फोहोर उठाएर मनाईयो जुम्लामा संविधान दिवस


जुम्ला ः जुम्लाको मुकाम खलंगा अर्थात चन्दननाथ नगरपालिका भित्रका बजार क्षेत्रमा फोहोर उठाएर सरसफाई गरी संविधान दिवस मनाएको छ । यहाँको चन्दननाथ नगरपालिकाले सरसफाई तथा फोहोर संकलन गर्नुपर्ने हो । तर लामो समयदेखि फोहोर नठाएर बजार दुर्गन्धित भएपछि संविधान दिवसकै दिन फोहोर उठाएर सरसफाई गरिएको हो ।
संविधान दिवसको अवसर पारेर जनप्रतिनिधि, सरकारी तथा गैर सरकारी निकायका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाज, उ्रद्योग बाणिज्य संघलगायतका प्रतिनिधिहरु भेला भएर सरसफाई गरिएको हो ।
नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतका अनुसार जनप्रतिनिधिले चुनावका बेलामा निकै राम्रा नारा ल्याएर आएका हुन् । उनले भने अहिले त्यही आफैले घोषणा गरेका नारा कार्यान्वयन नहुदा असफल भईसकेका छन् । अरु गाउँ घरका कुरा नगरौँ यही बजार क्षेत्र पनि सधै सेना प्रहरीले सरसफाई गर्नु परेका छ । यो दुखद पक्ष हो । फोहोर व्यवस्थापनको दीर्घकालिन योजना नहुदा यस्तो समस्या झेल्नु परेको हो ।
यो नगरपालिकाको कर्तव्य र दायित्व हो । फोहोर उत्पादन कर्ताबाट राजश्व कर संकलन पनि गर्ने र नगरपालिकाले नियमित रुपमा फोहोर उठाएर व्यवस्थापन गर्नु पर्दछ उनले भने ।
चन्दननाथ नगरपालिका वातावरण तथा सरसफाई शाखा प्रमुख नायव सुव्बा लक्ष्मीचन्द्र न्यौपानेका अनुसार डम्पीङ साइडको व्यवस्थापन नभएकोले नियमित रुपमा बजारको फोहोर नउठेको हो । उनले भने फोहोर व्यवस्थापनको दीर्घकालिन व्यवस्थापन योजना बनाएका छौँ । अब नियमित रुपमा फोहोर संकलन गरिने छ ।
नियमित नभएपनि बेला बेला नगरपालिका फोहोर उठाउने गरेको छ । तर फोहोर उठाए बापत कर लिएको छैन । अब कर पनि लिने तयारी गरेको उनले बताए ।
संविधान दिवसको अवसरमा धार्मिक तथा पर्यटन क्षेत्र सरसफाई गर्नु भन्ने परिपत्र आएको सरसफाई गरी दिवस मनाएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले बताईन् ।
उनले भनिन् नगर सरसफाई तथा फोहोर संकलन गर्ने नगरपालिकाकै दायित्व र जिम्मेवारी हो । यसमा नागरिक पनि उत्तिकै जिम्मेवार हुनु पर्दछ । आफ्नो घर आगनबाट उत्पादन भएको फोहोर आफै व्यवस्थापन गर्ने । फोहोरबाट मल बनाएर कृषिमा प्रयोग गर्ने गर्नुपर्दछ ।
जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले डम्पीङ साइडमा बाटो (सडक) पु¥याउनकै लागि भनेर धेरै बजेट खर्च भएको देखिन्छ । तर फोहोर व्यवस्थापन हुने नगरेको बताए । उनले भने बजेट पनि नरहने फोहोर पनि व्यवस्थापन नहुने भन्ने हुन्छ । सवै आ आफ्नो जिम्मेवारबाट पञ्छिने प्रबृत्तिले बजारमा हिड्दा नाक थुनेर हिड्नु पर्ने स्थिति आएको हो ।

प्रतिक्रिया दिनुहोस