जुम्लामा पनि सहुलियत मूल्य पसल सञ्चालन



जुम्ला ः जुम्लामा पनि १ असोजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाले सुथप तथा सहुलियत छुट मूल्य पसल सञ्चालनमा ल्याएको हो । हालै शाखाले चाल र चामल सहुलियत मूल्यमा विक्री भई रहेको जनाएको छ ।
अरुवा मोटा चामल प्रतिकेजी ४७ रुपियाँमा ५ रुपियाँ सहुलियत छुट लिएर ४२ रुपियाँमा विक्री गरेको शाखा प्रमुख तिलक सुनारले बताए । उनले भने यस्तै अरुवा सोना मन्सूली चामल, प्रतिकेजी ५१ रुपियाँ ३० पैसा, मासको दाल प्रतिकेजी १७० रुपियाँ, मसुरोको दाल प्रतिकेजी १४० रुपियाँ र अरहरको दाल प्रतिकेजी १८३ रुपियाँमा प्रीतकेजी ५÷५ रुपियाँ सहुलियत छुट मूल्यमा विक्री भइरहेको उनले बताए ।


१ असोज देखि २४ कार्तिकसम्म सहुलियत छुट मूल्यमा विक्री गर्नका लागि एक हजार कुन्टल कोटा हो । पहिलो दिन अर्थात असोज १ गते नै १९ कुन्टल सहुलियत छुट मूल्यमा चामल विक्री भएको शाखा प्रमुख सुनारले बताए ।
सहुलियत छुट मुल्यमा चामल विक्री वितरण गर्नका लागि शाखा तालिका सार्वजनिक गरेको छ । आइतबार चन्दननाथ नगरपालिका, सोमबार पातासारी गाउँपालिका, मंगलबार गुठीचौर गाउँपालिका, बुधबार तातोपानी गाउँपालिका, विहिबार हिमा र कनकासुन्दरी गाउँपालिका र शुक्रबार तिला र सिंजा गाउँपालिकालाई तालिकामा दिन तोकेको छ । विहान १० बजेदेखि ३ बजेसम्म, प्रति व्यक्ति दुई बोरा (६० केजी) र चामल लिन आउने सेवाग्राहीलाई अनिवार्य रुपमा कोभिड १९ को स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्नुपर्ने शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया