चिकित्सा पेसा, सेवा हो, व्यापार होइन


डा. ढुण्डिराज पौडेल

पेसागत हकहितका लागि चिकित्सकहरूको सेवा सुरक्षा मात्र होइन, त्यसका साथसाथै जनस्वास्थ्यका सवालहरू र चिकित्सकले पालना गर्नुपर्ने आचारसंहिताका विषय पनि महत्वपूर्ण छन्। यी विषयमा ध्यान दिन सके मात्र पेसा र जनताप्रतिको दायित्वप्रति पनि संवेदनशील हुनुपर्छ। यी पक्षका बारेमा यथार्थ उजागर हुन जरुरी छ।

अहिले समाज पनि कमजोर र विकृत बन्दै गएको छ। किन डाक्टर हुनुपर्छ ? भन्ने प्रश्नमा विशुद्ध भावले सेवा गर्ने पेसाका रूपमा लिन छोडिएको छ। व्यक्तिको सफलताको आयतन भनेको पैसा भएको छ। कति पैसा कमाउन सक्यो ? कस्तो गाडीमा चढेको छ ? कस्तो घरमा बस्छ ? छोराछोरीलाई कस्तो खालको स्कुलमा पढाइरहेको छ ? समाजले यी कुरामा ध्यान दिने गरेको छ। यो एक खालको सामाजिक विकृति हो। विदेशमा कतिपटक घुम्न जाने गरेकोे छ ? कुन–कुन कम्पनीबाट महँगा उपहार लिन सक्छ ? घरमा विभिन्न कम्पनीले दिएको कति उपहार राख्न सकेको छ ? यी कुरालाई आधार बनाएर सफलताको मापन गर्ने प्रचलन बस्न थालेको छ। राजनीतिक व्यवस्थामा आएको परिवर्तनसँगै बढेका सामाजिक विकृतिका रूपमा यसलाई लिन सकिन्छ।

चिकित्सा शिक्षा अध्ययन गर्दा अरूले ठिक्क पारेपछि गएर अप्रेसन गर्ने अथवा किताब पढेको भरमा जाँच गरी औषधि लेख्ने मात्र चिकित्सकको दायित्व होइन। चिकित्सकमा मानवीय संवेदना पनि उत्तिकै रहनुपर्दछ। मानवीय र सामाजिक पक्ष पनि हेर्नुपर्छ। राम्रो चिकित्सक हुनका लागि समाजका हरेक पक्षसँग परिचित पनि हुनुपर्छ। मनोवैज्ञानिक रूपमा पनि डिल गर्न सक्ने क्षमता हुनुपर्छ। डाक्टरले रोगको उपचार होइन कि बिरामीको उपचार गर्ने हो। आध्यात्मिक पक्षसँग पनि जानकार हुनुपर्‍यो। शारीरिक, मानसिक, आध्यात्मिक पक्ष रूपमा पनि हेर्नुपर्ने हुन्छ। बिरामीका विभिन्न पाटाहरू पनि संवदनशील भएर हेर्नुपर्छ। चिकित्सकले ज्ञान, सीप र विवेकको पनि प्रयोग गर्नुपर्छ। चिकित्सामा नयाँनयाँ कुरा आइरहेका हुन्छन्। त्यसमा अपडेट हुनुपर्छ। अपडेट हुन नसके आउटडेट भइने कुरा स्वीकार गर्नुपर्छ।

चिकित्सकलाई केही बाध्यता पनि छन्। जीवनलाई सहज व्यवस्थित बनाउन दस ठाउँमा दौड्ने प्रवृत्ति पनि छ। जति सकिन्छ कमाउने, सुविधायुक्त गाडी फेरीफेरी चढ्ने प्रवृत्ति देखियो। समाजले सम्मान नै गरेन भन्दै यस्तो कार्यप्रति अग्रसर हुनेहरू पनि छन्। स्वपरिचालितभन्दा पनि अरूबाट परिचालित हुने क्रम बढेको छ। घरेलु र स्कुलिङ अंग्रेजीमय वातावरणमा हुर्केबढेका चिकित्सकहरू विदेशमा काम लाग्ला। तर नेपालमा भने बिरामीसँग गर्ने व्यवहारमा फरक देखिन सक्छ। डाक्टर र बिरामीबीच सञ्चारमा ग्याप देखिएको छ। सञ्चारमा व्यारियर देखा परेको छ। भाषाको अनभिज्ञता, धैर्यको कमी, मानवीय संवेदनहीनतालगायतका कारणले बिरामी र चिकित्सकबीच आपसी सञ्चार प्रभावकारी हुन सकेको छैन। सामाजिक परिस्थिति र मनोवैज्ञानिक पक्षलाई मिहीन ढंगले विश्लेषण गर्न नसक्ने ज्ञानको अभाव छ। आचारसंहिताको पालना गर्दै स्वच्छ छवि कायम राख्नु महत्वपूर्ण पक्ष हो।

दुर्भाग्यपूर्ण पक्ष, निजी अस्पताल तथा नर्सिङ होमहरूमा चिकित्सकलाई दबाब दिने गरिएको छ। बढीभन्दा बढी बिरामी हेर्न र परीक्षण गर्नसमेत दबाब दिने गरेको सुन्न पाइन्छ। विदेशमा यस खालको मानसिकता अस्पतालका सञ्चालकहरूमा हुँदैन। तर नेपालमा अस्पताल सञ्चालकहरूले चिकित्सकलाई उद्वेलितसमेत बनाउने गरेका छन्। चिकित्सकलाई शोषण पनि गरिएको छ। यस्ता कुरा भन्नमा हिच्किचाहट मान्नु हुँदैन। रोग नलागोस्, लागिहाल्यो भने मकहाँ उपचार गर्न आऊन् भनेर सोच्नु स्वाभाविक हो। तर बढीभन्दा बढी रोग लागोस् भन्ने सोच्नुभएन। तस्कर, घुस्याहा व्यक्तिले कमाएजस्तो डाक्टरी पेसाबाट कमाउन सकिँदैन। डाक्टरका वैयक्तिक समस्या त छँदैछन्, त्यसका अलवा नैतिकताको पक्षबाट अरू असफल भइदिए वा खत्तम भयो भने आफ्नो बढी चल्छ भन्ने मानसिकता पनि कायमै देखिन्छ। प्रोपोगन्डा मच्चाउने गलत प्रवृत्ति पनि छ। अरूको अवनतिमा आफ्नो उन्नति देख्ने प्रवृत्ति सुधार गर्नुपर्ने खाँचो छ।

डाक्टरको मक्सद भनेको बिरामीलाई खुसी बनाउने हो। बिरामीको सन्तुष्टिमै सफलता निहित छ। अनावश्यक औषधि प्रेस्क्राइब गर्ने, कमिसनमा उत्प्रेरित हुने, बढी परीक्षण गराउने प्रवृत्तिबाट पन्छिनुपर्छ। औषधि कम्पनीले दिने प्रलोभनमा पर्दा अन्ततः बाध्यता पनि सिर्जना हुन सक्छ। नैतिकता, मूल्य, मान्यता ह्रास हुँदै गएको छ। सेवा बिक्री गर्छु र धेरैभन्दा धेरै कमाउँछु भन्ने मानसिकता व्यापारिक प्रवृत्ति हो। तर चिकित्सा पेसा सेवा हो, व्यापार होइन।

अहिले चिकित्सकहरूको संख्या बढिरहेको छ। संख्या धेरै भएपछि त्यही अनुपातमा खराब प्रवृत्ति भएका पनि देखिन सक्ने सम्भावना हुन्छ। विश्वव्यापी मान्यता के हो भने खराब कार्य छिटो उजागर हुन्छ। चिकित्सा शिक्षामा निजीकरण भएपछि चिकित्सकको संख्या बढ्न गयो। चिकित्सक बन्न योग्य र क्षमता नभएका व्यक्ति स्वदेशमा नाम निकाल्न नसकेपछि विदेश पठाउने देखिन्छ।

चिकित्सकको संख्या बढेसँगै उनीहरूबाट हुने त्रुटि र लापरबाहीका घटना पनि बढ्न गएका हुन्। चिकित्सकलाई आचारसंहिता पालना गर्न आग्रह गर्ने काम चिकित्सक संघले गर्दै आएको छ। आचारसंहिता पालना नगर्ने, लापरबाही गर्ने प्रवृत्ति भएका चिकित्सकलाई चिकित्सक संघले संरक्षण गर्दैन। अन्धभक्त भएर चिकित्सकलाई जोगाउनेतिर लाग्ने काम चिकित्सक संघबाट हुँदैन। चिकित्सा शिक्षा प्रणालीमा पनि कमजोरी छन्। रोग पत्ता लगाएर औषधि दिने र अप्रेसन गरी फाल भन्ने खालको मात्र जानकारी दिएर हुँदैन। बिरामीको समग्र पक्ष मनन गरी पाठ्यक्रम परिमार्जन गर्नुपर्ने आवश्यकता छ। व्यक्तिका साथै समाज र राष्ट्रका पद्धतिबारे पनि जानकारी गराउनुपर्छ।

विश्व स्वास्थ्य संगठनले एक दिनमा तीसजना बिरामी मात्र जाँच गर्नुपर्ने बताएको छ। तर नेपालमा त त्योभन्दा धेरै बिरामीको स्वास्थ्य जाँच गर्नुपर्ने बाध्यता छ। सरकारी अस्पतालमा त निकै भीड हुने गरेको छ। बिरामी र डाक्टरबीचको रेसियो मिल्न सकेको छैन। चिकित्सकलाई पर्याप्त सुविधा पनि दिनुपर्छ। आशा र त्रासबाट मान्छे निर्दे्शित भइरहेको हुन्छ। राम्रो सेवा दिने चिकित्सकलाई पुरस्कृत गर्ने र लापरबाही गर्नेलाई दण्ड दिने व्यवस्था कार्यान्वयन हुनुपर्छ। नियमनकारी निकाय पनि सक्रिय हुनुपर्छ। यसमा राज्य, नियमनकारी निकाय, पेसागत संगठन, चिकित्सक, बिरामी सञ्चारमाध्यमलगायत सरोकारवाला निकाय सबै उत्तिकै जिम्मेवार छन्।

—नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष पौडेलसँग दिनेश गौतमले गरेको कुराकानीमा आधारित।

तपाईको प्रतिक्रिया