जुम्लाका १ उपाध्यक्ष र ११ वडाध्यक्ष सहित ४४ जनप्रतिनिधि एकीकृत समाजवादीमा


सागर परियार ।


नेकपा (एमाले)बाट निर्वाचित सिंजा गाउँपालिका उपाध्यक्ष र ११ जना वडाध्यक्ष सहित जुम्लाका ४४ जना प्रतिनिधिले एमाले परित्याग गरी एकीकृत (समाजबादीमा) पार्टीको पक्षमा सनाखत गरेका छन् ।

तोकिएको समय सिमा भित्र जिल्ला निर्वाचन कार्यालय जुम्लामा पुगी जुम्लाका ४४ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित जम्मा संख्या ९५ जना रहेकोमा ४४ जनाले एकीकृत समाजबादी पार्टीको पक्षमा सनाखत गरेको जिल्ल निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताए ।

निर्वाचन कार्यालयको तथ्यांक अनुसार २०७५ सालमा नेकपा एमालेबाट अध्यक्ष १ जना उपाध्यक्ष १ जना वडाध्यक्ष १७ जना,महिला सदस्य १८ जना, दलित सदस्य १३ जना र अन्य ४५ जना गरी ९५ जना निर्वाचित भएका थिए । जसमा एक जना उपाध्यक्ष र ११ जना वडाध्यक्ष सहित ४४ जनाले समाजबादी पक्षमा सनाखत गरेका छन् । भने, नेकपा एमाले नेता धिरेन्द्र गिरीका अनुसार ९५ जना जनप्रतिनिधि  मध्य २ जनाको मृत्यु भएको र २ जनाले पार्टी परित्याग गरेका छन् । हामी संग ९१ जनाको लिष्ट रहेको बताउदै उनले कतिले समाजवादीमा सनाखत गरे भन्ने जानकारी नभएको बताए ।

बाँकी ९१ जना मध्य ४४ जना जनप्रतिनिधिले समाजवादी रोजेपछि हाल नेकपा एमाले संग ४७ जना प्रतिनिधि रहेका छन् । समाजवादी पार्टीमा सनाखत गर्नेमा सिंजा गाउँपालिका उपाध्यक्ष जन्मकन्या खत्री रहनु भएको छ । भने, गुठिचौर १ का वडाध्यक्ष गणेश एैडी,गुठिचौर २ का वडाध्यक्ष पृथ्वी बहादुर बुढा, चन्दननाथ नगरपालिका ८ का वडाध्यक्ष नरजित दमाई,चन्दननाथ ६ का वडाध्यक्ष अज बहादुर रावल,चन्दननाथ ७ का वडाध्यक्ष नरविर रावलले समाजबादी पार्टीमा सनाखत गरेका हुन् ।

त्यस्तै,कनकासुन्दरी गाउँपालिकाका वडा नं. ७ का वडाध्यक्ष धनजीत रोकाया,सिंजा गाउँपालिकाका वडा नं. ४ का वडाध्यक्ष धनबहादुर बुढा, सिंजा ५ का वडाध्यक्ष मुन बहादुर रावत,हिमा गाउँपालिकाका वडा नंं २ का वडाध्इक्ष नैनसिंह बुढा, हिमा ३ का वडाध्यक्ष सर्पजीत भण्डारी, र पातारासी गाउँपालिकाका वडा नंं ७ का वडाध्यक्ष लाल बहादुर बुढाले गरी ११ जना वडाध्यक्षले एकीकृत समाजबादी पार्टीमा सनाखत गरेको एकीकृत समाजबादी पार्टीका नेता आदीप्रसाद न्यौपानले कारोबारलाई जानकारी दिए ।

सनाखतपछि बोल्दै गुठिचौर गाउँपालिका १ का वडाध्यक्ष गणेश एैडीले पार्टीको विधि विधान र पद्धती विपरित काम गर्ने केपीको पक्षमा लागेरका भविष्य नरहेकोले सामाजबादी रोजेको बताए । उनले भने,“दुई पटक संसद विघटन देखि पार्टीभित्र दम्भ र अंहकारले चरम सिमा नाघेपछि अन्नत पार्टी फुट्यो । पार्टी भित्र मनपरी गर्ने,राज चलाउन खोज्नेको पछि गएर भविष्य देखिन । त्यसैले एकीकृत समाजबादीमा सनाखत गरे ।”

तपाईको प्रतिक्रिया