भन्छन्। अध्ययनप्रति त्यति बिघ्न उदासीन मान्छेले न विचार खार्न सक्छ, न संगठन नै चुस्त राख्न सक्छ। सम्पूर्ण शक्ति खिचेर आफैंले राखेका प्रचण्ड अध्ययन अल्पता र सुदीर्घ चिन्तनको खडेरीकै कारण कमजोर भएका हुन सक्छन्। माथि भनिएका दुई मोर्चामा जति कमजोर हुँदै गए त्यति नै आसेपासेहरूको भीड बढाउनेमा उनले ध्यानकेन्द्रित गरेका हुन् भन्ने दलिल सही सुनिन्छ।

यसबारे माओवादी पार्टी्भित्र चर्चासम्म त पटकपटक चलेका हुन्। तर महाधिवेशन र अन्य ठूला बैठकहरूलाई यस्ता महत्वका विषय उठान गर्ने र ती विषयमाथि खुला विमर्श गर्ने मौकाका रूपमा प्रयोग गरिएन। बरु जम्मै स्रोत र शक्ति मौजुद पार्टीनेतृत्वको अक्षमता छोप्न र यथास्थिति कायम राख्न प्रयोग गरियो। कारण, त्यस्ता विषयमा विमर्श गराउन सक्ने हैसियत पार्टी्भित्रका कुनै पनि अंगमा थिएन। भित्रभित्रै मक्किएको यस्तो राजनीतिक संरचनाले समाजका जटिल मुद्दालाई उचित सम्बोधन गराउने सामथ्र्य राख्न सक्दैन। माओवादी पटकपटक फुट्नु र गम्भीर मोडहरूमा नराम्ररी चुक्नुको कारण यही हो। शान्तिपूर्ण प्रतिस्पर्धी राजनीतिमा आउँदा सँगै ल्याएका अनेक पेचिला प्रश्नलाई सडकमा असरल्ल छोडेर हिँड्नुपर्ने दुःख यसै बेहोरेको होइन। अन्ततः पार्टीपंक्तिमा कुनै ठूलो वैचारिक र सांगठनिक बहसको प्रारम्भ नगरी प्रचण्डले एमालेको छहारीमा ओतिने निर्णय लिए।

यही विन्दुमा आएर पार्टी्भित्र असन्तुष्टिका स्वर गुन्जिन थाले। धेरैले असन्तुष्टि दबाएर पार्टी्भित्र आफ्नो स्थान सबल बनाउनु नै हितकर हुने देखे। एउटा सानो पंक्तिले भने पार्टी छोडेर नयाँ अभियान थाल्ने उद्घोष गर्‍यो। यिनैलाई सम्बोधन गर्दै प्रचण्डले ‘दिमाग खराब भएकाहरू’ भनेका हुन्। बाँकी रहेकालाई यसरी नबिग्रन सचेत गराउँदै धेरै पढ्नुका बेफाइदा बताएका हुन्।

सम्भवतः प्रचण्डले धैर्यतापूर्वक कुनै पुस्तक आद्योपान्त नपढेको वर्षौं भयो। पछिल्ला केही वर्षमा उनले विमोचन गरेका किताबमा बोल्दासमेत पूरा पढ्न नभ्याएको बताएका थिए। अहिलेको अवस्थाबाट नबदलिनुमा उनलाई सुविस्ता हुन्छ। पढेर आफैं बदलिन सक्ने खतरा कतिको मोल्न सक्छन्, थाहा छैन। नत्र, उनका लागि एउटा किताब सुझाउन उपयुक्त हुन्थ्यो, रोजा लक्जेम्बर्गले निकटस्थहरूलाई लेखेका पत्रहरूको संकलन् ‘द लेटर्स अफ रोजा लक्जेम्बर्ग’। सन् २०११ मा पहिलोपटक अंग्रेजीमा अनुवाद भएर आएका पत्रहरूको यो संकलनमा रोजाले पढेका दर्जनौं किताबहरूबारे रमाइला र संक्षिप्त चर्चा गरेकी छन्।

नपढी कोही रोजा बन्न सक्दैन। धेरै नपढी पुष्पकमल कसरी प्रचण्ड बने ?

तपाईको प्रतिक्रिया